|

झापा : नगरपालिकाले शिक्षामा व्यापक बजेट कटौती गरेको विरोधमा झापाको गौरादहमा शिक्षकहरू आन्दोलित बनेका छन्। आन्दोलित बनेका शिक्षकहरूले शुक्रबार विरोध र्‍याली प्रदर्शन गर्दै गौरादह नगरपालिका अगाडि तीन घण्टा धर्ना दिएका छन्। 

गौरादह शिक्षक महासंघ नगर समितिको अगुवाइमा शिक्षकहरूले नगरपालिकाविरुद्ध चर्को नाराबाजी गर्दै हातमा प्ले कार्ड र ब्यानरसहित जनता माविदेखि गौरादह बजार, डिपु चोक हुँदै नगरपालिका कार्यालय अगाडि आएर धर्ना बसेका हुन्।

शिक्षक महासंघ नगर समितिले बाल शिक्षक र कर्मचारीको प्रोत्साहन भत्ता, विद्यालय कर्मचारीको निवृत्त प्रोत्साहन भत्ता, अङ्ग्रेजी शिक्षक व्यवस्थापन प्राथमिक तहमा (स्वयंसेवक) र प्ले ग्रुप कक्षा व्यवस्थापनलगायत १३ बुँदै माग सार्दै आन्दोलित बनेका छन्।

नगरपालिकाले आर्थिक वर्ष २०७७ ७८ मा छैटौं नगर सभाबाट  बाल शिक्षक र कर्मचारी प्रोत्साहन शीर्षकमा १४ लाख ४० हजार रुपैयाँ, विद्यालय कर्मचारी निवृत्त प्रोत्साहन शीर्षकमा ४ लाख रुपैयाँ, २० जना अङ्ग्रेजी शिक्षक प्रावि तह (स्यंसेवक) शीर्षकमा ३९ लाख रुपैयाँ र प्ले ग्रुप कक्षा व्यवस्थापन शीर्षकमा ८ लाख रुपैयाँ बराबरको बजेट कटौती गरेको छ।

कटौती गरिएको बजेटको विषयमा व्यक्तिगत तथा संस्थागत रूपमा पटक पटक नगरपालिकालाई ध्यानाकर्षण गराए पनि कुनै चासो नदेखाएपछि चरणबद्ध आन्दोलनमा उत्रिन बाध्यता भएको महासंघ नगर समितिका अध्यक्ष बाबुराम भण्डारीले जानकारी दिए। 

समितिले पहिलो चरणअन्तर्गत विभिन्न सञ्चार माध्यमहरूलाई जानकारी गराउने, नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउने, विद्यालयका पिटिए अध्यक्ष, व्यवस्थापन समिति अध्यक्ष र दलगत प्रतिनिधिहरूसँग छलफल गर्ने र फागुन ९ गते कार्यपालिका सदस्यहरूसँग अन्तरक्रिया गर्ने लगायतको कार्यक्रम सम्पन्न गरिसकेको उनले बताए। 

दोस्रो चरण अन्तरगत शुक्रबार एक दिन विद्यालय बन्द गरी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू नगरपालिका घेराउ गर्दै धर्नामै हाजिरी गरिसकेको बताउँदै अध्यक्ष भण्डारीले भने, 'यति गर्दा पनि नगरपालिकाले शिक्षकहरूको माग पूरा नगरेको खण्डमा फागुन २१ गते सम्पूर्ण बाल शिक्षक, कर्मचारी तथा शिक्षक महासङ्घका पदाधिकारीहरू नगरपालिकामा आएर पुनः धर्ना दिने छौँ।'

तेस्रो चरणमा महासङ्घले अझ सशक्त एवम् कठोर आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने उनको भनाइ छ। नगरपालिकाले हालसम्म नगर शिक्षा समिति गठन नगरेको हुँदा प्रचलित कानुनबमोजिम नगर शिक्षा समिति तुरुन्त गठन गर्नुपर्ने उनको माग छ।

धर्ना कार्यक्रममा नेपाल शिक्षक महासङ्घका अध्यक्ष भण्डारी, नेपाल शिक्षक सङ्गठन गौरादहका अध्यक्ष लीला गौतम, शिक्षक सङ्घ गौरादहका अध्यक्ष रत्न कटुवाल, प्रगति माविका प्रअ डिल्लीराम अधिकारी, जनता माविका प्रअ हरि अधिकारी, मोती माविका कर्मचारी हरि ढकाल, बाल शिक्षक भगवती भण्डारीलगायतले धारणा राखेका थिए। 

नगरको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले छैटाैं नगर सभाबाट शिक्षा क्षेत्रमा १ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट छुट्याएको गौरादह नगरपालिकाका मेयर रोहितकुमार साहले जानकारी दिए। 

कोरोना भाइरसको महामारीका कारण सबै क्षेत्रमा बजेट कटौती गर्दा चुनौती थपिएको बताउँदै मेयर साहले शिक्षकहरूको मागप्रति नगरपालिका संवेदनशील भएको र वार्ताबाट समाधान गर्ने बताए। नगरपालिकाभर प्रावि, आधारभूत र मावि गरी ३२ वटा सामुदायिक विद्यालय छन्।

नगरपालिकाको लेखा शाखामा ताला

यसैगरी गौरादह नगरपालिकाको लेखाशाखामा कर्मचारी नभएपछि ताला लागेको छ। लेखा शाखा ताला लागेपछि नगरपालिकामा सेवा लिन जाने सेवाग्राही थप मारमा परेका छन्।

लेखा शाखाका सह लेखापाल गणेश भट्टराई प्रसूति स्याहार बिदामा र कार्यालय सहयोगी कार्यालयकै काम विशेषले आन्तरिक राजस्व कार्यालय दमक गएपछि लेखा शाखामा शुक्रबार ताला लागेको थियो। 

लेखा शाखाका सह लेखापाल भट्टराई बिहीबारदेखि १५ दिनसम्म प्रसूति स्याहार बिदामा घर बसेको  नगरपालिका छैटौँ अधिकृत स्तर कर्मचारी प्रज्वल अधिकारीले जानकारी दिए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई पनि कार्यालयमा उपस्थिति देखिए। प्रमुख प्रशासकीय अधिकृत भट्टराई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तीन दिने तालिमका लागि विराटनगर गएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.