|

 

उसले त भनी सुर्योदयको देशबाट–

‘यहाँका कुकुर पो कुकुर जस्ता अनि मान्छे मान्छे जस्ता

त्यहाँ त कुकुर प्रशिक्षित मान्छे जस्तो

अनि मान्छे यान्त्रिक भाँडो रोबोट जस्तो ।’

 

उसले तारफ गरी–

‘यहाँ भुक्ने कुकुरको आवाज कुकुरको जस्तै हुन्छ

र आवाज निकालेर जोडले भुक्छ

चाहेको ठाउँमा निस्फिक्री घुम्छ

मान्छेहरू प्राकृतिक रूपले घेरिएका छन्

जीवनशैली उसैगरी मौलाएको छ र पो यहाँ रमाइलो छ।’

 

कृष्ण मनमनै वहको भारी खोल्छन्

र, बिसाउँछन् चौतारीमा

सुन्ने यहाँ को नै पो छ!

पुर्खाले खनेको खाडलमा अचेल पानी जम्दैन

न त आउँछन् जनावर, पंक्षीहरू– पिउनका लागि

ती त कत्ला फाटेका, मुजा परेका

जीर्ण शरीर लिएर सुनिरहेछन्– कृष्णगाथा।

 

एकादेशमा एउटा कर्मयोगी थिए

पहिले आफूले लेख्न सिके र पछि अरूलाई लेख्न सिकाए

पहिले खोलामा पौडेर तर्थे र पछि तर्नलाई पुल बनाए

डुब्न लागेको घाम हेरेर

विरहको सुस्केरा गोधूलिमा साउती मार्दै गर्दा

कल्पना गरे– एउटा सर्वहितका लागि सर्वोदय सेवाश्रमको।

 

सधैँ निर्मल जलको घडा बहाउने मस्र्याङ्दीको तटमा

आरुका फूलको खेती गरे

चट्टानहरूमा जीवनको उत्तराद्र्धबारेको कथा लेखे

सिलोट फुटालेर मह्लम लगाए

अस्ताउँदा चह¥याइरहेका घाउहरूमा

आँखामा ज्योति ल्याउन शिवको साधना गरेर

चुहाए थोपा आँसुको

कालान्तरमा त्यो रुद्राक्ष भयो

एउटा खाली झोला तिनको मितज्यू भयो।

 

रैवार नपुग्ने गाउँको यात्रा गरी

बाँडे सद्बिजका पोकाहरू

केटाकेटीहरूलाइ त भगवान् हेर्छन्

फेरि पनि उनी आफ्नो झोलामा

केही पोका चकलेट बोक्छन्

र, छर्छन् मोमिलाहरूको गाउँमा

बडो मीठो हाँसो उनको।

 

सायद कच्चा पदार्थ दुर्गम उचाइको भटमास थियो,

मकै थियो र गोरस थियो

करेसाबारीमा ऋषिहरूको ज्ञानलाई गोडमेल गरे

आयुर्वेदको लहर ल्याएर स्वस्थ जीवन बाँच्न सघाए

हिँड्न नसक्नेहरूलाई पाइला दान दिए

बोल्न नसक्नेहरूलाई आवाज दिए।

 

सहारा भएर पनि सहाराविहीन भएका

मायालु जीवनमा

पारिलो सद्भाव बाँडे

घर भएर बेघर भएका बुढाबुढीहरूले सोधेको प्रश्न–

बाबुआमा नभएका केटाकेटीलाई टुहुरा भन्छन्

छोराछोरी भएर पनि आमाबाबु बन्न नसकेका

हामीलाई के भन्ने?

 

छोराछोरीको प्रेममा जीन्दगीभर अडेस लगाइरहँदा

खै, कतिबेला यो आड भारी भयो उनीहरूलाई

र, अवहेलनाको कोसेली दिए

उनीहरूलाई आड दिँदादिँदै आफ्नो आड खोज्न बिर्सेका

हामी कहाँ जाऔँ?

 

निकै थकथकी लागेको छ हामीलाई

छोराछोरीको आँसु पुछ्न नपाएकोमा

अडेस लाग्न नपाएकोमा

अब बुआआमाको आँसु कसले पुछ्ने?

 

कृष्ण बाबु, कति हृदयविदारक र अजीव लाग्ने रहेछ

जब बाबुआमा आँसु बगाउँछन् र पुछ्ने कोही हुँदैनन्

जवाफ फर्काउन समर्थ कृष्ण

सेवामा यसरी चुलुम्म डुबे कि

आफ्नै परिवार र सहजनलाई समय दिन बिर्सिए

समर्पणको जीवनलाई अक्षरशः बाँचे/बाँच्दै छन् ।

 

भन्नेहरूको कमी कहाँ छैन र?

एकादेशमा पनि देखिए ती परजीविहरू

उनको सुवासमा खोट देखे

उनको काममा छल देखे

उनले बोकेको झोलामा शंका रोपे।

 

सतत् क्रम चलिरहेको छ

कृष्ण गाथा रोकिने होइन

काम कुरामा विश्वास राख्छ

र, चलिरहेको छ ।

 

एकादेशमा कृष्णको अस्तित्व

ती तमाम् परजीवीहरूको

सहअस्तित्वका कारणले नै बाँचेको छ

परिपूरक भए ती कुराहरू

जीवनका उकाली–ओराली जस्ता ।

(सर्वोदय सेवाश्रमका मूल माली कृष्ण ओलिया उन्मुख)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.