दाउराबाट दैनिक ३० शव जलाइँदै

|

काठमाडौं : कोरोना महामारी शुरू भएसँगै पशुपति आर्यघाटमा शवदाह घट्यो।

साविक अवस्थामा दैनिक ३० वटा शव जलाइने गरिएको यहाँका घाट र विद्युतीय शवदाह गृह (क्रिमोटेरियम) मा महामारी शुरू भएसँगै शव ल्याउन निकै कम भएको थियो।

सबैतिर लकडाउनको प्रभावले मृत्यु संख्यामा कमी आएको भनेर चर्चा भएको र सडक दुर्घटनामा समेत कमी आएकाले भएकोले मृत्युदर घटेको सरोकार निकायले जानकारी दिएका थिए।

महामारी मत्थर हुँदै गएपछि पछिल्लो समय अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ। लकडाउनको समयमा परीक्षण र उपचार गर्न नपाएकाहरू अहिले अस्पताल पुग्न सकेका छन्‌।

​काठमाडौं उपत्यकाका विभिन्न अस्पतालका अनुसार अस्पतालमै मृत्यु हुनेको संख्या अहिले बढिरहेको छ। पशुपति आर्यघाटमा पनि दैनिकजसो अस्पतालमा मृत्यु भएका करिब ५ वटा शव दाह गर्न ल्याउने गरिएको छ।

मुलुकभर लकडाउन खुलेसँगै पशुपति आर्यघाटमा शव अन्त्येष्टि गर्न आउनेको संख्या बढ्दै गएको हो। फागुन महिना लागेपछि दैनिक ३० वटा शव जलाउन ल्याउने गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोरोना संक्रमण बढेसँगै नेपालमा लकडाउन भएको थियो। सो समयमा भने मृत्युदर कमी भएकोले आर्यघाटमा शवको संख्यामा कमी आएको थियो। पछिल्लो ८ महिनामा करिब ६ हजार शवको अन्त्येष्टि भएको विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।

संक्रमितको शव क्रिमोटेरियममा दाह

कोरोना संक्रमितको शव विद्युतीय शवदाह गृहमा जलाउने गरिएको छ। अहिलेसम्म १७ सयभन्दा धेरै कोरोना संक्रमितको शव घाटमा जलाइएको छ। 

संक्रमणबाट मृत्यु भएकाहरूको शव विद्युतीय मेसिनबाट अन्त्येष्टि गर्ने र अन्य कारणले मृत्यु भएकाको शव घाटमै जलाउने क्रम बढिरहेको कोषका निर्देशक डा. खतिवडाले जानकारी दिए।

आर्यघाटमा फागुन १२ गते ४८ वटा शवको अन्त्येष्टि गरिएको थियो। गर्मी मौसममा भन्दा जाडो मौसममा शव अन्त्येष्टि बढ्ने गरेको विकास कोष अन्तर्गत घाट शाखाका एक कर्मचारीले बताए।

विद्युतीय शवदाह गृहमा हालसम्म १७ सय ६ संक्रमितको शव अन्त्येष्टि गरिएको छ। नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार  दाउरामा नजलाउन भनिएकाले संक्रमितको शव अन्त्येष्टि गर्न विकास कोषले जेठ महिनादेखि उक्त स्थान उपलब्ध गराउँदै आएको छ।

यस्तो छ शुल्क

घाटमा शव दर्ता शुल्क २ सय रुपैयाँ लाग्छ।

यस्तै, वातावरण शुल्कबापत भष्मेश्वर चिता १ नम्बर देखि १० सम्म १ हजार, आर्यघाट चिता नम्बर १ र २ मा ५ हजार र चपरी खन्ने शुल्क ४ सय रुपैयाँ लाग्छ।

बच्चा १० वर्ष सम्मको शवदाह शुल्क ७ सय र खाडल खन्ने सेवा शुल्क ७ सय रुपैयाँ लाग्छ। कोषले ठूला सन्न्यासी र दशनामीको शव अन्त्येष्टि गर्न खाडल खन्ने शुल्क १२ सय रुपैयाँ लिने गरेको छ।

कामपा ७,८ र ९ भित्रबाट शव बोकेर ल्याई शवदाह गर्नेलाई १५ सय, घाटदेखि ५ किलोमिटर टाढाबाट शव ल्याई अन्त्येष्टि गर्ने कामदारलाई १८ सय, ५ किलोमिटरभन्दा बाहिरबाट शव बोकेर ल्याई अन्त्येष्टि गर्नेलाई २ हजार र शव वाहनमा सहयोगी सेवा शुल्क १५ सय रुपैयाँ तोकिएको छ।

घाट शाखाका अनुसार शव जलाउने व्यक्तिलाई ज्याला १५ सय र दाउरा बोक्नेलाई ६ सय रुपैयाँ दिने गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.