ओखलढुंगा : सय गन्तव्य सुचिमा परेको ओखलढुंगाको देम्बा डाँडामा थोलेदेम्बा सांस्कृतिक महोत्सव तथा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।
३३ सय ५० मिटर उचाइमा रहेको देम्बा डाँडामा नयाँ वर्ष अवसरमा महोत्सव तथा भलिबल प्रतियोगिता हुने भएको हो।
'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, मनोरञ्जनका लागि खेलकुद, खेलकुद पर्यटन प्रबर्द्धनका लागि खेलकुद' भन्ने नारासाथ दावा एग्रो टुरिजम प्रा. लि.ले महोत्सव तथा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो।
आउँदो चैत २९ गतेबाट भलिबल खेलको शुभारम्भ हुने र वैशाख १ गते खेल समापन गरिने आयोजकले जनाएको छ। भलिबल प्रतियोगितामा नेपालभर बाट सहभागी हुन पाउने, तर सबै खेलाडी एउटै स्थानीय तहको हुनुपर्ने नियम राखिएको छ।
सो प्रतियोगितामा राष्ट्रिय खेलमा सहभागिता जनाइसकेका र छनोट परेका खेलाडीलाई सहभागी गराउन नपाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख नगद, द्वितीय हुने टीमलाई ५० हजार र तृतीय हुने टीमलाई शिल्ड २५ हजार रुपैयाँ नगद पुरस्कार व्यवस्था गरिएको छ। बिजेता टीमलाई शिल्ड, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
बैशाख १ गते सांस्कृतिक महोत्सव आयोजना गरिनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।