झलनाथ भन्छन् : सबैसँग छलफल गरिरहेका छौँ

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरेको छन्। प्रधानमन्त्री ओलीद्वारा विघटन भएको संसद् सर्वोच्चले पुनःस्थापना गरेपछि अरू दलसँगको सहमतिमा पुनः प्रस्ताव दर्ता गर्ने तयारी थालेको हो। 

प्रधानमन्त्री ओलीविरुद्ध अहिले दर्ता भएको प्रस्ताव हामीले मात्रै गरेको हुनाले अब संयुक्तरूपमा जाने बारेमा छलफल भइरहेको नेकपा वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। 

‘पुस ५ गते हामीले मात्रै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थियौँ। तर, अहिले संयुक्तरूपमा जानको लागि कांग्रेस र जसपासँग छलफल भइरहेको छ’ उनले थाहाखबरसँग भने। 

प्रधानमन्त्रीको कदमविरुद्ध सबै दलले विरोध गरेको हुनाले अविश्वासको प्रस्तावमा पनि प्रतिपक्षी दलबाट सहमति हुने उनको विश्वास छ। कांग्रेस र जसपाले तपाईंहरूसँगको सहकार्यमा पनि आनाकानी गरिरहेका छन् नी भन्ने प्रश्नमा उनले भने, ‘हामीले सबैसँग छलफल गरिरहेका छौँ। सकारात्मक दिशातर्फ अगाडि बढिरहेको छ।’

प्रचण्ड-माधव पक्षले दर्ता गरेको अविश्वासको प्रस्तावमा प्रधानमन्त्रीमा प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेको छ। यता, प्रचण्ड–माधव पक्षले कांग्रेस र जसपासँग सहकार्यको हात बढाएपछि अर्को प्रधानमन्त्री आउने भएकाले प्रस्तावलाई फिर्ता लिएर संयुक्तरूपमा अगाडि जान खोजेको हो। 

प्रधानमन्त्री ओलीले संसद् विघटनपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई संसदीय दलको नेताबाट मात्रै नभएर पार्टी साधारण सदस्यबाटै हटाइसकेका छन्। तर, ओलीले पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘वैधानिक रूपमा मैले संसदीय दलको बैठकमा बोलाउँछु। विधि र पद्धतिको कुरा गर्ने तपाईंहरू बैठकमा आउनुहोस्।’

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा २३ गते ४ बजेका लागि संसद् अधिवेशन बोलाइएको उल्लेख छ। गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद् बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि पहिलो पटक हिउँदे अधिवेशन सुरु हुँदैछ। अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने सम्भावना छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.