'यद्यपि सर्वोच्चको निर्णय हाम्रो पार्टीभित्र लागु हुँदैन'

|

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन्।

प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाइएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने बताएका हुन्। 

बुधबार बिहान न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता गौतमले पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहल पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लिनुपर्ने पनि बताए। नेता गाैतमसँग गरिएको कुराकानीको सम्पादित अंश

प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ?

सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको यो निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ। यो निर्णयले नेपाली जनताको सार्वभौम अधिकारलाई पुनर्स्थापित गरेको छ। र यसले स्वेच्छाचारी तरिकाले मनपरी जे मन लाग्यो त्यही गर्दै हिँड्न पाइँदैन भनेर अनुशासन बोध पनि गराएको छ। त्यसैले यो निर्णय नेपालको संविधानबमोजिम, नेपालको संविधानको मर्म र भावनाबमोजिम र हामीले निर्माण गरेको संविधानको अक्षरसँग पनि सम्बन्धित बनाएर निर्णय भएको छ।

प्रतिनिधि सभा भंग गर्ने काम असंवैधानिक हो र यससित सम्बन्धित भएर सरकारले जति पनि काम गरेको छ त्यो सबै असंवैधानिक हुन भनेको हुनाले प्रतिनिधि सभा मात्रै पुनर्स्थापित होइन, अरु धेरै काम पनि असंवैधानिक भएको हुनाले खारेज हुन्छन्। ज्यादै ठूलो ऐतिहासिक महत्व राख्ने निर्णय भएको छ। मैले यसलाई ऐतिहासिक निर्णय भनेर भनेको छु। 

पार्टी एकता गर्नुपर्छ, अब सबै साथीहरू एकजुट हुनुहुन्छ। म उहाँहरूलाई एकता गर्नुपर्छ भनेर आह्वान गर्छु, अब सबैलाई मैले बनाएको पार्टीमा आउनुहोस् भनेर भन्छु। तर त्यो जिम्मेवारी कसैले पनि लिनुभएन। लिनुपर्ने जिम्मेवारी यसपटक प्रचण्ड–माधवले हो। पार्टी त फुटिसक्यो, त्यो फुटेको पार्टी गइसक्यो।

मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयले राष्ट्रिय राजनीति, पार्टीभित्रको राजनीति सबै खलबलिएको थियो। अब कोर्स कताबाट सुरु गर्नुपर्छ? कसले पहलकदमी लिनुपर्छ? कसको के भूमिका हुनुपर्छ? तपाईंले उठाउँदै आउनुभएको पार्टी एकताको कुरा अब कुन सिराबाट सुरु हुन्छ?

पार्टी एकताको निम्ति सुरु गर्नुपर्ने दुई वटा अध्यक्षले हो। दुवै अध्यक्षले पार्टी एकीकरण गर्ने विषय उठाउनुभएन। पार्टी त विभाजन भइसक्यो, अब मिल्न सक्दैन भन्ने प्रचण्डको भनाइ आयो र पार्टी फुटाएको हामीले होइन फुटाएको केपी ओलीले हो भनेर भन्नुभएको छ।

पार्टी फुटाउने काम प्रचण्ड–माधवहरूले हो भनेर यतातिर भनेको छ अनि साइडबाई साइड पार्टी फुटाउने बामदेव हो भनेर दुवैले आआफ्नो तरिकाले भन्नुभएको छ। जसले जे काम गर्नुभएको छ, त्यसको जिम्मा नलिने चलन छ।

राम्रो भए मात्रै आफूले जिम्मा लिने नराम्रो भयो भने त्यसको अरुलाई लगाउने, आफैं गरेका काममा पक्षपोषण गर्न सकिएन भने उहाँहरूको कामलाई सहयोग गर्नेहरूलाई अगाडि सार्ने र उनीहरूले नै यो सबै भएको भनेर भन्ने चलन छ।

हुँदाखाँदाको पार्टी फुटाएर उहाँहरू हिँड्नुभएको छ। यो पुनर्स्थापनाले यो बीचमा भएका क्रियाकलापलाई पनि पुनर्स्थापित गर्नुपर्छ। यद्यपि सर्वोच्च अदालतले गरेको निर्णय हाम्रो पार्टीभित्र लागु हुँदैन। पार्टीभित्र पार्टीको विधान लागू हुन्छ। त्यसैले पार्टीका नेताहरूले त्यो गर्नुभएन भने हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरूले एकता गर्न पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ। 

हिजो जसले निर्णय गरेको भए पनि त्यो अवैधानिक भइसक्यो। यो अवस्थामा प्रधानमन्त्री र प्रधानमन्त्रीलाई असंवैधानिक छ भनी हिजो पनि हट् र आज पनि हट् भनेर भन्ने अर्को पक्षबीच अब कसको पहिलो स्टेप हुनुपर्छ?  

जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट सुरु हुनुपर्ने हो। हिजो प्रचण्डले विभिन्न मिडियामा बोल्नुभएको प्रतिक्रिया मैले सुनें। उहाँले चाल्नुभएको कदम सही साबित भएको छ। केपी ओलीले चाल्नुभएको कदम गलत साबित भएको छ।

यस्तो अवस्थामा फेरि पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो। उहाँले भन्नुपर्ने हो। पराजित भएकोले भनेर त अरुले मान्दैनन्। त्यसैले जसले आफूलाई म विजयी भए भनेर भन्छ उसले भन्ने हो। तर प्रचण्डले त्यस्तो भन्नुभएको मैले पाइनँ।

पार्टी एकता हुन्छ पार्टी एकता गर्नुपर्छ अब सबै साथीहरू एकजुट हुनुहुन्छ। म उहाँहरूलाई आह्वान गर्छु एकता होस् भनेर भन्नुभन्दा अब सबै मैले बनाएको पार्टीमा आउनुहोस् भनेर भन्छु। तर त्यो जिम्मेवारी कसैले पनि लिनुभएन। लिनुपर्ने जिम्मेवारी यसपटक प्रचण्डले हो‍, माधव नेपालले हो। पार्टी फुटिसक्यो, त्यो फुटेको पार्टी गइसक्यो। अब हामीसँग भएको पार्टीमा आउनुपर्छ भन्ने उहाँहरूको अभिव्यक्ति पाइयो। त्यो अभिव्यक्ति उहाँहरूको निम्ति त सही होला तर मलाई राम्रो लागेन। 

अब तपाई के गर्नुहुन्छ?

मैले औपचारिक र अनौपचारिक रुपमा एकताको निम्ति प्रयत्न गर्ने हो। पहिला म दुई वटा अध्यक्षलाई नै गएर भन्छु, महासचिवलाई भन्छु, पार्टी एकताका निम्ति पहल गर्नुहोस् भनेर।

केपी ओलीले असंवैधानिक काम गर्नुभयो। तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो। उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मआलोचना गर्नुपर्छ।

नैतिकताको प्रश्न नीति मान्नेहरूलाई उठ्दो रहेछ। जसले नैतिकता मान्दै मान्दैन उसको निम्ति नैतिकताको प्रश्न पनि उठ्दो रहेनछ। तर म के ठान्छु भने लामो समय कम्युनिष्ट आन्दोलनमा लागेकाहरूले यो नैतिकता बुझ्नुहुन्छ।

मैले यस्तो गरें, त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ, अब म आत्मआलोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरु पनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउन लागौं भनेर उहाँ(ओली)ले भन्नुपर्ने हो। उहाँले त्यो भनेको अहिलेसम्म मैले सुनेको छैन। त्यसो भएर हामीहरूले नै सबै काम गर्नुपर्ने भयो। अरु एकताको पक्षमा रहेका साथीहरू जति हुनुहुन्छ अब हामी एकताबद्ध हुन्छौं र नेतृत्वलाई हामीले एकतामा आउन, एकताबद्ध हुन एउटा ठूलो दबाब सिर्जना गर्ने हो, त्यो गर्छौं। 

सर्वोच्चले हिजोको निर्णयबाट सरकार प्रमुख र राष्ट्रपतिमाथि नैतिकताको प्रश्न उठ्छ​ कि उठ्दैन? 

नैतिकताको प्रश्न नीति मान्नेहरूलाई उठ्दो रहेछ। जसले नैतिकता मान्दै मान्दैन उसको निम्ति नैतिकताको प्रश्न पनि उठ्दो रहेनछ। तर म के ठान्छु भने लामो समय कम्युनिष्ट आन्दोलनमा लागेकाहरूले यो नैतिकता बुझ्नुहुन्छ।

त्यो भएर प्रधानमन्त्री ओलीले चाल्नुभएको कदम असंवैधानिक भइसकेपछि उहाँले गर्नुभएको काम गलत भइसकेपछि आफूलाई सच्याउन राजीनामा तुरुन्तै गर्नुपर्छ। हिजै राजीनामा गर्नुपर्थ्यो। सर्वोच्च अदालतको निर्णय बाहिर आउनेबित्तिकै राजीनामा गर्नुपर्थ्यो। अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन। म फेरि पनि यही सूचना केन्द्रबाट भन्न चाहन्छु, उहाँले तुरुन्तै राजीनामा गर्नुहोस्।

राजीनामा गरेर पार्टी एकताको आह्वान गर्नुहोस्। मैले गल्ती गरेको थिएँ म आफूलाई सच्याउन चाहन्छु त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.