|

मनाङ : हिमाल पारिको जिल्ला मनाङमा स्थापना गरिएको स्याउ भण्डारण गर्ने शीत भण्डार बन्द भएको महिनौं भयो। माग अनुसार विद्युत आपूर्ति नहुँदा मनाङ एग्रो फार्म बन्द भएको थियो।

करोडौं रुपैयाँ लगानी गरी स्थापना गरिएको फार्ममा माग अनुसारको विद्युत आपूर्ति हुन नसकेपछि शीत भण्डार बन्द गरिएको थियो।  उक्त फार्म पुन: संचालनमा आउने भएपछि मनाङ एग्रोका संचालक सोमराज गुरुङको मुहारमा हाँसो छाएको छ।

वर्षौंदेखि स्थानीय लघु जलविद्युतको भरमा बसेका मनाङबासीको घर-घरमा पहिलोपटक ३३ केभीए क्षमताको राष्ट्रिय प्रसारण लाइनबाट प्रवाहित बिजुली जोडिएको छ। विद्युत जोडिएसँगै गुरुङलगायत उद्योगी मात्र होइन-सरकारी कार्यालय, अस्पताल र पर्यटन व्यवसायी समेत प्रत्यक्ष लाभान्वित भएका छन्। 

वि.सं २०६७ सालमा साना जलविद्युत विभागले मनाङ जिल्लामा पोल गाड्ने काम थालेको थियो। आर्थिक वर्ष २०७२/०७३ मा नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय पोखराले कामलाई निरन्तरता दिएको थियो।

हरेक जिल्लामा राष्टिय प्रसारण लाइन पुर्‍याउने नेपाल सरकारको नीति अनुसार नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक २०७६ जेठ २२ गते बसेको थियो। सो बैठकले मनाङ वितरण केन्द्र स्थापना गर्ने निर्णय लिएको थियो। 

अहिले वितरण केन्द्र मनाङ बाट पहिलो चरणमा चामे गाउँपालिका र नासु गाउँपालिकाको करिव ६ सय घरधुरीलाई लक्षित गर्दै मिटर वितरण शुरू गरिएको केन्द्रका प्रमुख मिलन सुवेदीले बताए। यसअघि मनाङमा राष्ट्रिय प्रसारणको लाइन जोड्ने पटक-पटकको प्रयास असफल भएको थियो।

उचाइ, आद्रता र अत्याधिक हिमपातको कारण विद्युत चार्ज हुन नसकेको सुवेदी बताउँछन्। उनी भन्छन्, ‘लामो समय अध्ययन गरेपश्चात परम्परागत शैलीको पोर्सिलेन इन्सुलेटर परिवर्तन गर्‍यौं र त्यसको विकल्पमा फाइबर इन्सुलेटर हालेपछि लाइन चार्ज भयो।’

अहिले मनाङको चामे गाउँपालिका–२ मा ३३/११ केभीको १.५ एमभीए क्षमताको सब स्टेशनबाट पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली प्रवाह भएको छ।

राष्ट्रिय प्रसारणको बिजुली मुञ्जे, मनाङ, खाङ्सार हुँदै तिलिचो बेस क्याम्पसम्म पुर्‍याउने कार्य अन्तिम चरणमा पुगेको प्रशासन शाखा प्रमुख गुप्त ब. रानाले बताए। 

लाइन प्रसारण विस्तार भएसँगै जिल्ला अस्पतालमा एक्सरे र ल्याब लगायत सामान्य सेवा सहजै प्रवाह गर्न सकिने भएको छ। सरकारी कार्यालयमा सामान्य फोटोकपीको कारणले समस्यामा परेका सेवाग्राहीलाई सहज हुने भएको छ। यता विद्यालयमा कम्प्यूटर शिक्षामा सुधार आउने विश्वास लिइएको छ। 

भोल्टेज नपुग्ने समस्याले यसअघि पर्यटकलाई विद्युतीय उपकरणको सेवा प्रदान गर्न नसकिएको र अहिले यो लाइनको विस्तारसँगै सजिलो हुने होटल व्यवसायी बताउँछन्।

‘मोबाइल चार्ज गर्न पनि पर्यटकले पालो कुर्नुपर्ने अवस्था थियो’, साङ्ग्रिला होटलका संचालक सेती गुरुङले भनिन्‌, 'अब त पर्यटकले आफ्नै मेसिन प्रयोग गरेर कफी बनाउन सक्नेछन्। उनीहरूको इच्छा अनुसारको विद्युतीय उपकरण प्रयोग गर्न सहज भएपछि पर्यटकलाई खुशी बनाउन पाउनेछौं।’ 

नयाँ प्रविधिको फाइबर इन्सुलेटर जडान गर्न २०७७ असोज २० गते जय कालिका भगवती/असुतोष इनफ्रा जे भीसँग ठेक्का सम्झौता भएको थियो। ७२ लाख ८२ हजार ३४ रुपैयाँ १५ पैसामा ठेक्का सम्झौता भएको उक्त कार्य एक वर्षभित्र सम्पन्न गर्नुपर्ने भएपनि ८ महिनामै सकिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.