|

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । 

राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा पार्टीका वार्ता टोली सदस्यहरुले ३ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सरकार र विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीबीच देशको राजनीतिक समस्याहरु वार्तामार्फत समाधान खोज्ने, नेकपाले राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाई कारागारमा भएका नेता कार्यकर्ताको रिहाइ गर्ने सहमति भएको हो ।

सहमति पत्रमा भनिएको छ ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ । नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिवन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पुर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ । ’

हस्ताक्षर कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो । सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने दिपक सम्मिलित वार्ता टोली बनाएको थियो ।

दुवै तर्फका वार्ता टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता गरि विहीबार सहमति गरेका थिए । सोही सहमतिलाई शुक्रबार विशेष समारोहका बीच हस्ताक्षरसहित सार्वजनिक गरिएको हो ।

हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार भट्टराईले विगत एक वर्षदेखिको निरन्तरको प्रयास पछि वार्ता निष्कर्षमा पुगेको स्पष्ट पारे । 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.