|

बर्दिया : नदी किनारका छेउछाउमा बसोबास गर्ने, अनि त्यहि नदी किनारमै सुन खोज्ने, माछा मार्दै जीविकोपार्जनपार्जन गर्ने सोनाहा जाति। सोनाहा जातिको पुर्ख्यौली पेशा नदी किनारमा बालुवा चालेर सुन खोज्ने र माछा मार्ने नै हो।

तर अहिले गुजारा गर्ने तरिका फेरिँदैछ। मेहनत गरिरहेका सोनाहाहरूको जीवन गुजारा टार्नेभन्दा माथिल्लो तहमा उठेको छ, जीवन जिउने सोच र कर्म गर्ने तरिका पनि बदलिँदैछ। सोनाहाहरूले पुर्ख्यौली पेशा छोडेर बढी आम्दानी हुने आम पेशा अपनाउन थालेका छन्। 

परम्परागत पेशा नै अ‌गालेपनि सुन र माछा खोज्न अचेल त्यति सहज छैन। स्थानीय सरकार र प्रशासनले बेला-कूबेला नदीमा माछा मार्न र सुन खोज्न दिँदैन। 

बर्दियाको राजापुर नगरपालिका-१ / गेरुवा गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ६ मा सोनाहा जातिको बस्ती छ। देशभर सोनाहा जातिको जनसंख्या झण्डै १ हजार २ सय हाराहारीमा रहेको यो समुदायका अगुवाहरू बताउँछन्। 

राजापुर नगरपालिका-१, मुर्गाैवा गाउँका बलबहादुर सोनाहाले नदीमा माछा मार्ने र बगरमा बालुवा चालेर सुन खोज्न छाडिसकेका छन्‌। उनी अहिले व्यवसायिक ढंगले बंगुरपालन गरिरहेका छन्।  

बर्दियाको राजापुर मुर्गाैवा र कैलालीको घोडाघोडी दुबैतर्फ उनको बसोबास छ। बलबहादुरकी श्रीमती राधा सोनाहा देशभरमै सोनाहा समुदायबाट पहिलो जनप्रतिनिधि हुन्‌। उनी कैलालीको घोडाघोडी नगरपालिकाकी कार्यपालिका सदस्य चुनिएकी छिन्‌।

​राजापुर नगरपालिका-१, मुर्गौवाका ४९ वर्षीय बलबहादुर सोनाहाले बंगुरपालन गरेर उदाहरणीय काम गरेका छन्। राजापुर नगरपालिका-१, हिमालीपुर गाउँमा उनको ठूलो सोनाहा बंगुर फर्म छ। 

बलबहादुरले ७ वर्षअघि पोखराका एकजना साथीसँग १ लाख १७ हजार रुपैयाँ सापटी लिई सोही लगानीबाट ६ वटा बंगुरका बच्चा खरिद गरी ६ कोठे खोर निर्माण गरे।  त्यसरी शुरू गरेको बंगुरपालनबाट अहिले राम्रो आम्दानी भइरहेको उनी बताउँछन्‌। २ वर्षअघि उनले ७ लाख रुपैयाँ खर्च गरी खोरलाई २७ कोठे बनाएका थिए। अहिलेसम्म खोरमा मात्रै १६ लाख रुपैयाँ लगानी भइसकेको उनले जानकारी दिए। 

बलबहादुरको सोनाहा बंगुर फर्ममा बंगुरका पाठापाठी लिन आउनेको भीड लाग्नेगर्छ। उनले भने, 'पहिले कैलालीबाट लिन आउँथे, अहिले कैलाली र बर्दियाका विभिन्न ठाउँबाट बंगुरका पाठापाठी लिन फर्ममा आउँछन्।'

उनले पाठापाठी उत्पादनका लागि ३१ वटा विभिन्न जातका बंगुर पालन गरिरहेका छन्। बंगुरले १५ महिनामा ३ पटकसम्म पाठापाठी जन्माउँछ। एउटा बंगुरले १५ देखि २० वटासम्म बच्चा जन्माउँछ।

बंगुरको एउटा बच्चा ५ हजार रुपैयाँमा बिक्री हुन्छ। २ महिनाअघि मात्रै ८२ वटा पाठापाठी बिक्री गरेको उनले बताए। 

'बंगुर पालनमा भएको सम्पुर्ण खर्च कटाएर मासिक १ लाखदेखि १ लाख ५० हजारसम्म रुपैयाँ आम्दानी हुन्छ,' उनले भने, 'व्यवसायिक रूपमा थालेको बंगुर पालनबाट वार्षिक १५ लाख रुपैयाँ आम्दानी छ, छोरालाई ओभरसियर र दुई छोरीलाई उच्चशिक्षा पढाउँदैछु।'

व्यवसायिक रूपमा बंगुर पालन गरेमा कृषि कार्यालय अथवा स्थानीय तहको कृषी शाखाबाट अनुदान पाइने सुनेपनि अहिलेसम्म कतैबाट पनि आफूले अनुदान नपाएको उनको गुनासो छ।

बंगुरपालन व्यवसायनबाट घर खर्च चलाउन मात्रै होइन, मेहनत गर्दा सरकारी जागिरबाट आउने तलब भन्दापनि बढी आम्दानी गरेर आफ्ना आवश्यक पर्ने खर्च जुटाउन सकिन्छ भन्ने उदाहरण बलबहादुर सोनाहाले दिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.