|

मकवानपुर : माझी समुदायले लदी पर्व भव्य सांस्कृतिक कार्यक्रम सहित मनाउँदैछन्। माझी बसोबास रहेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका र बागमती गाउँपालिकामा पानीको पुजा गर्दै माझी समुदायले लदी पर्व मनाउँछन्।

माझी समुदायको बाक्लो बस्ती रहेको बकैया गाउँपालिकामा आज वृहत सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदान प्रदान कार्यक्रम गरिँदैछ। पानीसँग सम्बन्धित पेशा गर्ने माझी समुदायले खोलामा बोका–पाठी र परेवालाई बलि दिएर पानी पूजा गर्दैछन्।

बकैयाको  विभिन्न सातवटा बस्तीमा बसोबास गरेका माझी समुदाय बकैया गाउँपालिका वडा नम्बर ४ स्थित सिमातखोलामा भेला भई संयुक्त रुपमा पानी पूजा गर्दैछन् भने बकैया ४, जुरेलीस्थित चौरमा आयोजित बृहत सांस्कृतिक प्रदर्शनी पनि गर्दैछन्।

अति सिमान्तकृत आदिवासी जनजातिमा पर्ने माझी समुदायले लदी पर्वलाई आफ्नो मुख्य पर्वका रुपमा मनाउने गरेको कृपा माझीले बताइन्। उनका अनुसार मकवानपुरमा करिब दश हजार जनाको सङ्ख्यामा माझी समुदाय रहेका छन्। 

यसैबिच,माझी समुदायको पर्व लदीका अवसरमा बकैया गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। माझी समुदायको बसोबास रहेकाले उनीहरुको धर्म, संस्कृति संरक्षणका लागिसार्वजनिक बिदा दिइएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिए। फागुन ६ गतेको बसेको कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.