|

झापा : पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने तरकारी तथा फलफूल लोड गरिएका गाडीहरूमा लत्ताकपडासहित अन्य सरसामान अवैध रुपमा नेपाल भित्रिने गरेको घटना बाहिरिएको छ।

भारतबाट त्यसरी भित्रिने गरेका गाडीहरूले मेची भन्सार कार्यालय काँकडभिट्टामा तरकारी तथा फलफूलको मात्र राजस्व तिर्ने र गाडीभित्र रहेका लत्ताकपडा र अन्य सामान बिना भन्सार पास हुने गरेको पाइएको छ।

काँकडभिट्टासँग जोडिएको भारतको पानीटंकी नाकामा भारतीय एसएसबीले विशेष सूचनाको आधारमा आलु र सब्जीका बोराहरू लोड गरिएका एउटा गाडी चेकजाँच गर्दा त्यसभित्र ठूलो परिमाणको लत्ताकपडा फेला पारेपछि यस्तो घटना बाहिरिएको हो।

सीमा नाकामा तैनाथ एसएसबीका ४१ बटालियन गौरसिंहबस्तीबाट खटिएका टोलीले भारतीय नम्बर प्लेटको मिनी ट्रकमा लोड गरिएका आलु र सब्जीका बोरा निकालेर हेर्दा त्यसभित्रबाट लत्ताकपडा बरामद गरेको हो। ट्रकको तल लत्ताकपडाका पोकाहरू राखेर माथिबाट आलु र सब्जीका बोरा राखिएको थियो।

एसएसबीले मेची नदीमा बनेको नयाँ पुलबाटै सामानसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका लत्ताकपडाको आवश्यक कागजात चालकले देखाउन नसकेपछि करिब भारतीय रुपैयाँ १० लाख मूल्याकंन तोकेर सामान, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि पानीटंकी भन्सार कार्यालय बुझाइसकेको एसएसबीले जानकारी दिएका छन्।

पानीटंकी भन्सारलाई समेत तरकारीको राजस्व तिरेर लुकाई छिपाई ट्रक तथा पिकअपमा यसरी नै सरसामान नेपाल भित्राउँदै आएको यही घटनाले पुष्टि गरेको छ।

भारतमा लोड भएर आउने त्यस्ता ट्रक तथा पिकअप भ्यानलाई मेची भन्सार परिसरभित्र पनि चेकजाँच गरिँदैन। विषादी परीक्षणपश्चात् तरकारी र सब्जीको राजस्व तिरेर भन्सारबाट निस्किने ती गाडीहरू सोजै गन्तव्यतर्फ जाने गरेका छन्।

भन्सारमा राजस्व तिरेर निस्किएका तरकारीका गाडीलाई बाटोमा पनि सशस्त्र र नेपाल प्रहरीले कुनै चेकजाँच गरेको पाइँदैन। यता मेची भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले भारतबाट आउने तरकारी गाडीहरू सामान्य रुपमा चेकजाँच गरिने बताए।

तरकारीका गाडी लत्ताकपडा लगायत अन्य सरसामान आउने विषयमा आफ्नो जानकारीमा नआएको बताउँदै प्रमुख विश्वकर्माले भने, ‘भारतीय एसएसबीले तरकारी भएको ट्रकमा लत्ताकपडा फेला पार्यो भने ती सामान भन्सार भएर पनि जान सक्ने सम्भावना बढेको छ, अबदेखि तरकारीका गाडीहरूलाई भन्सारभित्रै चेकजाँच गरेर मात्र पठाइने छ, यसमा म आफैँ लाग्नेछु।

‘अहिलेसम्म मेची भन्सारमा लत्ताकपडा नआएकै छैन, नेपाली बजारमा भारतीय लत्ताकपडा छ्यापछ्याप्ती पाइन्छ, यस विषयमा जिल्ला स्तरीय राजस्व चुहावट तथा नियन्त्रण समितिमा पनि कुरा उठिरहेको छ,’ उनले भने।’

यता, इलाका प्रहरी कार्यालय काँकडभिट्टा डिएसपी सुनिल दाहालले भारतबाट आउने तरकारीका गाडीहरू सिधै भन्सार जाने गरेको बताए।

भन्सार प्रवेश गर्ने सामानमाथि प्रहरीले हस्तक्षेप गर्न नमिल्ने बताउँदै डिएसपी दाहालले भने, ‘अब भन्सारसँगको सहकार्यमा भारतबाट तरकारीलगायत अन्य सरसामान लिएर आउने गाडीमाथि निगरानी बढाउने छौं, तरकारीका गाडीमा अन्य सरसामान ल्याउने घटना बाहिरिएकोले यस घटनाले प्रहरीको पनि ध्यानाकर्षण गराएको छ।’   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.