अवलोकन गर्न प्रधानमन्त्री ओली जाँदै

|
फाइल फोटो

काठमाडौं : आयोजना निर्माण थालिएको झन्डै दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरुङ हुँदै आज काठमाडौंस्थित सुन्दरीजलमा आइपुग्दैछ।

​२६ किलोमिटर लामो सुरुङमा फागुन १० गते हुलिएको पानी सुन्दरीजलमा झरेको हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नै जाँदैछन्‌। २०५१ मा मध्यावधि चुनावताका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले 'काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने' भन्दै वाचा गरेका थिए। 

वि.सं. २०५८/५९ देखि आयोजना निर्माण थालिएपनि निरन्तर ढिलाई र भ्रष्टाचार गर्दै काठमाडौं उपत्यकाका नागरिकलाई आशाको अंकुशमा उनिरहेको राज्यसंयन्त्रले बल्लतल्ल, झण्डै दुई दशकपछि काठमाडौंमा पानी झार्न लागेको हो।

सिन्धुपाल्चोकबाट सुरुङमार्फत पठाइएको पानी झार्न तयार पारिएको स्थान सुन्दरीजलमा प्रशोधन केन्द्र बनाइएको छ। यहाँ २६ किलोमिटर लामो सुरुङमा सिन्धुपाल्चोकबाट हुलिएको पानी झर्नेछ। 

सुरुङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ। अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ। परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन्‌।

​सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन्‌।​

गत असारमा पनि सुरुङ परीक्षण गरिएको थियो। परीक्षण क्रममा सुरुङको ढोका खुल्दा दुर्घटना भएको थियो। मानवीय क्षतिसमेत भएको दुर्घटनापछि समितिले त्यहाँ रहेको त्रुटि सच्याएर पुनः परीक्षण गरेको हो।

पानी वितरणका लागि आवश्यक संरचनाको निर्माण आयोजना कार्यन्वयन निर्देशनालयले गरेको छ भने वितरणको काम काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.