|

काठमाडौं : नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले अहिले नै सरकारमा जाने-नजाने विषय महत्वपूर्ण नभएको बताएका छन्। सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले  यस्तो बताएका हुन्।

सरकार बनाउन साथ दिने जानकारी दिँदै उनले भने, 'सरकारसँग भएका तीनबुँदे सहमति कार्यान्वयनपछि अरु कुरा खुल्दै जान्छ।'

उनले संसदीय व्यवस्थामा देखिएका समस्या समाधान गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने गरी सरकार निर्माणमा सहयोग गर्ने पार्टीको नीति रहेको जानकारी दिए। 
 
'हामी सरकारमा नजाने भन्ने होइन। संसदीय व्यवस्थामा देखिएका समस्यालाई समाधान गरेर वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढ्ने गरेर सरकारलाई सहयोग गर्ने हो' उनले भने। सरकारसँग भएका सहमति कार्यान्वयन गर्दै देशको विकासमा सबै दललाई एकताबद्ध गरेर अघि बढाउने उनको भनाइ थियो। 
 
सरकारसँग गरिएको सहमति प्रारम्भिक कुरा भएको बताए। पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा, पार्टीका कार्यकर्ता रिहा  र नेकपाले देशको राजनीतिक समस्यालाई शान्ति पूर्णरुपमा छलफलका माध्यमबाट समाधान गर्ने विषयमा मात्रै सहमति गरेको नेता बास्तोलाको भनाइ थियो । 
 
'नेता कार्यकर्ता रिहाइको प्रक्रिया शुरु भएको छ। अब हाम्रो छलफल देशको राजनीतिक समस्या, आर्थिक समस्यालाई समाधान गर्ने विषयमा चल्छ' उनले भने। 

आफूसँग देशको समस्या समाधानका लागि बृहत् खाका रहेको दाबी गरे। आफ्ना नेता कार्यकर्तासँग हतियार नरहेको जनाउँदै उनले राजनीतिक दललाई त्यस विषयमा नआत्तिन आग्रह गरे।  'हामीसँग हतियार छैन। यस विषयमा कोही आत्तिनुपर्दैन' उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.