गुल्मी : शिलान्यसपछि लामो समय निर्माण कार्य अघि नबढेको रेसुंगा विमानस्थलको काम पछिल्लो समय तीव्ररुपमा अघि बढेको छ। उक्त विमानस्थल तत्कालीन नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रदीप ज्ञवालीले २०६३ असार २५ मा शिलन्यास गरेका थिए।
पछिल्लो समयमा विमानस्थलको टर्मिनल भवन र धावन मार्ग निर्माणको कामले तीव्रता लिएको विमानस्थल निर्माणका प्राविधिक दिनेश परियारले बताए। टर्मिनल भवन निर्माणको जिम्मा पाएको बिकोइ श्रेष्ठ जेभीले काम गरिरहेको छ। २०७६ चैत ४ मा भएको सम्झौताअनुसार विमानस्थलको निर्माण २०७८ असोजमा सम्पन्न गर्नुपर्नेछ। चार करोड पाँच लाख रुपैयाँ लागतमा निर्माण हुने विमानस्थल तोकिएको समयमा नै सकिने ठेकेदार कम्पनीले जनाएको छ।
यस्तै, धावनमार्ग निर्माणको ठेक्का रौताहा हरि हरि जेभीले लिएको छ। अहिले धावन मार्गको सब बेशको कार्य निर्माणको काम भइरहेको परियारले बताए। रौताहा हरि हरि जेभीले गत कात्तिकमा निर्माण सम्पन्न गर्ने गरी सात करोड पाँच लाख रुपैयाँमा सम्झौता भएको थियो। समयमा काम सम्पन्न नभएका कारण जेठसम्मका लागि म्याद थप भएको छ। कोरोनाका कारण समयमै काम सम्पन्न गर्न नसकेको रौताहा हरि हरि जेभीका प्रमुख सन्तोष भुसालले बताए। उनले थप भएको समयमै काम सम्पन्न गर्ने दाबी गरे।
विमान स्थलको घेराबारको काम सम्पन्न भइसकेको छ। कुल ९१ लाख रुपैयाँमा घेराबारको काम मौसम हरिष निर्माण सेवा डोल्पाले सम्पन्न गरेको हो।
विमानस्थलको निर्माण कार्य सम्पन्न हुँदा ३५ करोड रुपैयाँ खर्च लाग्ने परियारको भनाइ छ। विमानस्थलको धावनमार्गको लम्बाई ५२० मिटर र चौडाई २० मिटर हुनेछ। विमानस्थलको क्षेत्रफल कुल १५६ रोपनी छ। तीमध्ये ७९ रोपनी अधिग्रहण गरिएको हो भने बाँकी जग्गा सार्वजनिक जग्गा रहेको रेसुंगा नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष पदम अर्यालले जानकारी दिए।
यस विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको विमानल परीक्षण उडान गरेको थियो। आगामी दसैंदेखि नियमित उडान भर्ने लक्ष्य लिएको अर्यालले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।