|
Photo : Joseph Eid\AFP

काठमाडौं : सिसा फुटेका झ्‍याल र भत्किएका सटरमार्फत सिरियाको एलिप्पोस्थित महोमद्द मोहिडिनको बेडरुममा थोरैमात्र प्रकाश छिर्छ। धुलो र धुवाँ कोठाभर छ। बेडको छेउमा उनी बसेका छन्। हातमा पाइप छ। तम्बाखु भरिएको पाइप तान्दै उनी सीडी प्लेयरबाट बजिरहेको गीत सुन्दैछन्। 

एएफपीका फोटोग्राफर जोसेफ इदले खिचेको यो फोटो अहिले सामाजिक सञ्‍जालमा भाइरल छ। मार्च ९ मा प्रकाशित भएको यो फोटोले द्वन्द्वग्रस्त एलिप्पोको अवस्था झल्काउँछ। गृहयुद्धका कारण तहस-नहस भएको यो शहरमा मानिसहरुलाई साना कुरामा रमाउने बानी परिसकेको छ। 

फोटोमा देखिएका ७० वर्षीय महोमद्द मोहिडिन अबु ओमरका नामबाट पनि चिनिन्छन्। अबु ओमर कारका सौखिन हुन्। उनी सन् १९७० मा मेडिकल पढ्नका लागि स्पेनको जारागोजा शहर पुगेका थिए। त्यसपछि इटलीको टुरिन आए, जहाँ उनले फियाट कारको इटालियन म्यानुअललाई अरबी भाषामा ट्रान्सलेट गर्थे।

गृह युद्धअघि 'एलिप्पो' सिरियाको आर्थिक राजधानी भनेर चिनिन्थ्यों। युरोपबाट फर्किएर यही शहरमा उनले व्यापार सुरु गरे। 'मिला रोबिन्सन' नामक कस्मेटिक उद्योग खोले। तर उनको सौख सधैं कार नै रह्यो।

आफ्ना बाबुबाट पाएको '१९५० पोनटिया' कार चढेर उनी एलिप्पोका शहर चहार्थे। यो कार अहिले पनि उनीसँग सुरक्षित छ। उनी १९५० को दशकका अमेरिकी कारहरु सजाउन मन पराउँछन्। उनीसँग जर्मन भल्क्सवागन र फ्रेन्च चिट्रोइन २ सिभी भ्यान पनि छन्।

युद्ध सुरु हुनअघि उनीसँग यस्ता ३० वटा कार थिए। जब युद्ध सुरु भयो। त्यसपछि एलिप्पो शहर कहिले विद्रोही त कहिले सरकारको कब्जामा जान थाल्यो। उनले संग्रह गरेका कारहरु ध्वस्त हुन थाले।

'हेर्नुस् त यी रोइरहेकी छिन्। मेरो सहयोग मारिरहेकी छिन्।' सन् १९५५ को कार देखाउँदै अबु ओमरले भन्छन्,'म कारलाई निकै माया गर्छु। उनीहरु महिलाजस्तै हुन्छन्। सुन्दर र बलिया।' अनिसका २ श्रीमती छन्। एउटी एलिप्पोमा छिन् भने अर्की हामामा छिन्। उनका ८ छोराछोरी छन्।

अहिले उनले जम्मा गरेका कारहरुमध्ये २० वटामात्रै बाँकी छन्। १० वटामध्ये केही कार चोरी भए। केही ध्वस्त भए। बाँकी रहेकामध्ये केही क्षतिग्रस्त छन्। १३ वटा कार उनले घर अगाडिको बगैंचामा सजाएका छन्। रोड ब्लक गरेका कारण पुलिसले ७ वटा कार लगेको छ।

कार किन्‍नका लागि विदेशीहरुले उनीसँग प्रस्ताव समेत गरेका छन्। तर उनी बेच्‍न तयार छैनन्। ''यो मेरा बच्चाहरुका लागि हो। म मुस्लिम कानूनअनुसार यो उनीहरुलाई हस्तान्तरण गर्छु। प्रत्येक छोराहरुलाई २-२ वटा र छोरीहरुलाई १-१ वटा,' विदेशीको प्रस्ताव अस्विकार गर्नुको कारण खोल्दै उनले भने।

अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम एएफपीले उनीसँग गत फेब्रअरीमा पनि अन्तरवार्ता गरेको थियो। तर १ वर्षपछि सिरियाको अवस्था फेरिएको छ। गत डिसेम्बरयता: एलिप्पो शहरमा सिरिया सरकारले पूर्ण नियन्त्रण जमाएको छ। बन्दुकहरु मौन छन्। जनतामा आशा जागेको छ।

'मेरो विगत धेरै खुसीपूर्ण थियो। अहिले धेरै परिवर्तन भैसकेको छ। अब जीवन कठिन छ। तर हामीले आशा मार्न हुँदैन,' युद्धअघि र पछिको अवस्थाबारे ओमर भन्छन्। उनको जस्तै परिस्थितीमा एलिप्पोवासीहरु छन्। घरहरु भत्किएका छन्। रोडहरु बिग्रिएका छन्। तर जीवन चलेको छ।

एएफपीका बेरुत व्युरो प्रमुख सामी केट्ज र फोटोग्राफर जोसेफ इदले भर्खरै एलिप्पो शहर भ्रमण गर्ने क्रममा उनको नयाँ फोटो खिचेका हुन्। फोटोग्राफर जोसेफ इदले भनेका छन्,'अब ओमरको जिन्दगीमा दैनिक खुसी ल्याउने एउटै चीज बाँकी छ। फोटोमा देखिएको सिडीं प्लेयर किनकी यो चलाउनका लागि नियमित विद्युतको आवश्यकता पर्दैन्।'

फोटो खिच्‍ने समयमा पाइपमा भरिएको तम्बाखु तान्दै ओमरले कुन गीत सुनेका थिए त? फोटोग्राफर इदले भनेका छन्,' उनी सिरियाका चर्चित गायक मोहमद्द डिया अल डिनको गीत सुनिरहेका थिए। आफ्नो विगतसँग ओमर निकै नजिकबाट जोडिएका छन्। आफ्ना लागि मुल्यवान् र प्रेमिल विगत संझदै थिए। त्यो विगत विना उनले आफ्नो पहिचान गुमाउनेछन्।'

'त्यसैले उनी चुपचाप बस्छन् र आफ्नो जिन्दगीमा फेरि पछाडी फर्कन्छन्,' इदले अबु ओमरसँगको भेटबारे भनेका छन्।

सिरियामा गृहयुद्ध सुरु भएको ७ वर्ष पुग्‍नै लागेको छ। तर यो युद्ध अन्त्य हुने छाँट देखिएको छैन्। भाइरल बनेको फोटोले सिरियालीहरुले सामना गर्दै आएको अवस्था बाहिरी विश्‍वलाई बुझाउन महत्वपूर्ण काम गरेको छ। 'यो फोटोले मानिसको हृदय छुन्छ।' फोटोग्राफर इदले भने,' जब जिन्दगीका कुनै समस्या वा अवरोधसँग आत्मसममर्पण गर्ने मनस्थितिमा पुग्छु। म सधैं अबु ओमरले पाइपमा तम्बाखु सल्काएर भत्किएको खाटमा बस्दै आफ्नो मनपर्ने गीत सुनेको फोटो संझनेछु।'

  • एजेन्सीहरुको सहयोगमा अन्वेषण अधिकारी 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.