|

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्विप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने दाबी गरेका छन्। 

आइतबार काठमाडौंमा आयोजित एक अन्तर्कियामा नेता रावलले प्रधानमन्त्री ओलीले ह्विप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताए।

संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको ह्विप मान्न नपर्ने पनि रावलले बताए। त्यसरी निकाल्न केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको बताए।

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि उनले बताए। ‘दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले, समानुपातिक सांसद हटाइदिन्छु। उहाँलाई हटाउँछौं अब हामी। बहुमत केन्द्रीय कमिटीको बैठक गरेर उहाँलाई कारबाही गर्छौ हामी यो बुझिराख्नुस्,' उनले भने। 

पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्त अनुसार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष स्वतः आधिकारिक पार्टी रहेको दाबी पनि नेता रावलले गरे।

निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने पनि उनले केपी ओलीलाई चुनाैती दिए। नेपाल कम्युनिष्ट पार्टी नेकपाको विधान, नेकपाको संसदीय दलको विधान, नेपालको कानुन र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अनैतिक र असंवैधानिक रहेको भन्दै ओलीको राजनीति पुनः सोही दल र हैसियतबाट नटिक्ने पनि उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.