|

कवि समाजको अङ्ग हो, त्यसैले कविता समाजबाट भिन्न हुन सक्दैन। कवि प्रकृतिको अंश हो, त्यसैले कविता प्रकृति निरपेक्ष हुन सक्दैन। कवि चेतनाको पुञ्ज हो, त्यसैले कविता विचारशून्य हुन सक्दैन। कविता कविको छवि हो, त्यसैले कविता कविभिन्न हुन सक्दैन। कविले पाएको संस्कार, ऊ हुर्केको समाज, उसले धारण गरेको विचार उसका कवितामा प्रतिबिम्बित हुन्छ। त्यसैले भनिएको हो, ‘साहित्य समाजको दर्पण हो।’

प्रतिरोध कार्की सोलुखुम्बुको प्रकृतिमा जन्मेर हुर्केका कवि हुन्। उच्च शिक्षाका लागि राजधानी छिरेका यिनी यतै कर्म गर्न थाले। जीवनका यन्त्रणाहरू झेल्दै र पन्छाउँदै कवि भए। यसबीचमा यिनले आपूm, समाज र देश चिन्ने अवसर पाए। यसैको प्रतिकृति हो, घामको पहाड। आशावादी चिन्तनका साथ कविता लेख्ने कवि कार्कीले सङ्ग्रहको नाम पनि चहकिलो आशायुक्त रोजेका छन्। लिपुलेकमा नेपाली राष्ट्रिय झण्डा गाडेर देशको भूमि फिर्ता ल्याउने उद्घोषका साथ अघि बढेको कविता यात्रा दासत्वबाट उन्मुक्तिको लागि सङ्घर्षको उद्घोषसँगै रोकिएको छ।

कविता कविकर्म हो। उसको अनुभूतिको शिल्पगत प्रकाशन हो। आफू बाँचेको समाज, आफूले भोगेको समय तथा भविष्यप्रतिको चिन्ता मात्र होइन, विगतका सुनौला क्षणहरूको प्रस्तुति पनि कवितामा मुखरित भएका छन्। ‘घामको पहाड’भित्रका तेत्तीसवटा कवितामा विषयगत विविधता छ।

समयको अनन्त प्रवाहमा मानिसका इच्छा, स्वार्थ तथा चेतना पनि प्रवाहित हुन्छन्। मानिसले आफूलाई हेर्छ अनि आफूमाथि शासन गर्नेलाई सम्झिन्छ। आफूलाई नियाल्छ अनि आफ्ना सपनाहरूमाथि गिर खेल्नेहरूलाई सम्झिन्छ। आफ्नो वर्तमान हेर्छ अनि विकसित मुलुकबाट आउने रेमिट्यान्सको हिसाब लगाउँछ। विदेशमा पोखेको पसिना, स्वदेशको पछौटेपन आदिले रुन्छ कवि र वर्तमान अँध्यारो देख्न थाल्छ।    

छेकिएको छ उज्यालो

बगरमा एक्लै उभिएको छ बूढो सिमल

उसलाई छाडेका छन् सुख्खा पत्करले

उकालो लाग्न सक्दैन बगर

अग्लिँदो छ कालो पहाड।

प्रतिरोध कार्कीले घामका कुरा गरेका छन्, चराचुरुङ्गी र बतासका कुरा गरेका छन्। भूकम्पको कम्पन कवि मनमा उसै गरी चल्दै छ। बाढीपीडितहरूको करुण क्रन्दनले मस्तिष्क हल्लाएको छ। कवि इतिहासको सत्य र त्यसको अकाट्य स्वरूपको चर्चा गर्छन्। मानिसले जति दम्भ गरून्, इतिहास बङ्ग्याउन सक्दैनन्, उलटपुलट भए पनि यसलाई भत्काउन वा बटार्न सकिँदैन भन्ने कुरामा कवि विश्वस्त छन्।

कविता कविकर्म हो। उसको अनुभूतिको शिल्पगत प्रकाशन हो। आफू बाँचेको समाज, आफूले भोगेको समय तथा भविष्यप्रतिको चिन्ता मात्र होइन, विगतका सुनौला क्षणहरूको प्रस्तुति पनि कवितामा मुखरित भएका छन्। ‘घामको पहाड’भित्रका तेत्तीसवटा कवितामा विषयगत विविधता छ।

