|

काठमाडौं : फागुन १२ गते पूर्वमन्त्री पिताम्बरध्वज खातीको निधन भएको समाचार आयो। वि.सं. २०२९ सालमा कीर्तिनिधि बिष्टको अध्यक्षतामा गठित सरकारका गृह पञ्चायत राज्यमन्त्री खातीको निधन सार्वजनिक चासो र चिन्ताको घटना बन्यो।

खातीको मृत्यु मृत्यु संयोगले आम मानिसहरूलाई अझै प्रभावित बनायो। पिताम्बर र उनकी श्रीमती शिवकुमारी खातीको एकै समयमा निधन भयो। यस्तो प्राकृतिक मृत्यु संयोग मिलेको दुर्लभै थाहा लाग्छ।

फागुन १२ गते दिउँसो खाती दम्पतीकै स्वास्थ्यमा अचानक एकैसाथ समस्या देखियो। उपचारका लागि एउटै एम्बुलेन्समा राखी अस्पतालतर्फ लैजाँदै गर्दा करिब २ बजेतिर बाटोमै दुवै जनाको निधन भयो।

यो दम्पतीले ६४ वर्ष सँगसँगै बिताएको थियो। पिताम्बरध्वज ८७ वर्षका र उनकी पत्नी शिवकुमारी ८३ वर्षकी थिइन्‌।

​वि.सं. १९९१ साल असारमा पाल्पाको गैरी गाउँमा जन्मेका खाती २०२१ देखि २०३५ सम्म ३ पटक पाल्पा जिल्लाबाट राष्ट्रिय पञ्चायतको निर्वाचित भएका थिए।

उनी वि.सं. २०२९ साल वैशाख ४ गते कीर्तिनिधि विष्टको सरकारमा गृह पञ्चायत राज्यमन्त्री नियुक्त भएका थिए। यस्तै, २०३२ साल वैशाख १ गते नगेन्द्रप्रसाद रिजालको सरकारमा निर्माण यातायत राज्यमन्त्री, २०३३ साल भाद्र १७ गते डा. तुल्सी गिरिको सरकारमा स्वास्थ्यमन्त्री र २०३४ भाद्र २७ गते कीर्तिनिधि विष्टको सरकारमा उद्योग वाणिज्य मन्त्री नियुक्त भै २०३५ मंसिरसम्म सरकारमा रहेका थिए।

वि.सं. २०३५ सालमा गलैँचा काण्डमा आरोपित भएर न्यायालयद्वारा सफाई पाएपनि बिरक्तिएर उनले राजनीतिबाटै संन्यास लिएका थिए।

उनी उद्योग वाणिज्य मन्त्री हुँदा नेपालको विभिन्न देशहरूसँग पारवहन तथा व्यापारिक सम्बन्ध बलियो बनाउन योगदान दिएका थिए।

खाती बुटबल निवासी प्रसिद्ध साहित्यकार अजम्बरध्वज खातीका दाजु हुन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.