|

कच्चा तेल उत्पादनमा लगाइएको नियन्त्रण हटाउन भारतले गरेको अनुरोधलाई ओपेक मुलुकले बेवास्ता गरिदिएका छन्। ओपेक पेट्रोलियम निर्यातक देशहरुको संगठन हो। 

साउदी अरबले त भारतलाई अघिल्लो वर्ष मूल्य सस्तो हुँदा किनेको तेल प्रयोग गर्न जवाफ फर्काएको छ। साउदीका ऊर्जामन्त्री अब्दुलाजीज बिन सलमानले भारतलाई यस्तो सुझाव दिएका हुन्। 

उनले भनेका छन्, 'अघिल्लो वर्ष अप्रिल, मे र जुनमा खरिद गरेको तेल स्टोरबाट निकालेर प्रयोग गर्दा हुन्छ।'

भारत सरकारका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले ओपेक देशको बैठकपूर्व कच्चा तेलको मूल्यमा स्थिरता ल्याउन उत्पादन प्रतिबन्ध हटाउन आग्रह गरेका थिए। तेलको भाउ बढ्दा भारतीय अर्थव्यवस्था सुधार गर्नसमेत अप्ठेरो परेको प्रधानले बताएका थिए।

समाचार एजेन्सी पीटीआइका अनुसार भारतले गत वर्षको अप्रिल र मे को बीचमा मात्रै १६ करोड ७१ लाख ब्यारेल कच्चा तेल खरिद गरेको थियो।

यो तेल भारतले विभिन्न ३ स्थानमा भण्डारण गरेर राखेको छ। सेप्टेम्बरताका पेट्रोलमन्त्री प्रधानले त्यतिखेर प्रतिब्यारेल १९ डलरमा तेल किनेको जानकारी दिएका थिए।

ओपेक मुलुकको संगठनमा साउदी अरब, युएई, इरान, इराक, कुवेत, लिबिया, भेनेजुएला, इक्वाटोरियल गुवाना, नाइजेरीया, अल्जेरीया, अंगोला, कंगो र गाबोन छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.