|

काठमाडौं :  कोभिड १९ महामारीको एक वर्षभन्दा लामो बन्धन गुजारेपछि मानव समुदायले बिस्तारै उन्मुक्तितर्फ पाइला चाल्न थालेको छ।

गएको साताबाटै हाम्रा घर आँगनमा पनि वसन्त ऋतुको आगमनसँगै मौसम परिवर्तनका संकेतहरु देखिन सुरु भइसकेका छन्। अनि यतिबेलै नेपथ्यले आफ्ना दर्शकहरुसँग आमनेसामने साक्षात्कार गरेको पनि ठीक एक वर्ष लागेको छ।

भूकम्पको कारण क्षतिग्रस्त बन्न पुगेको दोलखाको एक सरकारी विद्यालय निर्माणार्थ गत वर्षको फागुन १७ गते नेपथ्यले आफूलाई प्रस्तुत गरेको थियो। भृकुटी मण्डपमा आयोजित त्यो कन्सर्ट नै कोरोना महामारी अगाडि ब्याण्डको अन्तिम प्रस्तुति बन्न पुग्यो।

यो एक वर्ष श्रृष्टिले भाइरस र मानवजातिबीच कठोर लडाइको कथा रच्यो। हामी सबैका जीवन अन्योल र अनिश्चितताबीच गुज्रिए। नेपथ्यका अगुवा एवं गायक अमृत गुरुङले यो सिंगो वर्ष कास्कीस्थित आफ्नो पुख्र्यौली गोठमा साधारण कृषक भएर बाँच्दै प्रकृतिको खेललाई नियाले। अब समय फेरि बदलिने संकेत सुरु भएको छ।

बदलिँदो समयसँगै फरक नेपाली पुस्ताहरुका बीच उत्तिकै लोकप्रिय रहँदै आएको ब्याण्ड नेपथ्यले अब फेरि सांगीतिक माहोललाई निरन्तरता दिने अठोट लिएको छ। यसको सुरुवात गर्दै नेपथ्यले आफ्नो एउटा सर्वकालिक हिट गीतको ‘लाइभ भिडियो’ तमाम श्रोता दर्शकसामु प्रस्तुत गर्दैछ। सबैले सधैं सुन्दै आएको र प्रत्येकजसो कन्सर्टमा गुञ्जिने गरेको त्यो गीत हो –

जीवन हो घाम छाया, सुख दुःख दुवै हुन्छ’

परिस्थितिसँग लडेर बाँच्नु नै मानव जीवनको यथार्थ हो। यो यात्रामा आउने राम्रा र नराम्रा दुवै क्षणलाई स्वाभाविक मानेर स्वागत गर्ने अनि एकअर्काप्रति समभाव जगाउने भावना यस गीतले बोकेको छ। यो गीत नेपथ्यले दुइ दशकअघि उसको प्रसिद्ध अल्बम ‘रेशम’मा समेटेको थियो।

पोखराका संगीतकर्मी श्यामसुङ तामाङले यस गीतलाई तयार पारेका हुन्। 

‘गीतको रेकर्ड गर्नुअगावै पनि हामी साथीभाइको जमघटमा यसलाई गाउने गर्थ्याैं,’ गायक अमृत गुरुङ सम्झन्छन्, ‘असाध्यै मन परेको र प्रभाव पार्दै आएको गीत भएकाले यसलाई नेपथ्यका निम्ति रेकर्ड गर्ने सोच बनायौं।’

तर, त्यतिबेला गीतका रचयिता श्यामसुङले अनुमति दिएनन्। ‘आफ्नो ब्याण्डको गीत भएको हुनाले नगरौं दाइ भनेका थिए,’ गुरुङ सम्झन्छन्,‘त्यसपछि तामाङको समूहले यो गीत रेकर्ड गरेर सार्वजनिक पनि गर्यो। 

यति राम्रो सिर्जनालाई त्यत्तिकै मर्न दिइनु हुँदैन भनेर मैले फेरि दोश्रो पटक उनलाई अनुरोध गरेँ।’ यस्तो अवस्थामा दोस्रो पटक भने उनीबाट पाएको अनुमति अनुसारै गीतको रेकर्डिङ गरिएको अमृत सम्झन्छन्।

‘अनुमति पाएसँगै गीतलाई नेपथ्यका टोली बसेर सुन्यौं,’ गुरुङले सम्झे, ‘त्यसपछि तत्कालीन गितारवादक नरेशले नेपथ्य पारामै नवीनता थपेर यसको एरेन्जमेन्ट अघि बढाएका थिए।’

यसरी तयार भएको गीत पहिलेभन्दा सरल हुँदाहुँदै अझ बढी मार्मिक बन्नपुग्यो। ‘यसका शब्द पनि पहिलेभन्दा बेग्लै ढंगले सुस्तरी बग्न थालेको थियो,’ गुरुङ भन्छन्, ‘त्यसैगरी भित्रैसम्म प्रभाव छाड्दै अघि बढेको महसुस भयो।’

गीतमा ‘यो जिन्दगानी, यो जिन्दगानी’ असाध्यै शक्तिशाली अन्तराका रुपमा विकास भयो। अहिले पनि कन्सर्टहरुमा नेपथ्यका दर्शकहरुले यस अन्तरालाई चर्को स्वरमा गाएर सघाइरहँदा बेग्लै माहोल तयार भइरहेको देख्न सकिन्छ।

कन्सर्टहरुमा प्रायः दर्शकले उत्पन्न गर्ने आवाजलाई पनि कसरी समेट्ने भन्ने प्रयास संगीतकर्मीहरुले गर्ने गर्छन्,’ गुरुङ भन्छन्, ‘गीतलाई नेपथ्यले तयार पार्दा अन्त्यतिर तालीको यस्तो सामन्जस्य मिलाइएको छ, जसलाई कन्सर्टको बेला दर्शक प्रतिक्रियाले जहिल्यै जीवित पारिदिन्छ।’

यो गीत नयाँ पुस्ताका स्रोहरुको निम्ति नयाँ गीत हुन सक्छ तर अमृतसँगै पाको हुँदै गएकाहरुको निम्ति भने एउटा लामो कालखण्डको सहयात्रा स्मरण गराउने माध्यम हो।

यस गीतको अडियो भिजुअल यसअघि पनि तयार भएको थियो। झण्डै डेढ दशकअघि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आयोजित नेपथ्यको कन्सर्टका बेला अपाङ्गता भएका दर्शकहरुको प्रतिक्रियालाई समेटेर यो गीतको भिडियो बनाइएको थियो।

पछिल्लो पटक भने यस गीतलाई गत वर्ष भृकुटी मण्डपमा प्रस्तुत गर्दा त्यहाँ उपस्थित स्रोता दर्शकको प्रतिक्रियालाई नै समेटेर यो नयाँ ‘लाइभ भिडियो’ तयार पारिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.