|

विराटनगर : 'मन बिनाको धन ठूलो, कि धन बिनाको मन' उल्लेखित गीतका हरफलाई यति बेला अर्थ दिदैँ छन् विराटनगरका हाम्रो अभियानका युवाहरू। 

कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै अप्ठ्यारोमा परेका विपन्न परिवारलाई एक सय २० दिन निशुल्क खाना वितरण गरेर नथाकेका युवाहरू यो समय न्यानो कपडा वितरणमा गर्दै आइरहेका छन्। 

लकडाउनले शून्य भएको सडकमा छटपटाएको सडक मानवका दृष्यले मन थाम्न नसकेर युवाको समूह बनाएर निशुल्क खाना खाने अभियान शुरू गरेको अभियानका नेतृत्व गरिरहेका युवा नेता वोसिम आलम बताउँछन्। 

‘त्यो समय घर हुने र पैसा हुनेहरू घरैभित्र बसेर विभिन्न परिकार बनाएर सामाजिक सञ्जालमा फोटा पोष्ट गरे,’ आलमले भने, ‘तर जो सडकमा वर्षौंदेखि जीवन व्यतित गरिरहेकाहरू रोगभन्दा पनि भोकले छटपटाइरहेका थिए, त्यो दृश्य हामीले देख्न सकेनौं, त्यहीँबाट हामीले यो अभियान शुरू गरेका हौँ।’ 

अभियानको शुरूवाती दिनहरूमा उनीहरूको टीमलाई अभियानलाई लामो समयसम्म सार्थकता दिन त्यति सहज थिएन। केही समयको अन्तरालपछि दाताहरूले पनि सहयोग गरेसँगै अभियानलाई निरन्तरता दिन सहज भएको अलमले बताए। लकडाउनको समयमा निशुल्क खाना खुवाउने अभियानका लागि नयाँबजारका कृषक कोपिन्द्र सिंहले निरन्तर तरकारी सहयोग गरेको आलमले बताए। 

अभियानमा महिलादेखि १६ वर्षीय कान्छो अभियन्ता र अग्रजहरूले पनि साथ दिएका छन्। यो अभियानले समूहमा सहकार्य गर्दा जस्तो परिस्थितिको पनि सामना गर्न सकिने शिक्षा दिएको अभियानका अभियन्ता दीपा दर्नाल बताउँछिन्। आफूले घरको कामसँगै आफ्नो व्यवसायलाई पनि समय दिएर अभियानलाई साथ दिँदै आइरहेको उनको भनाई छ। 

अभियानले कर्तव्य, समय र जिम्मेवारी वहन गर्न सिकाएको अभियानका कान्छा अभियन्ता कृशल आले बताउँछन्। 'मलाई यो अभियानले जिम्मेवारी हुन सिकाएको छ,' कृशलले भने, 'सायद म अभियानमा आवद्ध नभएको भए समाजको बाहिरी परिवेश कस्तो छ बुझ्न सक्दिनँ थिएँ होला। मलाई यो अभियानले धेरै कुरा सिकाएको छ।’ 

३ हजार बढीलाई न्यानो कपडा वितरण 

विराटनगरको सडक पेटीमा जीवन व्यतित गर्ने मानिसहरूलाई साथै गाउँबस्ती विपन्न परिवारलाई हाम्रो अभियानको टीमले न्यानो कपडा साथै जुत्ता वितरण गर्दै आइरहेका छन्। 

पछिल्लो समय चिसो मौसम भित्रिएसँगै न्यानो कपडा वितरण गर्न शुरू गरेका टीमले ३ हजार बढीलाई न्यानो कपडा, जुत्ता चप्पल वितरण गरको आलमले जानकारी दिए। तराईको चिसोले कोही पनि मानिसहरूले चिसोका कारण मृत्यु व्यहोर्न नपरोस्‌ भन्ने उद्देश्यले न्यानो कपडा वितरण सरु गरेको आलमको भनाई छ।

‘सुरुवातमा हामीले पुरानो प्रयोग गर्न मिल्ने कपडा कलेक्सन गर्‍यौं,' आलमले भने, 'कलेक्शन भएका कपडालाई सरसफाई गरी सेनिटाइजर गरेर वितरण गरेको हौँ,’ उनी थप्छन्, 'शुरूवात गर्न गाह्रो हुने रहेछ, तर अहिले दाताहरूले पनि सहयोग गर्दै हुनुहुन्छ।'

लामो समयको लकडाउनले विराटनगरको सडकमा बस्ने मानिसहरू साथै बस्तीको मानिसहरूको चिसो मौसममा हुने अवस्थाबारे जानकार भएको कारण विपन्नलाई लक्षित गरेर न्यानो कपडा वितरण शुरू गरेको उनले बताए। पछिले समय वृद्धा आश्रम, मानव सेवा आश्रमलाई समेत सहयोग गर्दै आइरहेको उनले जानकारी दिए।

यो अभियान निरन्तर जारी रहने आलमको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.