|

काठमाडौं

'सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे'- बिन्दास-२

'मेरो सुखले दिन ढल्दैन तिमी नभए'- ठमेल डट कम

'तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस्'- स्टुपिड मन

'मैले तिमीलाई मनपराएको अवस्था हो'- लुटेरा

हामीले सुन्दै अाएका र लोकप्रिय गीतहरू हुन्, यी। यी गीतका गायक/गायिकाबारे हामी धेरैजसो पिरिचित पनि छौँ। तर यी गीतका रचनाकार हामीमध्ये कमैलाई मात्र थाहा होला। 

हामीकहाँ गीत/गजलहरू लोकप्रिय हुन्छन्, तिनका गायक/गायिका लोकप्रिय हुन्छन्, तर तिनै लोकप्रिय गीत/गजलका स्रष्टा र सङ्गीतकार सधैँ पर्दापछाडि हुन्छन्। कुनै पनि गीत वा गजलसँग त्यसका रचनाकार र सङ्गीतकार जोडिएकै हुन्छन्। रचना जन्माउने पहिलो व्यक्ति सर्जक हो। त्यसपछि सो रचनालाई गाउनयोग्य र श्रोतामाझ कर्णप्रिय बनाउने सङ्गीतकारले हो। तर दुखद कुरो, तिनै  महत्त्वपूर्ण दुई व्यक्ति गीत/गजलमा धेरैले सम्झँदैनन्।

ल सोचौँ न, माथिका गीतका सङ्गीतकार कोको होलान्? यी गीतका सङ्गीतकार हुन्, अर्जुन पोखरेल। अर्जुन अहिलेका एकदमै व्यस्त सङ्गीतकार हुन्। चितवनको एक गाउँको साङ्गीतिक परिवारमा हुर्किएका अर्जुनमा सानैदेखि सङ्गीतको प्रभाव परेको थियो। गाउँमा रत्यौली र तीजको बेला रातभर मादल तथा मुरली बजाएर  बस्थे अर्जुन।

आफ्नै घरमा आमा-बुबा भजन गाउने हुनाले पनि उनमा सङ्गीतको प्यास थियो। त्यसमाथि भजनको अभ्यास पनि उनकै घरमा भइदिन्थ्यो। सङ्गीतले सबैलाई छुन्छ। अर्जुन पोखरेललाई पनि छोयो।

उनी स्कुलका राम्रै विद्यार्थी थिए। तर उनमा जब सङ्गीतको भुत चढ्याे, उनी दिन-रात सधैँ सङ्गीतमा हराउन थाले। आमा-बुबासँगै भजन गाउन हिँड्न थाले उनी। त्यसको प्रभाव उनको पढाइमा पर्यो। सङ्गीतको नशाकै कारणा उनी कक्षा ८ मा फेल भए। अर्जुन भन्छन्, 'म स्कुलमा एकदमै 'एक्टिभ' विद्यार्थी थिए। म जुनसुकै 'कम्पिटिसन'मा पनि भाग लिन्थेँ। तर पछि सङ्गीततिर मोह भएपछि कक्षा ८ मा फेल भएँ।' कक्षा ८ मा फेल व्यहोराका अर्जुनले फेरि पढाइमा विशेष ध्यान दिन थाले अनि कक्षा १० सम्मको पढाइ पूरा गरे।

पढाइका लागि काठमाडौं प्रवेश

एसएलसी दिएपश्चात उच्चशिक्षाा अध्ययनको लागि अर्जुन काठमाडौं हानिए। काठमाडौं आएर उनले रत्नराज्यलक्ष्मी क्याम्पसमा गणित र अर्थशास्त्र विषय अध्ययन गर्न थाले। त्यहाँ भर्ना भएर अध्ययन गरिरहँदा पनि उनले अर्कोतिर म्युजिक पनि पढिरहेका थिए। भन्छन्, 'आरआर त यसो भर्ना मात्र भएको हो, मेरो रुचि भनेको सङ्गीत नै थियो र सङ्गीत कक्षा पनि लिन्थेँ।'

