डिपिआर सम्झौतापछि रेल योजनाबारे महानगर नै बेखबर

|

काठमाडौं : काठमाडौं महानगरपालिकाको १० महत्त्‍वाकांक्षी योजनामध्येको एक हो मोनोरेल। काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मनोरेल सञ्चालनको लागि २०७५ पुस ४ गते चाइनाको चाइना रेलवे ब्युरो ग्रुप कर्पोरेट लिमिटेड (सिआरसिसी) सँग डिपिआर बनाउन सम्झौता भएको थियो।

सम्झौताअनुसार एक वर्षमा डिपिआर बनाउनुपर्ने र चार वर्षमा चक्रपथ एरियामा मोनोरेल सञ्चालन गर्नुपर्ने थियो। सम्झौता कार्यक्रममा धेरै लागत लाग्ने भएकाले प्रदेश र संघ सरकारको सहयोगमा मोनोरेलको काम अगाडि बढाउने महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका थिए। तर, डिपिआर बनाउन सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन।

चक्रपथमा मोनोरेल कुदाएर जनतालाई चढाउने प्रमुख शाक्यको आश्वासन सपनामै सीमित बनेको छ। यति मात्रै होइन शाक्यको निर्वाचनताका मतदाताको घरदैलोमा पुगेर दिएको सय दिनमा १०१ काम गरेर देखाउने प्रतिबद्धता पूरा गर्न सकेका छैनन्। 

यस्ता छन् रेलको सम्भाव्यता अध्ययन योजना

सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। चक्रपथ सडक खण्डको कुल २८ किलोमिटरमा निर्माण हुने मोनोरेलमा निर्माणपश्चात् २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन राखिनेछ।

मोनोरेलको स्टेशन भने कोटेश्वर–कलंकी, कलंकी–महाराजगञ्ज, महाराजगञ्ज–कोटेश्वर गरी तीन ठाउँमा बनाइने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। 

कहिले कुद्ला चक्रपथमा मनोरेल?

यता,महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले डिपिआरको सम्झौता भएपछि रेल विस्तारबारे केही जानकारी नभएको जानकारी दिए। उनले भने,‘मोनोरेलबारे अहिले केही नयाँ अपटेड आएको छैन। तीन चार दिनमा यसबारे जानकारी आउला। त्यसपछि मात्रै कहिलेबाट काम सुरु गर्नेलगायत यसबारे जानकारी दिन सकिन्छ।’

उनका अनुसार २०७५ मा डिपिआर सम्झौता भएपछि थप प्रक्रिया अघि बढ्न सकेको छैन। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने गत पुस १५ गते वडा–३१ कार्यालयको भवन शिलान्यास कार्यक्रममा चक्रपथ निर्माणमा ढिलाइ हुँदा मोनोरेल कुदाउन नसकिएको तर्क राखेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.