|

काठमाडौं : पार्टी एकता अभियानमा लागेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। दिउँसाे बालुवाटार पुगेका गाैतमले प्रधानमन्त्री ओलीलाई पार्टी एक बनाएर जानुपर्नेमा जाेड दिएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि विभाजन भएको नेकपाको एकतामा उपाध्यक्ष गौतमले पहल गरिरहेका छन्। 

उपाध्यक्ष गौतमले संसद पुनःस्थापनापछि बालुवाटार पुगेर एकताको प्रस्ताव राखेको उनी निकट स्रोतले बतायो। ‘उहाँले बालुवाटारमा गएर पार्टी एकताको प्रस्ताव राख्नुभयो। तर, उहाँको प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक देखिनुभएको छैन’ स्रोतले भन्यो, 'उहाँले पार्टी एकता गर्ने आधार तय गर्नका लागि तत्काल राजीनामा दिन सुझाव दिनुभएको छ।' 

संसद पुनःस्थापनापछि काठमाडौंमा आयोजित एक कार्यक्रमलाई बोल्दै गाैतमले भनेका थिए, 'मैले सुनेको छु, उहाँ प्रतिनिधिसभा विघटन गरे जसरी अरू जालझेलमा लागि राख्नुभएको छ। उहाँले पार्टी एकतामा राजीनामा दिएर लाग्नुपर्थ्यो। तर, उहाँ अझै आफ्नो स्वार्थमा केन्द्रीत भएर जालझेल गरिराख्नुभएको छ रे।'

‘कम्युनिस्ट आन्दोलन अब माथि उठ्छ उठ्दैन भन्ने कुरा पनि सोच्नुपर्ने बेला आएको छ। पार्टी सुदृढ बनाएर सरकारलाई पनि त्यही गतिमा अगाडि बढाएर लैजान्छौं भन्ने अवस्था पनि छैन,’ उनले भनेका थिए, ‘राजनीतिक स्थिरता कायम राख्नको लागि संविधानमा संसद्‌ विघटन गर्न नपाउने अधिकार राखेको छैन।’ 

प्रधानमन्त्री ओली परिआए संसद्मा  अविश्वासको प्रस्ताव सामाना गरेर जान तयार रहेको हुनाले उपाध्यक्ष गौतमलाई सकारात्मक रुपले नलिएको बुझिएको छ। अन्तिम समयसम्म संसद्मा लड्ने ओलीको रणनीति छ। पार्टी एक हुनका लागि अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्नुपर्ने बताउँदै आएका उपाध्यक्ष गाैतम अहिले प्रधानमन्त्रीले तत्काल राजीनामा गर्नुपर्ने बताउँदै आएका छन्।

उपाध्यक्ष गौतमले बिहीबार बिहान खुमलटार पुगेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट गरेका थिए। उपाध्यक्ष गौतमले प्रचण्डसँग एकताको पहल गर्न आग्रह गरेका थिए। 

नेकपा विभाजन अघिको विवादमा पनि उपाध्यक्ष गौतमको प्रस्तावमा सहमति भएको थियो। उनले पार्टीभित्रको विवाद समाधान गर्नका लागि मध्यमार्गी भूमिकाबाट ६ बुँदे प्रस्ताव ल्याएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.