ट्राफिकविरुद्ध मुद्दा दर्तादेखि सवारीसाधन बन्द गर्नेसम्म कार्यक्रम सार्वजनिक

|

झापा : प्रहरीले सवारी ज्यान कसुरमा बस चालकमाथि मुद्दा चलाएको भन्दै पूर्वका यातायात व्यवसायीहरु आन्दोलित भएका छन्। आन्दोलित बनेका यातायात व्यवसायीहरूले झापाको दमकमा शुक्रबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।  

व्यवसायीले भोलि शनिवार एक घण्टा बिहान ९ बजेदेखि १० बजेसम्म १ नम्बर प्रदेशभरि सांकेतिक रुपमा सार्वजनिक यातायातका सवारीसाधन बन्द गर्ने, आइतबार ट्राफिक प्रहरी चौकी गोठ गाउँका प्रमुखविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गर्नेलगायत अन्य विरोधका कार्यक्रमहरू पनि सार्वजनिक गर्ने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन संघका अध्यक्ष मदन खड्काले जानकारी दिए।

राज्यले यातायात मजदुर र यातायात व्यवसायीलाई गर्ने व्यवहारमा सुधारको खाँचो रहेको उनको भनाइ। राजमार्गमा गुड्ने साना सवारीले चाहिँ कहिल्यै गल्ती नै नगर्ने जस्तो व्यवहार ट्राफिक प्रहरीबाट भइरहेको भन्दै यातायात व्यवसायी विश्वास काश्यपले गुनासो पोखे। 

घटना विवरण गत माघ ५ गते मोरङको गोठ गाउँमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा प्रदेश १०० १ ख ३४३३ नम्बरको सार्वजनिक बसका चालक रामचन्द्र गिरीमाथि प्रहरीले सवारी ज्यान कसुरमा मुद्दा चलाएको हो।

उनलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेपछि यातायात व्यवसायी आन्दोलित बनेका हुन्। विपरीत दिशाबाट आएको को २ च २३१९ नम्बरको कार चालक बाघधन राईले लापरबाहीपूर्वक सवारी चलाउँदा दुर्घटना भएको थियो।

तर प्रहरीले घटनास्थलको स्केच तयार पार्दा गम्भीर त्रुटि बस चालकमाथि लगाएर मुद्दा चलाएको व्यवसायीहरूले बताएका छन्। दुर्घटनामा दोषी देखिने कार चालक राईलाई उन्मुक्ति दिएको देखिन्छ। कार चालकलाई पक्राउ नगरेसम्म यातायात व्यवसायीले सार्वजनिक सवारीका साधन स्वतस्फूर्त रुपमा बन्द गर्ने चेतावनीसमेत दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.