|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई समेट्ने नाममा चुनाव भाँड्ने षड्यन्त्र भइरहेको बताएका छन्। मेची महाकाली राष्ट्रिय अभियानको समापनपछि कञ्चपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सरकार चुनाव भाँड्ने षड्यन्त्रको मतियार बनेको आरोप लगाएका छन्।

'२०७४ माघभित्र देशलाई स्वाभिमानी ढंगले अघि बढ्न नदिने परिस्थिति निर्माण गरिँदैछ। सरकार पनि यसको मतियार बनेको छ' ओलीले भने 'हाम्रो दबाबले वैशाख ३१ लाई स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। तर अहिले पनि सबैलाई समेट्ने गरी निर्वाचनमा जाउँ भनेर आकर्षक आवरणभित्र चुनाव भाँड्ने कुरा हुँदैछ।'

चुनाव नगर्नका लागि प्रधानमन्त्रीले पुस २२ गते स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन नबुझेको र पछि संख्या बढाएर ७ सय ४४ पुर्‍याइएको ओलीले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँगको कुराकानीमा स्थानीय तहको संख्या अझै बढाउन प्रस्ताव गरेको पनि उनले बताए। 'हामी ७ सय ४४ वटा स्थानीय तह तोक्दा मौन बस्यौं। यसको मतलब हामी सन्तुष्ट छौं भन्ने होइन। यति गरिँदिँदा निर्वाचन हुन्छ भने निर्वाचन हुन्छ भने किन नबस्ने भनेर चुप लागेका हौं' ओलीले भने 'आज विहान मात्र मैले प्रधानमन्त्रीसँग कुरा गरेँ उहाँ अझै थपौं भनिराख्नुभएको छ। यो चुनाव नगर्ने षड्यन्त्र हो।'

ओलीले प्रधानमन्त्रीसँग भएको कुराकानीबारे भने 'मैले उहाँलाई सोधेँ तपाई आफै षड्यन्त्र गरिरहनुभएको छ कि अर्काको षड्यन्त्रमा पर्नुभएको छ?'

अहिले स्थानीय तहलाई प्रदेश मातहतमा राख्नुपर्छ भनेर बखेडा झिकिएको भन्दै ओलीले यो चुनाव नगर्ने षड्यन्त्र भएको दावी गरे। 'स्थानीय तह केन्द्रको मातहतमा हुनुपर्नेमा प्रदेशको मातहतमा ल्याउनुपर्छ भनेर बखेडा झिकिएको छ। यो सबै षड्यन्त्र हो।'

मधेसी मोर्चाले संविधानसभाको ९० प्रतिशतले निर्माण गरेको संविधान नमान्ने र सरकारलाई कुनै पनि निर्णय गर्न नदिने परिस्थिति निर्माण गरेको भन्दै ओलीले सरकार पनि गलत ढंगले प्रयोग भइरहेको बताए। 'संविधानलाई बहुमतको दम्भ भन्ने अनि सरकारलाई कुनै पनि निर्णय गर्न नदिने र सरकारले उनीहरुलाई सोध्नुपर्ने वातावरण निर्माण गरिएको छ' ओलीले भने 'यो हेर्दाखेरि सरकार गलत ढंगले प्रयोग भइरहेको देखिन्छ। उनीहरु (मधेसी मोर्चा) लोकतन्त्र नमान्ने, निरंकुशता नमान्ने, आतंक सिर्जना गर्ने डामेर छाडेको साँढे भन्दा बढी भएका छन्।'

लोकतन्त्र कहाँ छ?

पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले कांग्रेसले प्रशासनको दुरुपयोग गरेको भन्दै आलोचना गरे। उनले नेपाली कांग्रेको आवरण र चिन्तनमा लोकतन्त्र कहाँनेर छ? भनी प्रश्न गरे।  विपक्षी दलका कार्यकर्तालाई झुट्टा मुद्दा लगाउने र आफ्नो कार्यकर्ताले गल्ती गरेपनि नदेख्ने गरेको उनले बताए। 'म्यादी डेढमहिने सरकारको उलामालामा लागेर प्रशासनको दुरुपयोग भइरहेको छ' ओलीले भने।  

तीनवटै तहको चुनाव गरेर संक्रमणकाल टुंग्याउनुपर्नेमा सरकार निरिह बनेको भन्दै ओलीले सरकारको आलोचना गरे। उनले स्थानीय तहको अधिकार कटाउने षड्यन्त्र भइरहेको पनि आरोप लगाए। 'स्थानीय तहको पदाधिकारीको अधिकार कटाउने पक्षमा सरकार लागेको छ। सरकारलाई दबाब दिइएको छ। त्यसमा लतारिएर नजानका लागि सरकारलाई आग्रह गर्दछु' उनले भने।  

भारतको छुल्याहा ब्यवहार

एमाले अध्यक्ष ओलीले भारतले छुल्याहा छिमेकीको ब्यवहार देखाएको बताए। 'जहाँ हाम्रा लागि प्रतिकुल छ, त्यहाँबाट सीमा पिल्लहरु उखेल्ने, भारतजस्तो ठूलो देशले सीमानामा किन लफडा गर्न चाहन्छ यो बुझ्न सकिएको छैन' उनले भने 'अहिलेको सरकार विचरा छ बोल्न सक्दैन।'

अध्यक्ष ओलीले भारतीय सुरक्षाकर्मीको गोली लागेर आनन्नदबजारमा नेपाली मारिएको घटनामा भारतले माफी माग्नैपर्ने बताए। 'घटनाबारे भारतले माफी माग्नैपर्छ, क्षतिपूर्ति दिनुपर्छ र आइन्दा यस्ता घटना गर्ने छैन भनेर प्रतिवद्धता जाहेर गर्नुपर्छ।' उनले नेपालीमाथि गोली चलाउने सुरक्षाकर्मीलाई कारबाही गर्नुपर्ने र छिमेकीलाई असजिलो पर्ने कुराबाट भारत टाढा रहनुपर्ने बताए। नेपाल भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन हुनुपर्छ भन्ने भनाइ आनन्दबजार घटनाले नै पुष्टी भएको ओलीले बताए।

एकीकरण अभियान

अध्यक्ष ओलीले मेची महाकाली अभियान मार्फत एमालेले भावनात्मक रुपमा मुलुकको एकीकरण गर्न चाहेको बताए। उनले बीच बीचमा अभियान विथोलेर मधेस केन्द्रित दलले आपराधिक गतिविधि देखाएको पनि बताए। उनले भने 'राजनीतिक गर्ने भए राजनीतिक आवरणमा आउन चुनौंती दिन्छु। माओवादीले १० वर्षे हिंसा मच्चाएर जनताले अस्वीकार गरेपछि शान्तिपूर्ण राजनीतिमा आएको कुरा सिक्न आग्रह गर्छु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.