|

दमक :  पछिल्लो समय झापामा फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ। बजार क्षेत्रमा त फोहोर व्यवस्थापनको समस्या छँदै छ ग्रामीण क्षेत्रमासमेत फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन।

सरकारले करिब एक महिनाअघि गाडीबाट सार्वजनिक ठाउँ र सडकमा फोहोर फ्याँक्नेलाई कारबाही गर्ने नयाँ नियम लागू गरेको थियो। तर, पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने झापाका सहरहरुको फोहोर भने सडक किनारामै फालिने गरेको छ।

झापाका कुनै सहरहरुले  फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न सकेका छैनन्। स्थानीयले महिनौंदेखि सडक किनारामा थुपारेको फोहोरलाई नगरपालिकाले व्यवस्थापन नगर्दा पूर्व–पश्चिम राजमार्गमा पर्ने झापाको प्रमुख सहरहरु दमक, बिर्तामोड, चारआलीलगायत  साना सहरहरु दुधे, झिलझिले, केर्खाको फोहोर राजमार्गमा नै थुप्रिने गरेको हो।

नगरपालिकाले बजारबाट फोहोर उठाए पनि खोलामा लगेर फाल्ने गरेका छन्। जसले गर्दा वातावरण प्रदूषण बढ्दै गएको छ। नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा राजमार्गमा पर्ने चिया बगान, वन तथा खुला स्थानहरु समेत दुगन्धित र प्रदूषित बन्दै गएको छ।

बिर्तामोड नगरपालिकाले ज्यामिरगढीस्थित डम्पिङ साइटमा फ्याँक्दै आएको फोहोर स्थानीयवासीले फ्याँक्न नदिएपछि नगरपालिकाले नै राजमार्गमा पर्ने बिर्तामोड बसपार्क नजिकको चिया बगान, जंगलछेउ र राजमार्ग आसपासमा नै फोहोर फ्याँक्ने गरेको पाइएको छ।

चारआलीबाट उत्पन्न हुने फोहोर पनि दुवागढी गाविसले उद्योग वाणिज्य संघ चारआली शाखाको सहयोगमा राजमार्गमा पर्ने वनमा नै डम्पिङ गर्ने गरेको छ। यता दमक नगरपालिका क्षेत्रमा अभियान नै चलाएर सञ्चालन गरिएको दमक सरसफाइ अभियान यतिबेला निष्क्रिय हुँदा नगरक्षेत्रको राजमार्गमा पनि फोहोरको थु्रपो लाग्न थालेको हो। बजार क्षेत्रबाट निक्लिएको फोहोर पनि रतुवा खोलाको किनारामा लगेर फालिने गरेको स्थानीयले बताएका छन्।

नगरपालिकले दमकको फोहोर व्यवस्थापनको जिम्मा पाथ वे नेपाल प्रालिलाई दिएको छ। बजारको फोहोर उठाए पनि खोलामा लगेर फाल्दा यहाँका स्थानीयलाई प्रत्यक्ष असर परेको स्थानीय महेन्द्र श्रेष्ठले बताए।

उनले भने, ‘दमक नगरपालिकाबाट निक्लने सबै फोहोर खोला छेउमा फालिन्छ यसले यहाँको वातावरणमा नै असर गरेको छ।’ पहिला दमक १ स्थित रतुवा खोलाको किनारामा नगरपालिकाले फोहोर फालेको भए पनि स्थानीयले विरोध गरेपछि दमक २ मा लगेर फाल्न थालिएको उनले बताए। अहिलेको फोहोर फाल्ने नजिकै नगरपालिकाले नगरको फोहोर प्रशोधन केन्द्र बनाएको छ। गत कात्तिकदेखि नै सञ्चालनमा ल्याउने भने पनि यो प्रशोधन केन्द्र हालसम्म सञ्चालनमा आउन सकेको छैन।

दमक नगरपालिकाका वातावरण शाखा प्रमुख द्रोण थापाले यो महिनाको अन्त्य सम्ममा प्रशोधन केन्द्रलाई सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे।

उनले भने, ‘अहिले हामीले प्रशोधन केन्द्रनजिकै खाडल खनेर राखी राखेका छौं, यसलाई चाँडै व्यवस्थित गर्छौं।’

प्रशोधन केन्द्र कात्तिकदेखि नै सञ्चालनमा आउने भने पनि विभिन्न कारणले सञ्चालनमा आउन नसकेको उनले बताए। नगरबाट उत्पादन भएको फोहोरको उचित व्यवस्थपन नगरी गाविस परिसरमा फाल्दा बजार नै दुर्गन्धित बन्न पुगेको स्थानीयको भनाइ छ।

यता शिवसताक्षी नगरक्षेत्रमा पर्ने राजमार्ग आसपासमा पनि स्थानीयले फोहोर थुपार्ने गरेका छन्। सहरको फोहोर व्यवस्थापन नहुँदा होटल, अस्पतालहरुले पनि राजमार्ग किनारमा नै फ्याँकेका कारण प्रदूषण र दुर्गन्ध बढेको स्थानीयहरुको भनाइ छ।

केही वर्ष अघिदेखि नै फोहोर व्यवस्थापनका लागि दीर्घकालीन ल्यान्डफिल्ड साइड खोजी गर्दै आएको बिर्तामोड, शनिअर्जुन, र कन्काई नगरपालिकाले अझै यसको टुंगो लगाउन सकेको छैन। यहाँ रहेका शिवसताक्षी, कमल गाउँपालिका, चारआली लगायतका नगरपालिका, गाउँपालिका तथा संघसंस्थाका सरोकारवालाहरु पनि ल्यान्डफिल्ड साइट अभावकै कारण फोहोर व्यवस्थापनमा कठिनाइ भएको बताउँछन्।

राजमार्ग आसपास र बजारमा जताततै फोहोर फाल्नेलाई नगरपालिकाले कारबाही गर्ने बिर्तामोड नगरपालिका प्रशासन प्रमुख मेघराज बास्तोलाले बताए। उनले भने, ‘बजारमा अहिले फोहोर बढी रहेको छ, यसमा हामी अनुगमन गरिरहेका छौं, नियमविपरीत फोहोर फालेको पाइएमा हामी कारबाही गर्छौ।’

यसले राजमार्ग मात्रै फोहोर बनाएको छैन, संक्रमण फैलनसक्ने सम्भावना पनि उत्तिकै बढाएको विज्ञले बताउने गरेका छन्। नगरपालिका प्रशासनले बेलैमा फोहोर व्यवस्थापनको उचित समाधान निकाल्नुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.