गायक बन्ने सोचसहित सङ्गीत कक्षा लिन थालेका उनले अाठ वर्ष सङ्गीत अध्ययन गरे। जब उनले आफ्नो सङ्गीत पढाइलाई पूरा गरे, तब उनी केही गरूँ भनेर तम्सिए। तर यहाँ नयाँ मन्छेलाई काम गर्ने वतावरण नहुने उनले बुझे। अर्जुन भन्छन्, 'नयाँ मान्छेलाई यहाँ काम गर्ने मौका मिल्दैनथ्याे। को चलेकोऽ को नचलेको छुट्याउन गाह्रो हुन्थ्यो। अग्रजले जे भन्यो त्यही सही लाग्थ्यो।'

साङ्गीतिक क्षेत्रमा सुरुका दिन

सुरुसुरुका दिनहरूमा आफ्नो गीत कुनै व्यानरले लिन्छ कि भन्ने आशमा धेरै निर्माता तथा निर्देशकको ढोका ढक्ढक्याउन पुग्थे अर्जुन। त्यो क्षण सम्झँदै उनी भन्छन्, 'मैले कम्तीमा पनि चार वर्ष निर्माता/निर्देशकलाई मेरो गीत सुनाउँदै हिँडेँ। ३०/४० जानालाई त सुनाएँ होला सायद।' उनले जतिलाई आफ्नो गीत सुनाए, प्राय: सबैले उनलाई राम्रो नै प्रतिक्रिया दिन्थे। तर विडम्बना, अघिल्लो दिन फिल्ममा सङ्गीतकारको नाम अर्जुन पोखरेल रहन्थ्यो तर भोलिपल्ट त्यो नाम परिवर्तन भइदिन्थ्यो। 'अघिल्लो दिन आफ्नो नाम आएको देख्दा अब केही गर्नुपर्छ भन्ने लाग्थ्यो र मेहनत गर्न थाल्थेँ तर भोलिपल्ट त त्यो नाम परिवर्तन भैसकेको हुन्थ्यो', अर्जुन भन्छन्। 

उनले आफ्नो साङ्गीतिक यात्राको पहिलो कोसेली स्वरूप 'सानी मलाई मनपर्यो' लोकगीत बजारमा ल्याए। त्यस गीतमा उनकै शब्द, सङ्गीत र स्वर पनि रहेको छ। उनले लेकगीत गाउने मान्छेलाई आधुनिक गीत गाउने मान्छेहरूले राम्रो नमान्ने कुरा बुझे। भन्छन्, 'त्यस बेलाको समयमा लोकगीत गाउने मान्छेलाई आधुनिक गीत गाउने मान्छेहरूले राम्रो मान्दैनन् थिए। त्यस कारण म पनि आधुनिकतिर लागेँ।'

फिल्ममा अवसर र खुबी देखाउने मैका

केही समयको सङ्घर्षपछि उनले फिल्म 'दिलमाया'मा काम गर्ने अवसर पाए। उनले त्यस फिल्ममा 'छुट्छ कि साथ' बोलको गीतमा सङ्गीत भरेका थिए। अर्जुन भन्छन्, 'त्यस गीतमा मेरो शब्द तथा सङ्गीत दुवै थियो।' जब उक्त गीत बजारमा आयो, त्यस गीतलाई सबै श्रोता/दर्शकले मनपराइदिए। 'त्यस बेलाका चर्चित सङ्गीतकार सुरेश अधिकारीले पनि मेरो त्यस गीतको प्रशंसा गर्नुभयो। जसको मार्गनिर्देशन लिएर अगाडि बढिरहेको थिएँ, त्यही मान्छेले पनि राम्रो भनेपछि ममा ऊर्जा थपिएको थियो', अर्जुनले भने।

त्यसपश्चात उनले फिल्म 'विन्दास- २' को 'सुन्छु तिमीले मलाई' बोलको गीतमा सङ्गीत भर्ने मैका पाए। त्यो उनको दोस्रो गीत थियो। त्यो गीतले उनलाई दर्शकमाझ राम्रैसँग चिनायो।

