डीआईजी उत्तम सुवेदीसहित ५ जना पुरस्कृत

|

काठमाडौं : बलात्कार पछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई प्रहरीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एक तह बढुवा गरेका छन्। सोही घटनाको अनुसन्धानमा सफल नेतृत्व प्रदान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी सहित पाँच जनालाई नगद पुरस्कार प्रदान गरिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापालाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरिएको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापाको प्रहरी हवल्दार पदमा पदोन्नति गरिएको छ। उनीहरुलाई कार्य कुशलताको कदरस्वरुप प्रहरी नियमावली २०७१, (संशोधन सहित) परिच्छेद (४) को नियम ३९ को देहाय (क) बमोजिम एकतह  पदोन्नति गरिएको प्रधान कार्यालयले जनाएको छ।

तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाएको भन्दै महानिरीक्षक क्षेत्रीले दुई जनालाई एक तह पदोन्नति र अन्य पाँच अधिकृतलाई नगद पुरस्कारले पुरस्कृत गरेका हुन्।

बढुवा गरिएका थापाले भागरथी प्रकरणसँगै कैलालीमा भएको दुई प्रहरीको हत्या, कञ्चनपुरमा भएको खण्टी भुलको हत्या लगायतका घटनाको प्रतिवादी समात्न महत्वपूर्ण भूमिका खेलेको प्रधान कार्यालयले जनाएको छ। जवान नरबहादुरले भागरथी, दुई प्रहरीको हत्यासहित बझाङमा भएको सम्झना विकको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका थिए।

यस्तै भागरथी प्रकरणको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सुवेदी आफैं घटनास्थलमा खटिएका थिए। तत्कालै घटनास्थलमा पुगेर अनुसन्धान सफल बनाउन भूमिका खेलेको भन्दै उनलाई नगद पुरस्कार दिइएको छ।

पुरस्कृत हुने अन्यमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दी भएका डीएसपी पञ्चकुमारबाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्षमा दरबन्दी रहेका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर छन्।

पाँचै जनाले भागरथी प्रकरणको अनुसन्धानमा देखाएको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी नगद पुरस्कार दिइएको छ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत भागरथीको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको अवस्थामा गाउँकै जंगलमा शव फेला परेको थियो। घटनामा संलग्न गाउँकै भाइ नाता पर्ने दीनेश भट्टलाई पक्राउ गरी प्रहरीले अनुन्धान थालेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.