१५ दिनभित्र जवाफसहित हाजिर हुन आदेश

|

झापा : फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनप्रति प्रदेश तथा स्थानीय सरकारले उदासीनता देखाएको भन्दै उच्च अदालत विराटनगर इलाममा रिट निवेदन परेको छ। 
उच्च अदालतमा परेको रिटमा पहिलो सुनुवाइ गर्दै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर १ विराटनगर, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकालाई १५ दिनभित्र अदालतमा जवाफसहित कारण देखाऊ आदेश जारी गरेको छ। उच्च अदालत एकल इजलासका न्यायाधीश विष्णुप्रसाद कोइरालाले सोमवार उक्त आदेश जारी गरेको हो। 

निवेदक मेचीनगर नगरपालिका-७ निवासी होमनाथ प्रसाईंले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर १, भद्रपुर, बिर्तामोड र मेचीनगरलाई विपक्षी बनाएर अदालतमा रिट निवेदन दर्ता गरेका हुन्।

निवेदकका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ र हेमकला कट्टेलले बहस गरेका थिए।

'यसमा के कसो भएको हो? निवेदकको निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सोको सबुद प्रमाणसमेत संलग्न राखी विपक्षी नम्बर २, ३ र ४ को हकमा आफैँ वा कानून बमोजिमको प्रतिनिधिमार्फत र विपक्षी नम्बर १ को हकमा उच्च सरकारी वकिल कार्यालय, इलाम मार्फत १५ दिनभित्र लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४१(२) बमोजिम म्याद जारी म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु,' आदेशमा उल्लेख छ।

फोहोरमैला व्यवस्थापनमा नगरपालिकाले चरम लापरबाही देखाएको भन्दै मेचीनगर–७ का होमप्रसाद प्रसाईं र भद्रपुर–९ का कमलप्रसाद राजवंशीले केही दिनअघि मात्र नगरपालिकालाई ध्यानाकर्षण गराउँदै लिखित पत्र बुझाएका थिए। तर नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा कुनै चासो नदेखाएपछि अदालतसम्म पुगेको प्रसाईंले जानकारी दिए।

झापा जिल्लाकै प्रसिद्ध व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकाले पूर्व पश्चिम राजमार्ग सडक छेउमा नगरमा सङ्कलित फोहोरमैला जथाभाबी फाल्दै आएको छ। मेचीनगर नगरपालिकाले पनि राजमार्गको किनारमा फोहोर फाल्ने काम गरिरहेको छ।

सडक किनारमा मनलाग्दी फोहोर फाल्दा वातावरण प्रदूषणले सडक आसपासका स्थानीय मारमा परेका छन्। त्यस्तै भद्रपुर नगरपालिकाले पनि फोहोरमैला मेची नदी किनारमा लगेर जथाभाबी फाल्दै आइरहेको छ।

नदी किनारमा आएको हावाहुरीले ती फोहोरमैला नजिकैको बस्ती घरमा पुग्न थालेपछि त्यहाँ स्थानीयले पटक पटक विरोध जनाइसकेको छ। तर, नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा कुनै चासो देखाएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.