|

काठमाडौं :  सुरुमै उपचार गर्न सके क्यान्सर रोग पूर्ण निको हुन्छ। त्यसको लागि रोगको पहिचानसहित विशेषज्ञ चिकित्सको सेवा आवश्यक पर्छ। नेपालमा धेरै चिकित्सकहरू शहर केन्द्रित हुँदा बिरामीहरू विज्ञहरूको भेट नै ढिलो हुँदा धेरै बिरामीले समयमै उपचार नपाउनु पनि प्रमुख समस्या रहेको पाइन्छ।

नेपालमा धेरै विज्ञ चिकित्सकहरू शहर केन्द्रित रहेरै सेवा दिइरहेको पाइन्छ। विशेषज्ञ चिकित्सहरू त विरलै मात्रामा मोफसलमा रहेर सेवा दिन्छन्। मोफोसलमै रहे पनि क्लिनिकहरू धाउन पाउने उद्द‍ेश्यले अलि शहरी इलाकामा  बस्न रुचाउँछन् चिकित्सकहरू।

तर, यो सबै चीजहरूलाई छोडेर मोफसलमा त्यो पनि एउटा मात्र  अस्पतालमा सेवा दिइरहेका डाक्टर हुन क्यान्सर रोग विशेषज्ञ डा वीरेन्द्र यादव। झापाको प्रस्तावित बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजको परिसरमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पालको मेडिकल डाइरेक्टरसमेत रहेका ३४ वर्षीय डा यादव  मोफसलमै रहेर सेवा दिइरहेका छन्।

अस्पतालमा जाने जोकोही बिरामीसँग पनि सहजरूपमा नै पस्तुत हुने उनको विशेषता हो। हरेक दिन बिहान आठ बजेदेखि बेलुका सात बजेसम्म उनी अस्पताल परिसरमै हुन्छन्। 'बिहान आठ बजे घरबाट निस्कन्छु बेलुकीसम्म नै यहीँ हुन्छु यहाँभन्दा बाहिर कतै सेवा नदिने भएकाले पनि म यहाँ बिरामीलाई समय दिन भ्याएको छु' उनी भन्छन्।

मेदान्त छोडेर मोफसल

 सिराहाको मध्यम वर्गीय परिवारमा जन्मेका डा यादवले गाउँकै सरकारी स्कुलबाट एसएलसी पास गरे र चीनबाट एमबिबिस तथा भारतको चन्डिगढ विश्वविद्यालयबाट एमडी गरेका उनले भारतको प्रतिष्ठित अस्पतालमा मेदान्तमा समेत काम गरे।

त्यहाँ काम गर्दा उनले नेपालमा क्यान्सरको उपचार गर्न जाने बिरामीहरूले उपचारमा गर्न जाँदा कत्ति धेरै समस्या झेल्छन् भन्ने राम्रोसँग बुझेका थिए। उनले भने, 'यहाँबाट क्यान्सरको उपचार गर्न जाँदा त्यहाँ नेपालीहरूले कति धेरै समस्या भोग्छन् भन्ने मैले राम्रोसँग देखेको थिएँ, जसले गर्दा पनि मलाई नेपालमा आएर सेवा दिने इच्छा आएको हो।'

पाँच वर्ष अगाडि मेदान्तमा सेवा दिइरहेको बेला उनी बिदामा घर आउँदा झापा घुम्‍न आएको बेला उनको भेट प्रस्थावित  बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग भयो। भेटमा प्रसाईंले उनलाई आफूले क्यान्सर अस्पताल खोल्न लागेको र त्यसमा सेवा दिन आग्रह गरे त्यही भेटले उनलाई नेपालमा आएर सेवा दिने मौका मिलेजस्तो लागेको र मेदान्त छोडेर यहाँ आएको उनले बताए।

उनले भने, 'मेदान्त जस्तो अस्पताल छोडेर यहाँ त्यो पनि एउटा सानो सहरमा बन्न लागेको अस्पतालमा सेवा दिन्छु भनेर आउने निर्णय सुनाउँदा धेरैले अचम्म पनि मान्नुभयो मैले पनि जोखिम मोलेर यहाँ आएको हुँ तर अहिले धेरै खुसी छु।' सुरुमा मेदान्त छोडेर आउँदा केही सुभचिन्तकले नराम्रो माने पनि अहिले सबै खुसी भएको उनको बुझाइ छ।

 यसकारण मोफसल नै रोजे

 क्यान्सर एक जटिल रोग हो तर समयमा नै पत्ता लागेर उपचार गर्न सके यो पूर्ण ठिक हुन्छ तर हाम्रो देशमा धेरै चिकित्सकहरू शहर केन्द्रित छन्। जसले गर्दा ग्रामीण भेगका बिरामीहरू समयमा अस्पताल पुग्न सक्दैनन्।

यसरी ढिलो गरेर विज्ञ भएको ठाउँमा पुग्दा समस्या जटिल भइसकेको हुन्छ त्यही भएर पनि बिरामीलाई सहज ठाउँमा सेवा  दिनुपर्ने भावले आफूले मोफसल नै रोजेको उनी बताउँछन्। 

'सुरुमा म यहाँ बसेर सेवा दिन्छु भन्दा परिवारले पनि राम्रो मान्नु भएको थिएन तर म पूर्ण छात्रावृत्तिमा पढेको हुँदा मलाई पैसा कमाउनभन्दा पनि सेवा नै दिनुपर्छ भन्ने भाव थियो जसले गर्दा म यहाँ बसेको हुँ।'

काठमाडौंबाटै आउँछन् बिरामी

मेदान्त छोडेर यहाँ आउँदा सुरुमा आफूलाई पनि गल्ती गरेँ कि जस्तो लागे पनि अहिले अस्पताल र यहाँ आउने बिरामीको चाप देखेर आफूले राम्रो निर्णय गरेको रहेछु भन्ने उनलाई अनुभव भएको बताउँछन्।

अहिले काठमाडौं भारतस्थित सिलगुडी, सिक्किमसहित सीमावर्ती क्षेत्रबाट दैनिक बिरामी आउँदा अस्पताल र आफ्नो टिमप्रतिको विश्वास देख्दा खुसी लाग्ने उनले बताए।  'राम्रोसँग सेवा दिन सके जहाँ बसेर सेवा दिए पनि हुने रहेछ अहिले हाम्रोमा काठमाडौंबाटै रिफर भएका बिरामी आउँछन्।'

क्यान्सरका बिरामीलाई उपचार मात्रै हैन परामर्शका लागि पनि उनकै आवश्यक हुँदा आफूले सकेसम्म बिरामीलाई धेरै समय दिने उनले बताए। अहिले दैनिक उनको ओपिडीमा ५०/६० जना बिरामी आउने उनी बताउँछन्। हाल अस्पतालमा उनीसहित १७ जना विज्ञ चिकित्सकहरू छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.