जबसम्म तिमी

दासत्वलाई अस्वीकार गर्दैनौ

आफ्नो मृत्युमा गौरवबोध गर्ने छैनौ

जबसम्म आफ्नो आत्मालाई

मूर्खहरूको हातबाट खोस्न बल गर्ने छैनौ

अधिकारको नाममा दास बनिरहन्छौ

तबसम्म मृत्युको अर्थ मृत्यु मात्र हुनेछ।

अनेकथरि उक्साहट, क्षणिक आवेग तथा सीमित स्वार्थी वर्गको पछि लागेर मार्न र मर्न तत्पर नवीन दास पुस्तालाई अरूको स्वार्थका लागि बलि हुनु दासत्वको सबैभन्दा उपल्लो अवस्था भएको सम्झाउँछन् कवि। यस्तो मृत्युले गौरव अनुभव गर्दैन बरु दास हुनुको राम्रो प्रमाण दिन्छ।

परिवर्तनका लागि भनेर धेरै पटक जुलुसमा सहभागी भइएको र जिन्दावादको नारा लगाएको सम्झने कवि वर्तमानमा छट्पटाएका छन्। शासकीय दासताको जञ्जिरमा हामी यसरी बाँधिएका छौँ कि हाम्रो विवेक अर्काको इच्छामा निर्भर हुन थालेको छ। कर्मशील हातहरूलाई विदेशमा काम खोजिदिएर सरकार मस्त निद्रामा छ। देश बनाउन युवाहरूलाई विदेश पठाउने अनौठो संस्कारको विरोधमा कविको स्वर उग्र भएको छ। उनले खाडीमा पसिना बगाउने सान्दाजुको लागि स्वदेशमै काम मागेका छन्।

एउटा कुशल पाठकले कविताका पङ्क्तिहरुका बीचमा आपसी ताल, लय, तथा गतिको अपेक्षा अलि बढी गरेको हुन्छ। यस सङ्ग्रहका धेरै कविता आफ्नो यो गुण जोगाउन सक्षम छन्।

कविताले समातेको विषय राम्रो छ। विषयगत सघनता कवितासङ्ग्रहको अब्बल पक्ष हो। धेरै जैविक विम्बहरूको प्रयोग गरिएको छ। कविता कलाको विशिष्ट प्रस्तुति हो। खासमा आजको कविता अत्यन्त दुरुह बनेको छ। प्रयोगको नाममा, नवीनताको नाममा, भिन्न देखिने लोभमा कविताले आफ्नो शाख गुमाएको पनि छ। यस्तोमा प्रतिरोध कार्कीका कविताहरू सरल छन्। विम्ब प्रतीकको बोझिलो भारी छैन। कविताहरू सामान्य पाठकले पनि बुझ्न सक्ने भाषामा लेखिएका छन्।

हिउँको धूलोमा

मांसहारी पहाड छिचोल्दै

म मेरै काममा व्यस्त छु।

त्यसो त कविता कला हो। अभिधार्थमा भन्दा व्यञ्जनार्थमा कविता बढी रमाउँछ। सङ्ग्रहका केही कविता अभिधात्मक छन्। गद्य कवितामा सबैभन्दा बढी आवश्यक कुरा आन्तरिक लयको झङ्कार हो। एउटा कुशल पाठकले कविताका पङ्क्तिहरुका बीचमा आपसी ताल, लय, तथा गतिको अपेक्षा अलि बढी गरेको हुन्छ। यस सङ्ग्रहका धेरै कविता आफ्नो यो गुण जोगाउन सक्षम छन्।

राष्ट्रवादको सन्धिमा

कामुकता पहिरिँदै

विदेशी ह्विस्कीले नुहाउँछ

र, बिर्सन्छ आफ्नो पुरानो दरबार

बिर्सन्छ सगरमाथा।

साहित्यिक अभियन्ता कवि वैरागी जेठा तथा आकृति–प्रकृति प्रकाशनले एउटा राम्रो काम गरेका छन्– ‘घामको पहाड’ प्रकाशन गरेर। प्रस्तुत सङ्ग्रहमा प्रतिरोध कार्कीले आपूm बाँचेको समयको चित्र उतार्न, आगत र विगतको दुःख र कल्पना गर्न तथा आफ्ना छट्पटीहरुलाई निकास दिन कविता लेखेका छन्। धेरै कवितामा उनी राम्ररी अभिव्यक्त भएका छन्। केही कवितामा भन्न खोजेका छन् तर खुल्न सकेका छैनन्। सङ्ग्रहका कविताले सङ्केत गर्न खोजेका कुराहरू के हुन् भने यिनमा राम्रो कवित्व छ। आफ्नो कलमलाई नसुताई थप परिष्कार र परिमार्जनका साथ अझ अब्बल कविता लिएर आउनेछन् भन्ने विश्वासका साथ। शुभकामना।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.