|

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले सदर चिडियाखाना जावलाखेलमा रहेको एकसिंगे गैंडाको अभिभावकत्व ग्रहण गरेका छन्।

चिडियाखानामा वन्यजन्तुको अभिभावकत्व अभियानको ओलीले ले शुभारम्भ गरेका हुन्। अब नेपाल सरकारले एक वर्षसम्म गैंडाको लागि सम्पूर्ण खर्च बेहोर्ने उनले बताए।

उक्त गैंडाका लागि ११ महिनासम्म सरकारले र १ महिना प्रधानमन्त्री ओली स्वयंले अभिभावकत्व लिनेछन्। 

राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना व्यवस्थापन गरेको २५ वर्ष पूरा भएको अवसरमा यो अभियानको शुभारम्भ गरिएको हो। एकसिंगे गैंडा विश्वमै दुर्लभ प्राणीका रुपमा लिइन्छ।

पछिल्लो पटक सन् २०१५ मा गरिएको गैंडा गणनामा पर्सादेखि शुक्लाफाँटासम्मका चार वटा निकुञ्जमा ६४५ गैंडा भेटिएका थिए। गणनामा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैंडा पाइएको थियो।

कोरोना भाइरस संक्रमणका बेला चिडियाखाना बन्द हुँदा त्यहाँका वन्यजन्तु र प्राणीलाई संरक्षण गर्न नै कठिन परेको थियो। त्यसबेला विशेषगरी जनावरलाई खाना खुवाउन नै आर्थिक समस्या परेको व्यवस्थापक डा चिरन्जीवी पोखरेलले बताएका थिए।

अहिले चिडियाखाना (६ हेक्टर) १ सय २० रोपनी जग्गामा ११२ प्रजातिका १०६८ वन्यजन्तु छन्। यी प्रजातिमध्ये ३३ स्तनधारी, ६१ पक्षी, ८ उभयचर र १७ माछा छन्। 

प्रधानमन्त्री ओली अघिल्लो कार्यकालमा प्रधानमन्त्री हुँदा चीन सरकारलाई उपहार स्वरुप २ जोडी एकसिंगे गैंडा नै दिएका थिए। जसमा एउटा गैंडाको भने मृत्यु भइसकेको छ।

२ वर्षअघि भदौमा चीनको सांघाई वाइल्ड एनिमलपार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितिनी’ गैंडामध्ये सोल्टीको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथावन्यजन्तु संरक्षण विभागले जनाएको छ।

विभागका एक कर्मचारीका अनुसार सोल्टी गैंडा पेटको समस्याले मरेको बताइएको छ। नेपालले ‘सोल्टी’ र ‘मितिनी’ भन्दा पहिले ‘रुपसी र भद्र’नामको एक जोडी गैँडालाई  चिमे लङ सफारी पार्कमा पठाएको थियो। 

यसैबीच, नेपालमा पछिल्लो समय लोपोन्मुख मानिएका केही वन्यजन्तुको संख्या वृद्धि भए पनि तिनीहरुको बासस्थान र आहाराका कारण चुनौती थपिएको छ।

घाँसे मैदान र तालहरुको विनास हुँदै जाँदा हात्ती संरक्षणमा भने केही चुनौती थपिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलोजिस्ट हरिभद्र आचार्यले बताए।

यस्तै बाघका लागि आवश्यक आहारा कमी हुँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको विज्ञहरु बताउँछन्। आज विश्व वन्यजन्तु दिवसको सन्दर्भ पारेर चिडियाखानामा कार्यक्रम राखिएको कोषका सदस्य सचिव शरदचन्द्र अधिकारी बताउँछन्। 

दिवसको यस वर्षको नारा ‘जंगल र जीविकोपार्जनः प्राणी र पृथ्वीको दीर्घकालीन अवस्थिति’ रहेको छ। विश्वका वन्यजन्तु तथा वनस्पतिको दिगो संरक्षणका लागि जनचेतना फैलाउन सन् २०१३ को डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्रसंघको महासभाबाट हरेक वर्ष मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउने घोषणा भएको थियो।

वन्यजन्तु चोरी शिकारी, पैठारीका साथै तस्करहरुको सक्रियताले नेपालमा पनि धेरै जनावर र विरुवाहरु विनाश हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.