|

साउदी अरब सरकारले पत्रकार जमाल खशोग्गीको हत्यालाई लिएर अमेरिकी गुप्तचर निकायले तयार गरेको रिपोर्ट खारेज गरिदिएको छ।

अमेरिकी गुप्तचर एजेन्सीले साउदी अरबका युवराज सलमान बिन मोहम्मदको मन्जुरीमा खशोग्गीको हत्या भएको भन्ने रिपोर्ट तयार गरेको थियो। साउदी अरबको विदेश मन्त्रालयले अमेरिकी दाबी नकारात्मक र फर्जी भएको दाबी गरेको हो।

मन्त्रालयका अधिकारीहरूले भनेका छन्‌, ‘यो एक नकारात्मक र फर्जी रिपोर्ट हो, हामीले यो घटना एक संगीन अपराध हो भनेर पहिले नै भनिसकेका छौँ। जसमा साउदी अरबको कानून र मूल्य मान्यताको उल्लंघन गरिएको छ। हाम्रो सरकारले यो मामिलाको जाँचको लागि सबै कडा कदम उठाएको थियो, ता कि पीडितले न्याय पाउन सकुन्।’

साथै, साउदी विदेश मन्त्रालयले घटनामा सामेल भएकालाई दोषी ठहर गर्दै अदालतले सजाय सुनाइसकेको र अदालतको फैसलालाई खशोग्गीको परिवारले स्वागत पनि गरिसकेको उल्लेख गरेको छ।

जो बाइडेन प्रशासनले हिजो जारी गरेको रिपोर्टमा त्यतिखेर अमेरिकामा रहेका पत्रकार खशोग्गीलाई कि जिउँदै पक्राउ गर्ने वा हत्या गर्ने योजना साउदीको रहेको उल्लेख छ।

अमेरिकाले पत्रकार खशोग्गीको हत्यामा पहिलोपटक सीधै राजपरिवारका सदस्यको नाम जोडेर रिपोर्ट सार्वजनिक गरेको हो।

सन् २०१८ मा साउदी पत्रकार जमाल खशोग्गीको टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्र हत्या भएको थियो। उनी साउदी सरकारका आलोचक थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.