|

काठमाडौं : नेपालमा कोरोना विरुद्धको खोप अभियानको पहिलो चरण सकिएको छ। सरकारले दोस्रो चरणको खोप अभियान यही फागुन २३ गतेबाट शुरू भर्दैछ। माघ १४ बाट सुरू भएको पहिलो चरणको अभियानमा ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएको सरकारले जानकारी दिएको छ।

पहिलो चरणमा खोप लगाएकाहरूका लागि सरकारले आगामी वैशाखको दोस्रो हप्तासम्म दोस्रो चरणको खोप अभियान जारी राख्नेछ। पहिलो र दोस्रो अभियानको समयअन्तर ८ देखि १२ हप्ता कायम गर्ने मन्त्रालयले योजना बनाएको छ।

कोरोना खोपको विरुद्धको खोप लगाएकाहरूको लागि दोस्रो चरणको खोप अनिवार्य भए पनि पहिलो चरणमा खोप लगाउँदा कडा खालको लक्षण देखिकाहरूले दोस्रो चरणको खोप नलगाउँदा राम्रो हुने विज्ञहरूले बताएका छन्।

कोरोना खोप लगाएकाहरू धेरैलाई ज्वरो आउने, हात दुख्ने टाउको दुख्ने भए पनि नेपालमा भने हालसम्म खोपको लगाएकै कारण कडा खालको लक्षण देखिएर हालसम्म अस्पताल भर्ना भएको रेकर्ड पाइएको छैन।

यसकारण देखिन्छ खोपको असर

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार हाम्रो शरीरमा ​नयाँ कुरा पठाउनासाथ त्यसमाथि प्रतिक्रिया जनाउँछ, जसलाई मेडिकल भाषामा ‘अक्वायर्ड रियाक्सन’ भनिन्छ।

मानिसको शरीरको संरचनाअनुसार रियाक्सन फरक-फरक हुने हुँदा कसैलाई कडा खालको असर देखिने र कसैलाई नदेखिने उनी बताउँछन्।

यस्तो समस्या खेपेकाले दोस्रो चरणको खोप लगाउनु हुँदैन

पहिलो चरणमा खोप लगाउँदा श्वास फेर्न गाह्रो हुने, शरीरमा बिमिरा आउने, अनुहार र मुख सुनिने समस्या भएकाहरूले दोस्रो चरणको खोप लगाउन नहुने डा. पुनले बताए।

उनले भने, ‘यदी पहिलो चरणको खोप लगाउँदा शरीरमा बिमिरा आउने, श्वास फेर्न गाह्रो हुने, बेहोस हुने र एलर्जी देखिनेजस्ता जटिल प्रकारका लक्षण देखिनेहरूले दोस्रो चरणको खोप नलगाउँदा राम्रो हुन्छ, किनभने यसले शरीरमा खोप सुट गरेन भन्ने देखाउँछ।‘

पहिलो डोज खोप लगाउने धेरैलाई ज्वरो आउने, टाउको दुख्‍ने र ज्यान गल्नेजस्ता असर देखिएपनि यी लक्षण सामान्य रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.