|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका नेता रघुजी पन्तले आफूमाथि गरेको गलत टिप्पणीविरुद्ध राष्ट्रिय सभा सदस्य कोमल वलीले कडा प्रतिवाद गरेकी छिन्‌। उनले सामाजिक सञ्जालमार्फत पन्तको नीचताको संज्ञा दिएकी छिन्।

पन्तले एक कार्यक्रममा कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पिँडुला देखाएर राष्ट्रिय सभा सदस्य भएको टिप्पणी गरेका थिए। 

'हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ। पन्तजीलाई मेरो प्रश्न-तपाईंको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरूले को कसलाई पिँडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो?' वलीले लेखेकी छिन्,'के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्र सोचको शिकार हुनुपर्छ?'

पूर्वीय दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसीमा उत्तीर्ण भएको भन्दै वलीले प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको बताइन्।

'एक-अर्काको आदर सम्मानबिना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ, समाज हिंसातिर जान्छ र दया-करुणा जस्ता कुरा हराउँछन्। तसर्थ, एकले अर्कोलाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो। तर, नेकपाका नेता रघु पन्तले महिलाहरूले प्राप्त गर्ने पदहरू पिँडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ-वहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरू बीचैमा रोकिएको जस्तो छ,' उनले भनिन्, 'वहाँले प्रयोग गर्ने शब्दहरूले आफ्नो आमा-दिदीबहिनी सबैलाई अपमान गरेको छ। विवेकहीन मानिसको आलोचनाले आफैँलाई आलोचित गर्दछ, यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.