लामो समय बिताउनेले होइन, धेरै याेगदान गर्नेले नेतृत्व सम्हाल्ने हो

|

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले आगामी चार वर्षे नेतृत्वको लागि चैत २८ गते साधारणसभा बोलाएको छ। यसअघि विशेष साधरणसभाबाट विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुन पाउनुपर्ने विधान पारित भएपछि आगामी नेतृत्व वरिष्ठ उपाध्यक्ष भवानी राणाले सम्हाल्ने पक्का छ।

तर वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको अध्यक्ष विधानसम्मत नै हुने भएपछि वरिष्ठ उपाध्यक्ष को बन्ने भन्ने चटारो उद्योगी व्यवसायीमा देखिएको छ। अबको वरिष्ठ उपाध्यक्ष बन्नको लागि महासंघमा दुई प्यानल देखिएका छन्। अहिलेका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले उम्मेद्‍वारी घोषणा गरिसकेका छन् भने एसोसिएट उपाध्यक्ष शेखर गोल्छाले पनि टिम तयार पारेका छन्। उनले एक/दुई दिनमै टिम घोषणा गर्ने बताएका छन्। महासंघका आगामी वरिष्ठ उपाध्यक्ष हुँदै त्यपछि स्वत: अध्यक्ष बन्ने योजनामा रहेका गोल्छासँग भागवत भट्टराईले गरेको कुराकानी:

अध्यक्ष स्वत: बन्दा पनि महासंघमा चुनावी रौनकचाहिँ कम भएन है?

नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको छाता संगठन हो। यो संस्थाबाट निजी क्षेत्रले मात्रै हाेइन, सरकारले पनि धेरै अपेक्षा गरेको हुन्छ। यहाँ गएर केही गर्ने इच्छा धेरैको हुन्छ। त्यसैको कारण महासंघमा चुनावी रौनक अलि बढी नै लागेको देखिन्छ।

महासंघमा तपाईंको उम्मेदवारी किन?

नेपाल उद्योग वाणिज्य महासंघको कुरा गर्दा मेरो पारिवारीक पृष्ठभूमि पनि गाँस्न मन लाग्छ। उद्योग वाणिज्य महासंघको स्थापना हुँदाखेरि एउटा तदर्थ समिति बनेको थियो। त्यसबेलादेखि मेरो स्वर्गीय बुबा (हंसराज हुलास गोल्छा) संलग हुनुहुन्थ्यो। उहाँले कोसीबाट प्रतिनिधित्व गर्नुभएको थियो।

त्यो इतिहास मैले अहिलेसम्म बोकेकै छु। हाम्रो घर वा हाम्रो परिवारमा चेम्बरको के महत्त्व हुन्छ, चेम्बरमा किन जानुपर्छ, चेम्बरले कसरी समुदायलाई सहयाेग गर्छ भन्ने कुरा सुरुदेखि नै चर्चा हुने गर्थ्यो। जहिले पनि हामीले यो विषयलाई सकारात्मक रूपमा लिएर यसमा अगाडि बढ्नुपर्छ भन्ने ठान्यौँ। त्यसैले पनि हाम्रो परिवारसँग महासंघ र महासंघसँग हाम्रो परिवारको पृथक सम्बन्ध छ।

त्यसो भए पारिवारिक विरासतको निरन्तरताका लागि तपाईंको उम्मेद्‍वारी हो?

पक्कै पनि, किन भने अहिलेसम्म मलाई लाग्दैन कि कुनै पनि एउटा कार्यसमिति छ होला, जसमा हाम्रो परिवारको संलग्नता नरहेको होस्। पहिलो विधान बनाउनेदेखि अहिलेसम्म एउटा 'लिगेसी' हामीले बोकेका छौँ अनि त्यसबाहेक मलाई के लाग्छ भने उद्योग वाणिज्य महासंघमा अहिलेको परिस्थितिमा काम गर्न म सक्षम छु।

तपाईं महासंघको वरिष्ठ उपाध्यक्ष हुँदा महासंघ र समग्र आर्थिक-व्यावसायिक क्षेत्रमा के फाइदा हुन्छ त?

