गुगल म्यापमा घरको कोड हाले चिट्ठी सजिलै हातपर्ने

|

काठमाडौं : कुनै समय मानिसको सुख-दुःखका खबर चराले आदानप्रदान गर्थे। प्राचीन समयमा मानिसका शुभ-अशुभ खबर पुर्‍याउन विभिन्न माध्यम थिए। समय क्रमसँगै नयाँ प्रविधिको विकास भयो, पत्राचारको पुरानो तौरतरिका पनि विस्थापित हुँदैगयो।

मानव सभ्यता र प्रविधिको विकास भएसँगै देश विदेशबाट कागजपत्रको माध्यमबाट सहजै खबर आदानप्रदान हुन थाल्यो, त्यसको एक माध्यम बन्यो हुलाक सेवा।

हिजोआज प्रविधिको विकास भएसँगै सामाजिक सञ्जालबाट मानिसहरूले खबर पाउन थालेका छन्। फेसबुक,भाइबर, ह्वाट्सएप र इमो जस्ता विभिन्न माध्यमबाट क्षणभरमा खबर पाइन्छ।

दुई दशक अघिसम्म गाउँघरमा खबर आदानप्रदानको लागि हुलाक नै बढी प्रयोग गर्ने गरिन्थ्यो। आफन्तको चिट्ठी वा खबर प्राप्त गर्न महिना दिनभन्दा बढी लाग्ने गर्थ्यो। अहिले भने प्रविधिको विकास भएसँगै हुलाकको माध्यमबाट खबर आदानप्रदान धेरै कम हुने गरेको छ।

बिस्तारै हुलाक सेवा प्रविधिमैत्री बन्दै गएको छ। इन्टरनेट बढीभन्दा बढी प्रयोग गरी सेवाग्राहीको घर-आँगनसम्म पुग्ने हुलाकका अधिकारीहरूले लक्ष्य राखेका छन्‌। प्रविधिको विकास हुलाकले मानिसका खबरभन्दा पनि सरकारी कार्यालय, निजी बैंक, बीमा कम्पनीका कागजपत्र तथा चिट्ठीपत्र र सामान ओसारपसार गर्न थालेको छ।

२०७२ वैशाख १२ गते आएको भूकम्पले सुनधारास्थित गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा सर्‍यो। कुनै समय कार्यालयका कर्मचारीलाई चिट्ठी पुर्‍याउन भ्याइ-नभ्याइ हुने गर्थ्यो। प्रविधिको विकास भएसँगै कर्मचारीलाई पहिलेजस्तो चिट्ठी पुर्‍याउन दौडधुप नहुने गरेको छ। अब भने हुलाक सेवा प्रविधिमैत्री हुने भएको छ।

गोश्वारा हुलाकमा दुई महिनाअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको मुद्रण विभागबाट सरुवा भइ आएका प्रद्युम्न उपाध्यायले हुलाक सेवालाई प्रविधिमैत्री बनाउने योजना तीव्रतासाथ अघि बढाइरहेका छन्।

अव्यवस्थित शहरीकरणले ठूला-ठूला बस्तीका घर र कार्यालयमा सहजै चिट्ठीपत्र पुर्‍याउन नसकिने भएकोले गुगलको माध्यमबाट प्रापकको घर वा कार्यालयसम्म पुर्‍याउने व्यवस्था गर्न लागेको गोश्वारा हुलाक कार्यालयका प्रमुख उपाध्याय बताउँछन्। नेपालमा हुलाकको छुट्टै इतिहास रहेकोले यसको अस्तित्व बचाउन भएपनि हुलाक सेवालाई प्रविधिमैत्री बनाउन लागेको उनले जानकारी दिए।

उनले भने, 'चिठ्ठी प्रापकले गुगलमा आफ्नो घरको कोड नम्बर हालेको हुनुपर्छ। चिट्ठीमा लेखिएको ठेगानामा प्रापकले उक्त कोड गुगल प्लस राखेमा सहजै हुलाकका कर्मचारीले घर वा कार्यालयमा पुर्‍याउँछन्।'

उपाध्यायका अनुसार अब हुलाक सेवा प्रविधिमैत्री बन्दैछ। शहरीकरण बढदै गएकाले हुलाकका कर्मचारीलाई घर खोजेर चिट्ठी दिन समस्या भएकोले यस्तो प्रविधि सुरुवात गर्न लागिएको हो।

पहिलो चरणमा काठमाडौं उपत्यकाबाट गुगल प्लस कोडबाट चिट्ठी प्राप्त गर्ने कार्यको सुरुवात गर्न लागिएको उनले जानकारी दिए। उनले भने, 'चिट्ठीमा टोल नम्बर र फोन नम्बर नराखे पनि गुगल माध्यमबाट सहजै चिट्ठी प्रापकको ठेगाना पत्ता लगाउन सकिन्छ।'

 

कर्मचारीलाई तालिम दिइँदै

हुलाकमा अधिकांश कर्मचारी प्रविधिमा अद्यावधिक नरहेको उनले जानकारी दिए। गुगल प्लसबाट सेवा दिनेगरी चिट्ठी पुर्‍याउन तालिम प्रदान गरिने उपाध्यायको भनाई छ। उनले भने, 'गुगल म्यापको आधारमा ठेगाना पत्ता लगाउनुपर्ने हुन्छ। सुरुवातमा केही कष्ट भए पनि कालान्तरमा सहज उनको दाबी छ।

विभिन्न प्रविधिको विकास भएसँगै हुलाकबाट चिट्ठीपत्र आदानप्रदान गरिने माध्यम हराउँदै गएको छ। चिट्ठीपत्रको आयतन घटेपनि संख्या भने नघटेको उपाध्यायको दाबी छ। सरकारी कार्यालयका चिट्ठी, बैंकका ऋण पत्र र बीमाका कागजपत्र आउने गरेको उनले जानकारी दिए।

पछिल्लो समय हुलाकले कुरिअरको काम गर्ने तयारी गरिरहेको छ। केही वर्षदेखि बाह्य मुलुकमा सामान पठाउने काम पनि गरिरहेको छ। विदेशमा रहेका नेपालीले परिवारका लागि लुगादेखि अन्य सामग्री हुलाकको कुरिअरबाट पठाउने गरेको उनले जानकारी दिए।

अन्तर्राष्ट्रिय उडान नहुँदा १५ हजार मास्टरकार्ड हुलाकमै अड्किए

विदेशबाट आएका चिट्ठीपत्र २४ घण्टाभित्र सम्बन्धित ठाउँमा पुर्‍याउन हुलाकले ७ वटा मोटरसाइकल प्रयोग गर्ने गरेको छ। २ किलोभन्दा कम तौल भएका चिट्ठी साइकलमार्फत पुर्‍याउने गरेको हो।

नेपालका विभिन्न भागबाट विदेशस्थित बैंकमा अप्लाई गरेको मास्टर्स कार्ड भने यतिखेर हुलाक कार्यालयमै अड्केको छ। नेपालमा यस्तो कार्ड निर्माण नहुने गरेकाले विदेशबाट आयात गर्ने गरिएको छ।

गत वर्षदेखि अन्तर्राष्ट्रिय उडान रोकिएकाले फिर्ता हुने मास्टर्स कार्ड पठाउन नसकेको उनले बताए। 'अप्लाई गरिएका मानिसले गलत ठेगाना दिएकाले पनि यहीँ अड्केको छ,' उनले भने, 'हुलाकले अहिले पार्सल तथा कुरिअरको काम गरिरहेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.