|

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन्। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक वर्षअघि सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको एक भव्य समारोहकाबीच मंगलबार दिउँसो प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्। 

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, सहरी विकास मन्त्री प्रभु साह, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्वमन्त्री महेश बस्नेतसहित राष्ट्रिय कलाकारको सहभागी थियो। झापासहित पूर्वका क्यान्सरपीडित बिरामीलाई मध्यनजर गरी बिएण्डसी अस्पताल परिसरमै पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको हो। 

पूर्वमा क्यान्सर अस्पताल नहुँदा साबिक मेची अञ्चलवासी क्यान्सरको उपचार गराउन नेपालकै अन्य जिल्ला वा भारत जानु पर्ने बाध्यता थियो। झापामै क्यान्सर अस्पताल सञ्चालनमा आएपछि यहाँको बिरामीलाई अहिले राहत मिलेको छ।

करिब ६ सय करोड रुपैयाँको लागतमा निर्माण गरिएको क्यान्सर अस्पतालको क्षमता तीन सय शय्याको भए पनि हाल एक सय शय्या सञ्चालनमा रहेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिए।

तीन सय शय्याको स्वीकृति पाएको सो अस्पतालमा क्यान्सर उपचारका लागि आवश्यक रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत सम्पूर्ण सेवा उपलब्ध रहेको छ। गत वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको सो अस्पतालले एक वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ। 

अस्पतालमा पेट स्क्यान, एमआरआई, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण अमेरिका र जर्मनीबाट मागेको हो। यो उपकरण नेपालको कुनै अस्पतालमा जडान नगरिएको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्किने र फागुन २१ गते फेरि झापा आउने कार्यक्रम छ। फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको झापामा अविस्मरणीय दिन मानिन्छ। सुखानी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री आउने जनाइएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.