मैले काम गर्ने मुख्यत: तीन चारवटा क्षेत्र बनाएको छु। पहिलो सचिवालयलाई सशक्त बनाउनु नै हो। सचिवालय नीति कार्यालय जस्तै छिटो, छरितो र अत्यन्तै जवाफदेही बनाउनु रहेको छ। मेरो एउटा लक्ष्य के छ भने सचिवालयलाई सुधार गर्नै पर्छ र गर्छु पनि।

अहिले हाम्रो अन्तर्राष्ट्रिय समन्वय एकदमै कमजोर भएको छ। यो बेला अन्तर्राष्ट्रिय समन्वय वृद्धि गर्न मलाई लाग्छ, म सक्षम नै हुनेछु, गर्छु पनि । यो गर्‍यो भने हामीले जिल्लास्तरीय धेरै कार्यक्रमहरू लिएर आउन सक्छौँ। विदेशी लगानीको लागि पनि लगानीकर्ताहरूलाई संभावना खोलिदिन तथा देखाइदिन पहल गर्नुपर्ने हुन्छ। म यो कार्य गर्न केन्द्रित हुन्छु।

संविधान कार्यान्वयन हिलेसम्म 'पेन्डिङ'मै छ। निजी क्षेत्रसँग सम्बन्धित धेरै एेन कानुन पास गराउन बाँकी छ। यसका लागि पहल गर्ने पनि मेरो प्रयास हुनेछ। त्यसको लागि मलाई लाग्छऽ म गम्भीर 'स्टेक होल्डर' भएकोले मैले आफैँ पनि बुझेको छु, बुझाउन पनि जानेको छु- कसरी अघि बढाउनुपर्छ भन्ने विषयमा पनि थोरै धेरै थाहा छ। त्यहीअनुसार परिवर्तन लिएर आउन सक्छु निजी क्षेत्रको पक्षमा जस्तो मलाई लाग्छ।

तर महासंघमा तपाईंको अनुभव कम छ, अहिले नै तपाईंले हतार गर्नु हुँदैन थियो भन्ने पनि कुरा उठेकाे छ नि!

कुनै दुई मत छैन यो प्रश्‍नमा। महासंघमा यस्ता व्यक्तिहरू पनि छन्, जसले सायद महासंघमा ३०/४० वर्षसम्म बिताएका छन्। मलाई लाग्छ, कसले कति समय बितायो भन्दा पनि कसले के याेगदान गर्‍यो भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ।

अर्को कुरा, मैले एक दशक भन्दा बढी महासंघमा बिताइसकेको छु। अनुभवका कुरा गर्ने हो भने त मैले १६/१७ वर्ष विभिन्न चेम्बरहरूमा आफ्नो भूमिका निभाइसकेको छु। मैले विभिन्न संस्थामा अनुभव बटुलेको छु। त्यसकारण पनि मेरो अनुभव अपुग हुन्छ भन्ने मलाई लाग्दै लाग्दैन।

बाहिरका धेरै अग्रजहरु धेरै समय विताएका हुनुहन्छनि त्यसकारणले पनि मैले यस्ता कुरालाइ महत्व दिदिन कन्ट्रिव्युसनका आधारमा नेतृत्वमा आउने हो

तर निश्चित रूपमा जसले धेरै समय बितायो, त्यसैले नेतृत्व पाउनुपर्छ भन्ने जुन धारणा छ, त्यो आफैँमा सशक्त कुरा होइन। त्यो भए त हाम्रो पदाधिकारीमा भएका भन्दा पनि बाहिरका धेरै अग्रज धेरै समय बिताएका हुनुहन्छ नि! त्यसकारण पनि मैले यस्ता कुरालाई महत्त्व दिन्नँ, याेगदानका आधारमा नेतृत्वमा आउने हो।

अर्को कुरा, मसँगै किशाेर दाइले (महासंघका उपाध्यक्ष तथा आगामी वरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका किशोर प्रधान) पनि वरिष्ठ उपाध्यक्षमा उमेद्वारी घोषणा गर्नुभएको छ। उहाँ मेरो श्रद्धेय दाइ हुनुहुन्छ। हाम्रो परिवारसँग साह्रै नजिक पनि हुनुहुन्छ उहाँ। तर, मलाई महासंघमा अहिले मेरो आवश्‍यकता छ। मेरो नेतृत्वको आवश्‍यकता छ। मैले केही परिवर्तन लिएर आउन सक्छु भन्ने विश्‍वास छ।

महासंघमा पूर्व अध्यक्षहरुको पनि ठूलो भूमिका रहने गर्छ, तर धेरै पूर्व अध्यक्षहरू तपाईंको पक्षमा देखिनुहुन्न नि!

