|

सिन्धुपाल्चोक : भोटेकोसी गाउँपालिका वडा नं. १ मा पर्ने सिन्धुपाल्चोककै विकट बस्ती लिस्तीस्थित उग्रचण्डी माध्यमिक विद्यालयमा अकस्मात् विद्यार्थी बेहोस भएर ढल्न थालेपछि पठनपाठनमा समस्या भएको छ।

करिब एक महिनादेखि विद्यालयमा यस्तो समस्या देखापरेको हो। विशेषगरी छात्राहरु विद्यालय पुग्नसाथ बेहोस भएर ढल्ने गरेका छन्। जसका कारण पठनपाठन नै बन्द हुने अवस्थामा पुगेको प्रध्यानध्यापक कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिए।

विद्यार्थी के कारणले बेहोस भएका हुन् भन्ने खुल्न सकेको छैन। विद्यार्थीहरु दिनानुदिन बेहोस हुने र ढल्ने समस्या बढ्दै गएपछि अभिभावकहरु चिन्तित छन्। शुक्रबार र आइतबार १५ भन्दा बढी छात्रा बेहोस भएको प्रध्यानध्यापक तिमल्सिनाले जानकारी दिए।

करिब १३ देखि १७ वर्षबीचका छात्रा कोही विद्यालय प्राङ्गणमा त कोही कक्षा कोठाभित्रै बेहोस हुने गरेका छन्। उनीहरु विद्यालयमा प्रवेश गर्नासाथ एक्कासी कराउने, रुने अनि ढल्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

यस्तो समस्याबारे स्रोतकेन्द्र, जिल्ला शिक्षा कार्यालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ–संस्थालाई जानकारी गराए पनि कसैले चासो नदिएको शिक्षक तथा अभिभावकहरुको गुनासो छ।

समस्या सिर्जना भएको एक महिनापछि विद्यार्थीलाई परामर्श दिने भन्दै टिपिओ नेपाल नामक संस्थाले बुधबार विद्यालयमा पुगेको थियो। यद्यपी सो संस्थाका प्रतिनिधि समस्यालाई यथास्थितिमा छाडेर आइतबार फेरि आउँछौँ भन्दै फर्किएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.