|

ओखलढुंगा : यहाँको स्थानीय तहका ७५ वटै वडामा स्वास्थ्य युनिट निर्माण र हरेक स्थानीय तहमा अस्पताल निर्माण कार्य धमाधम भइरहेको छ। स्थानीय तह पुनःसंरचनापछि हरेक वडाहरूमा स्वास्थ्य युनिट निर्माणको काम धमाधम भइरहेको हो। 

ग्रामीण बस्तीमा धमाधम स्वास्थ्य चौकी भवन बनिरहेपनि ती भवनमा आवश्यक उपकरण र कर्मचारी अभाव छ। पछिल्लो समय स्थापना भएका स्वास्थ्य युनिट र बर्थिङ सेन्टरमा उपकरण र दक्ष जनशक्ति अभाव भएको हो।

अनमी र हेल्थ असिस्टेन्टको दरबन्दी रहेका कतिपय स्थानमा समेत लामो समयदेखि दरबन्दी खाली नै रहेका छन्। ती स्वास्थ्य संस्थामा उपकरण र कर्मचारी अभाव हुँदा प्रभावकारी उपचार हुन नसकेको स्वास्थ्यकर्मीले नै गुनासो गरिरहेका छन्।

पुराना र जीर्ण भवन हटाइ करोडौँ रुपैयाँ खर्चेर भवन त बनाइएको छ, तर त्यहाँ न उपकरण छ, न त दक्ष जनशक्ति नै। उपकरणहरू पनि व्यवस्था गरिएको छैन।

प्राथमिक स्वास्थ्य केन्द्र वर्षौंदेखि चिकित्सकविहीन

​जिल्लाको पश्चिमी भेगमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसाथ स्थापना भएको रानीवन प्राथमिक स्वास्थ्य केन्द्र लामो समयसम्म डाक्टरविहीन रह्यो। डाक्टर नभएको समयमा नियमित उपचार सेवामै असर परेको रानीवन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी मदन कार्कीले बताए।

'हेर्दा चटक्क र राम्रो देखिने भवनमा उपकरण व्यवस्था गरी राम्रो सेवा दिनसके जनताले राम्रो मान्ने थिए, तर यहाँ दुर्गममा डाक्टर मात्र हैन, उपकरण पनि केही नहुँदा समस्या परेको छ,' कार्कीले भने। समस्याबारे पटकपटक जानकारी दि पनि माग पूरा नभएको उनले बताए।

आफूहरूले स्थानीय तह, स्वास्थ्य कार्यालय तथा मन्त्रालयमा माग गर्दा समेत दरबन्दी छिट्टै प्राप्त हुने आश्वासनभन्दा केही नपाएको चम्पादेवी गाउँपालिका–१० वडा अध्यक्ष उज्जन बुढाथोकीले बताए।

'गाउँका दूरदराजमा रहेका स्वास्थ्य संस्थामा भिडियो एक्सरे सहितको सेवा दिनसके जटिल समस्या हुने वा नहुने समयमै खबर गर्न सकिने र स्वास्थ्य चौकीको विश्वास अझै बढ्ने थियो, तर सम्बन्धित निकायले ध्यान नदिँदा स्थानीयलाई समस्या बढ्दै गएको छ,' बुढाथोकीले भने।

लामो समयदेखि प्राथमिक स्वास्थ केन्द्रका रूपमा रहेको रानीवनको स्वास्थ्य संस्थामा डाक्टरको दरबन्दी रहेको भए पनि यहाँ हेल्थ असिस्टेन्ट र अनमीको भर पर्नुपरेको उनले बताए। आफूले आजसम्म डाक्टरको अनुहार नदेखेको स्थानीयहरू बताउँछन्।

उपचार गर्न अन्यत्रै जानुपर्ने बाध्यता

बिरामी भइरहाले जिल्लाका अधिकांश स्थानबाट उपचारका लागि अन्यत्र जानैपर्ने बाध्यता रहेको छ।

जिल्ला सदरमुकाममा ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल रहेपनि दुगर्मका सर्वसाधारण उदयपुरको घुर्मी–कटारी, रामेछापको सदरमुकाम मन्थली तथा राजधानी काठमाडौं जानुपर्ने बाध्यता रहेको छ।

सरकारले हरेक स्थानीय तहमा चिटिक्क परेका स्वास्थ्य संस्थाका भवनहरू निर्माण गरिरहे पनि दक्ष जनशक्ति अभाव कायमै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.