पूर्व अध्यक्षलाई हामीले जहिले पनि सम्मान गरेका छौँ, गर्छौं पनि। उहाँहरूको मार्गदर्शनअनुसार हिँड्नुपर्छ भन्ने मेरो पनि धारणा हो। तर, मलाई लाग्छ, कहिले कहिले चाहिँ समयसँग संस्था पनि बदलिनुपर्छ, होइन भने एउटै ठाउँमा बसिरहने र एउटै सोच राखिरहने हो भने कुनै पनि संस्था परिवर्तन हुन सक्दैन।

धेरै ठूलो प्रयासपछि विधान संशोधन गर्नुभयो तर धेरै पूर्व अध्यक्षले त्यो विधानमा असहमति राख्नुभएको छ र महासंघकै पदाधिकारीले पनि गल्ती गर्‍यौं भनिरहेका छन्, यसको असर निर्वाचनमा पर्दैन र?

 जुन नयाँ विधान छ, यो विधान ९० प्रतिशत भन्दा बढी साधरण सदस्यहरूले पास गरेको विधान हो। सर्वसम्मत सरह पारित गरिएको हो।

विधान अनुसार नै  आफ्नो उम्मेदवारी हाल्ने तथा त्यो उम्मेद्वारलाई सपोर्ट गर्ने तर विधानको विरोध गर्ने र गल्ती भयो भन्ने कुरा विरोधाभास छ

यसको विरोधमा बोल्दा संस्था अझ कमजोर हुन्छ जस्तो लागेको छ। किनभने जुन कुरा साधारणसभाले पास गरिसकेको छ, पास गरिसकेपछि यो ठीक थियो वा बेठीक थियो भन्ने कुरा अहिले गर्दा संस्था मात्रै कमजोर हुन्छ। यस्तो कुरा गर्नु हुँदैन भन्ने लाग्छ।

महत्त्वपूर्ण कुरा के छ भने साधारणसभाले पास गरेको कुरालाई मैले गल्ती गरेँ भनेर पनि पदाधिकारी स्तरको व्यक्ति बोल्नु अचम्मकै कुरा हो। त्यस्तै नयाँ संशोधित विधानअनुसार नै आफ्नो उम्मेदवारी दिने तथा त्यो उम्मेद्वारलाई सहयाेग गर्ने अनि विधानको विरोध गर्ने र गल्ती भयो भन्ने कुरा विरोधाभाषपूर्ण छ। यसले महासंघलाई कमजोर बनाउँछ।

 

अन्त्यमा, निजी क्षेत्र र सरकारबीचको सहकार्यसमेत कमजोर भयो भनिन्छ। यसको सुधारको लागि तपाईंको प्रयास के हुन्छ?

सन् १९९० को दशकमा एउटा सहकार्य गरेर निजी क्षेत्र र सरकार अघि बढ्दा त्यो बेला एउटा आर्थिक क्रान्ति नै भयो। तर त्यसपछि सायद निजी क्षेत्रलाई हेर्ने सरकारकाे दृष्टिकोण र सरकारलाई निजी क्षेत्रले हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गयो।

हामी दुवै एक सिक्काका दुई पाटा भन्दा पनि एकै सिक्काको एउटै पाटा हौँ किनभने हाम्रो लक्ष्य एउटै हुनुपर्छ र सहकार्य गरेर अघि बढ्नुपर्छ।

त्यसै कारण आर्थिक गतिविधि बढ्नुपर्ने थियो त्यो बढेन। अब मेरो के लक्ष्य रहन्छ भने हामी दु्वै एक सिक्काका दुई पाटा भन्दा पनि एकै सिक्काका एउटै पाटा हौँ किनभने हाम्रो लक्ष्य एउटै हुनुपर्छ र सहकार्य गरेर अघि बढ्नुपर्छ। एकअर्कालाइ शंकाको दृष्टिले हेर्ने होइन, हामी पनि रोजगारी दिने एउटा वर्ग हौँ, सरकारले पनि हामीलाई यसको बाटो दिनुपर्छ। एउटै लक्ष्य राखेर हामी अगाडि  बढ्नुपर्छ। एकअर्कालाई गाली गरेर होइन, एकअर्काबीच सहकार्य गरेर अघि बढ्नुपर्छ भन्ने मेरो सोच छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.