|

काठमाडौं  अमेरिकाले नेपालबाट चोरिएको एउटा महत्त्वपूर्ण मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ। ललितपुरको पाटनबाट हराएको लक्ष्मी-नारायणको मूर्ति शुक्रबार अमेरिकाको वासिङटनस्थित नेपाली दूतावासमा एक कार्यक्रम गरी मूर्ति नेपालका राजदूत डा.युवराज खतिवडालाई अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबिआई) का टिमोथी एन ड्युनह्यामले नेपालका लागि हस्तान्तरण गरेका हुन्। 

अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतको विदेश अपराध अनुसन्धान हेर्ने कार्यालय, नेपाल प्रहरी, एफबिआई र डल्लास म्युजियम अफ आर्टको महिनौँको संयुक्त अनुसन्धानपछि लक्ष्मी-नारायणको मूर्ति फेला परेको थियो।

अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो। म्युजियमले मूर्ति गत नोभेम्बर ३० मा एफबिआईलाई हस्तान्तरण गरेको थियो।

लक्ष्मी-नारायणको काँस्य मूर्ति (जसलाई वासुदेव-कमलाजा समेत भनिन्छ) १२औँ र १५औँ शताब्दीबीचको पुरातात्विक सम्पदा हो। सन् १९८४ मा हराउनुअघि पाटनमा उक्त मूर्तिको पूजा हुने गरेको थियो। नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ।

हराएको छ वर्षपछि लिलाम बिक्री भएको उक्त मूर्ति पछि डल्लास म्युजियम अफ आर्टलाई अस्थायी रूपमा उपलब्ध गराइएको थियो। एक परियोजनाका लागि नेपालबाट चोरिएका कलाकृतिको खोजी गर्ने कार्यमा संलग्न कलाकार जोय लिन डेभिसले दुई वर्ष पहिले इमेज सर्च (तस्बिर खोजी) का माध्यमबाट उक्त मूर्ति डल्लास म्युजियम अफ आर्टमा रहेको तथ्य फेला पारेका थिए। त्यसकै प्रतिफलस्वरूप उक्त मूर्ति पत्ता लागी फिर्ताको चरणसम्म पुगेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.