|

काठमाडौं : सरकार र प्रतिबन्धित विप्लव समूहबीच वार्ता भइरहेको छ। हिजो एक चरण अनौपचारिक वार्ता गरेका दुवै पक्षका वार्ता टोली आज बिहानैदेखि निरन्तर औपचारिक वार्तामा बसिरहेका छन्। 

स्रोतका अनुसार काठमाडौंकै एक सरकारी भवनमा कडा सुरक्षा घेराबीच वार्ता भइरहेको हो। वार्ता स्थल गोप्य राखिएको छ। वार्ता भाँडिन सक्ने भएकाले एकैपटक निष्कर्षमा पुगेपछि मात्रै सार्वजनिक गर्ने तयारी गरिएको स्रोतको भनाइ छ। वार्तामा विप्लव समूहका मागमा छलफल भइरहेको छ। विप्लव समूहले प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ परका आफ्ना नेता कार्यकर्ता रिहा हुनुपर्ने लगायतका माग अघि सारेको छ। 

सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो। त्यसलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएको थियो। 
भूमिगत रहेको विप्लव समूहका वार्ता टोली हिजै कडा सुरक्षाका बीच काठमाडौं भित्रिएको हो। सिके राउतसँग जस्तै विप्लव समूहसँग पनि एकैपटक सहमति गरेर सार्वजनिक गर्ने गृहकार्यमा सरकारी वार्ता टोली लागेको स्रोतको दाबी छ। 

तराई मधेशलाई अलग्गै राज्य बनाउनुपर्ने भन्दै पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउत सरकारसँग ११ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा आएका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.