अनुगमन नगर्दा अपराध बढ्दै

|
फाइल फोटो

काठमाडौं : गत जेठ ३१ गते सरकार विरोधी आन्दोलनमा विदेशी नागरिक पक्राउ परे। 'इनफ  इज इनफ' ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी गर्नुपर्ने, पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, क्वारेन्टिन सुरक्षित बनाउनुपर्ने, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीहरूलाई सुरक्षा दिइनुपर्ने लगायतका माग राखेर भएको विरोधमा विदेशी नागरिकहरु सहभागी भएका थिए।

सोही आन्दोलनमा सहभागी ३ जना सहित सन २०२० मा ३ सय ३२ विदेशी नागरिकलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको छ।

चीन २ सय २० नागरिक,बंगलादेश १८, अमेरिका ८, इरान ७, भियतनाम ७, पाकिस्तान ७,भुटान ७, रिपब्लिक कोट डि मोरे ५, जर्मनी २, गिनी ३, जोर्डन २, नाइजेरिया ३, रोमानिया २, रसिया २,सोमालिया २,स्वीट्जरल्याण्ड २,थाइल्याण्ड २,बेलायत २,यमन ५ र अन्य मुलुकका २२ जना निष्कासित भएका थिए।

पछिल्लो समय नेपालमा भिजिट भिसा लिएर प्रवेश गरेका विदेशी नागरिकको अपराध कर्ममा बढी सक्रिय रहेका पनि छन्। लागू औषध, मानव बेचविखन तथा संगठित अपराध,राहदानी दुरुपयोग,जाली राहदानी, शंकास्पद राहदानी,ओभर स्टे, भिसा विपरीत कार्य,बिना भिषा प्रवेश,आन्दोलनमा सहभागी,खोटा चलन,चोरी, जाली नागरिकता,विदेशी मुद्रा विनिमय,सुन निकासी पैठारी, जाली मुद्रा बैंकिङ कसुर जस्ता अपराधमा विदेशी नागरिक संलग्न हुने गरेको अध्यागमन विभागका निर्देशक टेकनारायण पौडेलले जानकारी दिए।

विभागका अनुसार ओभर स्टेमा ४८ जना चिनका,  भिसा विपरीत १६,  लागूऔषधमा  नाइजेरिया र सोमालिया ४ जना, जाली राहदानी भियतनाम ६, विना भिषा प्रवेश भुटानका ४, जाली नागरिकता बंगलादेश ३,बिना भिसा प्रवेश बंगलादेश ३ र राहदानी दुरुपयोग गिनी ३ जना थिए।

अध्यागमन ऐन २०४९ को दफा ९ अनुसार विदेशी नागरिकले कानुन विपरीत कार्य गरेमा निष्काशन गर्ने व्यवस्था रहेको छ। विभागले अपराध मानेका विभिन्न कसुरमा नेपाल सरकारको स्वीकृतिमा महानिर्देशकले निस्कासन गर्न पाउँने व्यवस्था छ।

अध्यागमनको कार्यविधि २०६५ को बुँदा नम्बर ६३ मा निष्काशन अवधि विदेशीलाई १ वर्ष देखि १० सम्म नेपाल आउन नपाउने गरी निस्कासन गर्न सकिने व्यवस्था छ।

कर्तव्य ज्यान र लागू औषधमा संलग्नलाई १० वर्ष सम्मको लागि निकासा, ज्यान मार्ने उद्योग वा बाल यौन दुराचार संलग्नलाई ७ वर्ष, धर्म परिवर्तन,जाली राहदानी र जाली भिषा प्रयोगकर्तालाई ५ वर्ष,संदिग्ध अपराध,विदेशी विनिमय,खोटा चलन र मानव बेचबिखनमा संलग्नलाई ३ वर्ष, बिना अनुमति निषेधित क्षेत्रमा निस्किएकालाई १ वर्ष र भिषा भन्दा बढी समय बस्नेलाई १ वर्ष सम्म नेपाल आउन नपाउने गरे स्वदेश पठाउने व्यवस्था छ।

विदेशी पैसाको लोभमा काम हुने भएकोले आपराधिक काममा संलग्न

नेपाल आउने विदेशी नागरिकहरु आपराधिक क्रियाकलापमा संलग्न हुनुमा विश्वलाई ग्लोबली भिलेज मान्दै गएका कारणले पनि आपराधिक गतिविधि बढन थालेको पूर्व प्रहरी अधिकारीहरु बताउँछन्। धेरै जस्तो पश्चिमा मुलुकले नेपाललाई भ्रष्टाचारमा चुर्लुम्म डुबेको मान्ने गरेकोले यहाँ आइ गैरकानुनी काम गर्न लालायित हुने गरेका छन्।

नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लका अनुसार आपराधिक मानसिकता भएका मानिसहरु संसारको जुनसुकै कुनामा गएपनि अपराध गर्नबाट टाढा हुँदैनन्। पर्यटकको रुपमा नेपाल प्रवेशमा विदेशी नागरिकलाई सहज रहेको छ।

पर्यटकका रुपमा आएका नागरिकलाई अध्यागमन विभागले नेपालका कानुन र पर्यटक भएपछि गर्नुपर्ने कामको बारेमा बुझाउन नसक्दा पर्यटकहरु अवाञ्छित क्रियाकलापमा सहभागी हुने गरेको मल्ल बताउँछन्। उनले भने,'  विदेशीहरूमा यहाँ पैसा खुवाएपछि जस्तो अपराध गरेपनि सहजै छुट पाउँने विश्वास छ। त्यसैले पछिल्लो समय आपराधिक गतिविधिमा सहभागी हुने गरेका छन्।'

मल्लले भिजिट भिसामा विदेशी आएपनि कुन-कुन बाटोबाट नेपाल प्रवेश गरे त्यसको तथ्यांक विभागले राख्न नसक्दा पनि यस्तो समस्या हुने गरेको बताए। 'अध्यागमनले पर्यटकहरु कस्तो उदेश्य लिएर भिजिट भिसामा आएका छन त्यसको विवरण राख्न सक्दा अपराधमा केही कमी हुन्थ्यो,' उनले भने,' जुन उद्देश्यका लागि आउँछन् सम्बन्धित मन्त्रालयमा सम्पर्क गर्न र समन्वय गर्नलाई विभागले समय-समयमा सम्पर्क गर्न सक्नुपर्थ्यो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.