सूचनाबिनै पाटी काटिँदा सयाैं उपभोक्ता मारमा

|

झापा : नेपाल खानेपानी संस्थान भद्रपुरको मनपरीले नगर क्षेत्रका उपभोक्ता मारमा परेका छन्। 

खानेपानी पाइप लाइन विस्तारको नाममा संस्थानले अग्रिम सूचनाबिनै पानी बन्द गर्न थालेपछि नगर क्षेत्रका सयौँ उपभोक्ताको धारामा सोमबार बेलुकादेखि पानी छैन। संस्थानले पानी बन्द गरेपछि नगर क्षेत्रका २६ सय बढी उपभोक्ता यसको प्रत्यक्ष मारमा परेको छ।

चाराआली केचना सडक खण्डअन्तर्गत भद्रपुरको सगरमाथा चोकदेखि झापा चोकसम्म सडक दुवै किनारमा नयाँ खानेपानी लाइन विस्तार गर्दैछ। करिब ५ किलोमिटर सडक खण्डको दुवैपट्टि पाइप लाइन विस्तार भइसकेको संस्थानका पानी वितरण शाखा प्रमुख राजु बस्नेतले जानकारी दिए।

उनले भने, ‘पुरानोबाट नयाँ पाइपमा जडान गर्दा पानी बन्द गर्नु परेको हो, आज गिरी चोकमा पाइप लाइन जडानको काम हुँदै छ।’

संस्थानले यसअघि पनि पटक–पटक उपभोक्तालाई सूचना नै नदिई मनपरी ढङ्गले पानी बन्द गर्दै आइरहेका थियो। संस्थानले पानी बन्द गर्नुअघि एक/दुई दिन अगाडी नै सार्वजनिक रुपमा सञ्चारमाध्यमबाट त्यस विषयमा उपभोक्तालाई जानकारी गराउनुपर्ने स्थानीय उपभोक्ता तथा झापा उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष सन्तोष धमलाले बताए। तर, संस्थानको लापरबाहीले गर्दा घरमा पानी भण्डारण गर्न पाएका छैनौँ, अहिले पानी नहुँदा नगर क्षेत्रमा पानीको हाहाकार मच्किएको छ,' उनले आक्रोश पोखे।

संस्थानले भद्रपुरका एक स्थानीय एफएमलाई आज बेलुका पानी बन्द गर्नुपर्ने सूचना उपलब्ध गराएको छ। एफएमले त्यो सूचना बजाउनुभन्दा अघि नै संस्थानले पानी बन्द गरिसकेको थियो। 

पानी बन्द भइसकेकोले त्यो सूचनाको कुनै अर्थ नै नभएको स्थानीय उपभोक्ताले गुनासो पोखे। संस्थानले आज पहिलो पटक सञ्चारमाध्यमलाई सूचना दिएको हो। यसअघि संस्थानले पानी बन्द गर्दा सञ्चारमाध्यमलाई कुनै सूचना दिएका थिएनन्। 

यता संस्थानका प्रमुख सन्तोष रौनियारले पाइप लाइन विस्तार भइरहेकोले पानी बन्द गर्नु परेको जवाफ दिए। उपभोक्तालाई पहिलै सूचना नदिई एक्कासि पानी बन्द गर्नुभयो भन्ने थाहाकर्मीले राखेको प्रश्नमा संस्थान प्रमुख रौनियारले भने, ‘सूचना पहिलै दिनुपर्ने हो, हामीबाट गल्ती भयो, पानी विस्तारको काम मङ्गलबार गर्ने भनिएको थियो, तर आजै गर्नुपर्यो।’ 

‘उपभोक्ताको समस्यालाई मध्यनजर गरी भोलि र पर्सि समय मिलाएर दुई घण्टा पानी दिने प्रयासमा हामी लागि परेका छौँ,’ उनले भने।’ राति पनि पाइप लाइनको काम भइरहेको उनको भनाइ छ। संस्थानले मंगलबार बिहान ८ बजेदेखि बुधबार बेलुका ५ बजेसम्म पानी बन्द गर्ने सूचना जारी गरेको छ। तर, संस्थानले एक दिनअघि नै पानी बन्द गरिएको छ। 
  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.