अस्पताल सार्ने विषयमा असहमति

|

नवलपरासी : नगर सभामा बहुमतको निर्णय गराएर अस्पताल अन्यत्रै सार्ने प्रयास भएको भन्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका १० जना जनप्रतिनिधिले आठौं नगर सभा बहिस्कार गरेका छन्।

नगरपालिकाको वडा नम्बर ७ र ८ का जनप्रतिनिधिहरूले सुनवल-८ मा निर्माण हुनुपर्ने १५ शय्या क्षमता रहने अस्पताल कुनै पनि हालतमा अन्यत्र सार्न नदिने अडान लिँदै नगर सभा बहिष्कार गरेका हुन्‌। गाउँपालिकाका अध्यक्षले बहुमतको दम्भ देखाएकाले नगर सभा नै बहिस्कार गरेको वडा नम्बर ८ का वडाध्यक्ष नीलकण्ठ गैरेले बताएका छन्।

वडा नम्बर ७ र ८ का जनप्रतिनिधिले नगर सभा बहिस्कार गरेको जानकारी दिन पत्रकार सम्मेलन नै आयोजना गरेका थिए। उनीहरूले २०५३ सालमा तत्कालीन सुनवल गाविस हुँदा स्थापना भएको सुनवल स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी १५ शय्याको अस्पताल बनाउने भनी २०७५ साल चैत्र २९ गते नेपाल सरकारले निर्णय गरे बमोजिम अहिले रहेकै स्थानमा अस्पताल निर्माण गर्नुपर्ने अडान लिँदै आएका छन्।

२०७६ बैशाख १२ गते स्वास्थ्य चौकी स्तरोन्नती गरी १५ शय्याको अस्पताल बनाउने सरकारको निर्णय सहितको जानकारी पत्र स्वास्थ्य चौकीमा आएको स्वास्थ्य चौकीका अध्यक्ष एवं वडा नम्बर ८ का अध्यक्ष गैरेको भनाई रहेको छ।

सरकारले निर्णय गरेपश्चात हाल स्वास्थ्य चौकी भएकै ठाउँमा अस्पताल निर्माण गर्नका लागि आवश्यक नापजाँच गरी डीपीआर पनि तयार भैसकेको र भवनको डिजाइन पनि तयार भैसकेको छ। अस्पतालको भवन निर्माण शुरू गर्न २०७६ साल भदौ ११ गते सरकारका तत्कालीन स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादवबाट शिलान्यास समेत गरिएको थियो। शिलान्यास भएको झण्डै डेढ वर्ष भैसक्दा पनि निर्माण कार्य शुरू हुन सकेको छैन।

नगर प्रमुख भीमबहादुर थापा, उपप्रमुख दधीराम अर्याल लगायत ११ वटा वडाका वडाध्यक्षहरूले बहुमतको दम्भ देखाउँदै वडा नम्बर ७ र ८ मा जनघनत्व कम भएको र अपायकसमेत पर्ने भन्दै अस्पतालको भवन वडा नम्बर ३ र ५ को सीमामा पर्ने वडा नम्बर ५ को वनकट्टीमा निर्माण गर्नुपर्ने अडानमा रहेको वडा नम्बर ७ का वडाध्यक्ष वसन्तराज दाहालले बताएका छन्। दाहालले नगर प्रमुख र उपप्रमुखले भेगीय राजनीति गरेको समेत आरोप लगाएका छन्।

यता, सुनवल नगरपालिका  प्रवक्ता कृष्णप्रसाद देवकोटाले वडा नम्बर ७ र ८ का वडा अध्यक्षले २०७६ साल असोज २३ गते बसेको कार्यपालिकाको बैठकमा अस्पताल वडा नम्बर ५ को वनकट्टीमा निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेको बताएका छन्।

आफैँले गरेको निर्णयबाट वडाध्यक्षहरू पछाडि हटेकोमा अचम्मित परेको उनको भनाई छ । नगर सभा तयारीका लागि बसेको बैठकमा सहमति जनाएर नगर सभामा विरोध गरेपनि गत वर्ष नै बहुमतबाट यो निर्णय भएको देवकोटाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.