|

  • विमला अधिकारी-

लमजुङ : कुनै बेला घर चलाउन मुस्किल परेको भन्दै वैदेसिक रोजगारीमा जान तयार भएका लमजुङ बेसीसहर– २ का शिवबहादुर पाण्डेलाई अहिले मौरी व्यवसायले नै उद्यमी मात्र बनाएको छैन वार्षिक लाखौँ रुपैयाँ आम्दानी पनि गराएके छ। १० वर्षअघि तीनवटा घारबाट मौरी पाल्न सुरु गरेका पाण्डे अहिले लमजुङकै प्रख्यात मौरीपालक कृषकका रूपमा परिचित छन्।

‘सुरुमा तीनवटा घार ल्याएर मौरी पाल्न सुरु गरेको हुँ’, कृषक पाण्डे भन्छन्, ‘त्यसलाई दोब्बर, तेब्बर बनाउँदै अहिले एक सय ७० घार पुर्याएको छु।’

उत्पादित मह प्रति किलो ८ सय रुपैयाँ र मौरीसहितको घारलाई ८ हजार रुपैयाँमा बेच्ने गरेका छन् पाण्डेले । घार, मौरीसहितको घार र मह बिक्रीबाट पाण्डेले वार्षिक २५ लाख रुपैयाँ आम्दानी गर्दै आएको बताउँछन्।

आफ्नो दुःखअनुसार आमदानी राम्रो हुँदै गएपछि कृषक पाण्डेले केही समययता मौरी घारका लागि चाहिने बाकस बनाउन फर्निचर उद्योगसमेत सञ्चालनमा ल्याएका छन्। करिव १० लाख रुपैयाँ लगानीमा मौरीपालन तथा घार उद्योग सञ्चालनमा ल्याएका पाण्डेकहाँ मौरीको घार निर्माणका लागि तीन जना कामदार छन्। रित्तो घारलाई तीन हजार रुपैयाँदेखि ३५ सय रुपैयाँसम्ममा बेच्दै आएका छन्।

पाण्डे भन्छन्, ‘अहिले जिल्ला तथा जिल्लाबाहिरबाट रित्तो घार अनि मौरीसहितको घारको लागि अत्यधिक माग आएको छ, मागअनुसार पुर्याउन मुस्किल परेको छ।’ उत्पादित मह बिक्रीका लागि पनि बजार खोज्न भौँतारिँदै हिड्नु नपर्ने उनको भनाइ छ।

हिलेबेसी, रामचोकबेसी र उदिपुर गरी तीन ठाउँमा मौरीपालन व्यवसाय गर्दै आएका पाण्डेले वार्षिक तीन सिजनमा मह काढ्ने गर्छन्। ‘एक सिजनमा तीनदेखि पाँच पटकसम्म एउटै घारबाट मह निकाल्न सकिन्छ’, पाण्डे भन्छन्, ‘जेठ, कात्तिक र फागुन मह निकाल्ने उत्तम समय हुन्।’

अरू व्यवसायको तुलनामा मौरी पालन व्यवसाय सजिलो हुने भए पनि यस व्यवसायका लागि चरनले महत्त्वपूर्ण भूमिका खेल्ने पाण्डेको अनुभव छ। चरनविना मौरीपालन व्यवसाय कल्पना पनि गर्न नसकिने उनी बताउँछन्। मैन कीरा, मैन पुतली, अरिंगाल, माउसुली, मलसाँप्रोले बच्चा तथा मह खाइदिने, घार भत्काइदिने गर्दा केही चुनौती भने रहेको कृषक पाण्डेको भोगाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.