भौतिकमन्त्री रामेश्वर फुयाँललाई गिज्याउने सडक

|

काठमाडौं : संघीय सरकारको राजधानी काठमाडौं सहर नजिकैको जोरपाटी-साँखु सडकखण्डको थली क्षेत्रमा कालोपत्रेको माग राख्दै थलीवासीले २०७६ जेठ २८ मा टायर बालेर सडक अवरुद्ध गरे। कागेश्वरी मनोहरा नगरपालिका र स्थानीयबीच तत्काल बाटोको हिलो सोर्ने, ग्राबेलिङ र सडक पीच गर्न सम्बन्धित निकायमा पहल गर्ने सहमति भएपछि स्थानीयले आन्दोलन फिर्ता लिए।

सहमतिपछि थलीका कल्पना भट्टराईलाई लागेको थियो- अब धुलाम्मे र हिलाम्मे सडकबाट मुक्ति पाइने भयो। तर, सहमति भएको दुई वर्ष पुग्नै लाग्दा पनि सडक कालोपत्रे हुन सकेन। समस्या ज्यूँका त्युँ छ। थलीको मिलनचोक बसपार्कमा कल्पनाको लुगा र फलफूलको पसल छ। धुलोले पसलका लुगा हेरिसाध्य छैन। बिहानदेखि बेलुकासम्म मास्कले उनलाई छोड्न सकेको छैन। उनले पनि मास्कलाई छोड्न सकेकी छैन। 

‘अघिल्लो वर्ष नै सडक पीच हुनुपर्ने हो,’ उनले भनिन, ‘तर,सडक पीच भएन। धुलोले दिउँसोभरि खप्न सकिँदैन। धुलोले कपडा हेर्न सकिँदैन। धुलोकै कारण फलफूल खान लायक देखिँदैन।’ धुलोले गर्दा स्वास्थ्यमा समेत असर देखिँदै गरेको उनले सुनाइन।

‘पानी कहिले काहीँ मात्रै हाल्छन्। धुलोले दिउँसै वारिको पारि देखिँदैन। काठमाडौं सहरको नजिकैको ठाउँको हालत यस्तो छ। बालबालिका र मलाई रोग लाग्ने भयो। सडक पीच त गरिदिए हुन्थ्यो नि‚’ उनले भनिन्। समयमा सडक नबन्दा स्थानीय मात्रै होइनन्,त्यस क्षेत्रमा पुग्ने जो कोही धुलोले आजित हुन्छन्। दिउँसै रात भएको अनुभूति हुन्छ।

पटक-पटक आन्दोलन भयो, बनेन सडक

स्थानीयले २०७६ जेठ २८ गते वर्षौैदेखि अलपत्र सडकको पीच गर्न माग राख्दै टायार बालेर सडकमा प्रदर्शन गरे। २०७६ असार पहिलो साता आन्दोलित स्थानीयले थलीमा चक्का जाम गरे। युवाहरुले मसाल जुलुस समेत निकाले। उनीहरुको माग एउटै थियो– सडक कालोपत्रे।

तर, अहिलेसम्म माग पूरा भएको छैन। सोही क्षेत्रका रामेश्वर फुयाँल बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री छन्। उनी मन्त्री भएको एक वर्षभन्दा बढी भइसकेको छ। तर, उनले अहिलेसम्म सडक कालोपत्रे गर्न पहलकदमी गरेको नदेखिएको स्थानीयको गुनासो छ। 

पाँच वर्षमा पनि नबनेको सडक 

चाबहिल-साँखुको १२ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने र दुवैतर्फ फुटपाथ तथा दुई–दुई मिटरको अपांगमैत्री गरी २२ मिटर बनाउने कार्य २०७२ मा अघि सारिएको हो। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार सडक निर्माणका लागि एक अर्ब ७५ करोड रुपैयाँ बजेट छट्ट्याइएको छ।

सडक निर्माणका लागि बज्रगुरु/च्याङमिला/खानी जेभी, युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु/विरुवा/खानी जेभी, बिटी/सुनकोसी/वर्ल्डवाइड जेभी कम्पनीसँग सम्झौता भएको छ। पछि लामा समानान्तर ठेकेदार थपिएको छ।

सम्झौताअनुसार २०७४ सम्म उक्त सडक विस्तारको काम सकाउनुपर्ने हो। तोकिएको अवधिमा काम नसकिएपछि २०७६ असार मसान्तसम्म म्याद थपिएको थियो। तर, थपिएको म्याद सकिँदा पनि अहिलेसम्म सडक बन्न सकेको छैन। 

घरधनीले घर नभत्काएका कारण अहिले मापदण्ड घटाएर चुच्चेपाटीदेखि मुलपानीको क्रिकेट रंगशाला उकालोसम्म करिब चार किलोमिटर सडक कालोपत्रे भएको छ। नारायणटार र दक्षिणढोकामा पनि सडक पूरा पीच गरिएको छैन। थली उकालोदेखि इन्द्रायणी, ब्रम्हखेल‚ साँखु क्षेत्रको करिब पाँच किलोमिटर सडक अहिलेसम्म सडक पीच हुन सकेको छैन। 

आयोजना भन्छ : जेठसम्म बाँकी सडक पीच हुन्छ

उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले आगामी जेठसम्म सडक कालोपत्रे गरिने बताउँछन्। उनले भने, ‘पहिलाभन्दा अहिले धेरै काम भएको छ। उपलब्ध चौडाईमा सडक कालोपत्रे गर्छौं।’

उनका अनुसार अहिले थली लगायत अन्य सडकमा ढल हाल्ने‚ ग्राबेल हाल्ने काम तीव्र गतिमा भैरहेको छ। घरको मुआब्जा विवादका कारण समयमा सडक बनाउन नसकिएको आयोजनाको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.