सफलता

'विन्दास -२' को गीतपछि उनले आफूले सङ्गीत गर्ने गीतहरू छनाेट गर्न थाले। उनले 'सररर वेग मारी बेनीको बस आयो', 'मेरो सुखले दिन ढल्दैन तिमी नभए', 'तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस्', 'मैले तिमीलाई मनपराएको अवस्था हो' जस्ता सफल गीतहरूमा सङ्गीत भरेका छन्। अहिले अर्जुनको व्यस्तता एकदमै बढेको छ। एक पछि अर्को राम्रा गीतहरू बजारमा ल्याइरहेका अर्जुनलाई सबै श्रोले राम्रो प्रतिक्रिया दिइरहेका बताउँछन्।

अर्जुनको पहिलो गीतले नै सफलता पाएको थियो। उनले त्यस गीतबाट अवार्ड पनि हात पारे। तर गीत सफल भयो भनेर उनी रमाएनन्। भन्छन्, 'म फुत्त सङ्गीतमा आएको थिइनँ। मैले अाठ वर्ष सङ्गीत पढेर आएको थिएँ। त्यस बेलासम्म सङ्गीत के हो, सङ्गीतको मर्म के हो, मैले बुझेको थिएँ।' 

अहिले उनले सङ्गीतकारको भूमिकामा काम गरेका फिल्महरूमा 'म यस्तो गीत गाउँछु', 'ऐश्वर्या', 'लम्फु', 'मेरो पैसा खोइ', 'कान्छी' आदि हुन्।

उनलाई थाहा खबरले सोधेका केही प्रश्न जस्ताको त्यस्तै

सङ्गीत के हो?

सङ्गीत एउटा मनको भाव हो।

अनि सड्गीतकार?

सङ्गीतकार भनेको गीतको आमा हो। सङ्गीतकारले गीतकारले दिएको गीतलाई नयाँ स्वर, नयाँ धून भर्ने गर्छ। सङ्गीतकार भनेको बाजा बजाउने मान्छे मात्र भने होइन।

एउटा गीत निर्माणमा सङ्गीतकारको भूमिका के?

एउटा सङ्गीतकारले गीतकारसँग बसेर गीत फाइनल गर्छ, वाद्यवादकसँग बसेर धून भर्छ, गायक/गायिकासँग बसेर गीत रेकर्ड गराउँछ वा आफूले भरेकाे धूनमा आवाज भर्छ। त्यसैले गीत निर्माण गर्ने मुख्य व्यक्ति नै सङ्गीतकार हो। सङ्गीतकार भनेको एउटा घर निर्माण गर्ने व्यक्ति जस्तै हो। 

गीतमा सङ्गीतकार मुख्य भन्नुभयो, तर गायक/गायिकाको नाम आगाडि आउँछ नि!

हो, गायक/गायिकाको नाम अगाडि आउँछ। त्यो स्वाभाविक नै हो। तर सङ्गीतकारहरू भनेका एउटा बिरुवाका जराहरू हुन्, जसले मलजल सबै जमिनबाट लिएर फल उत्पादन गर्छन्। सुरुमा फूल फुल्नु पहिला पनि बिरुवा हुन्छ। जराले बिस्तारै आवश्यक खनिज र अन्य तत्त्व लिएर फूल फुल्ने वातावरण सृजना गरेपछि फूल फुल्छ र बास्ना छर्छ अनि सुगन्ध आउँछ। त्यो फूलचाहिँ गायक/गायिका हुन्। फूललाई सहजै मान्छेले देख्छ त्यो बाहिर हुन्छ। त्यसले सुवास छर्छ, रङ्गीन हुन्छ। त्यसैले मान्छेले यो हो नि त भन्छन्। तर जुन दिन जरा मर्छ, त्यो दिन फूलको पनि अस्तित्व रहँदैन भन्ने कुरा हामी धेरैले बुझेका छैनौँ। हुनत फूल नभए पनि जराको अस्तित्व हुन सक्छ, फूलविना पनि एउटा रूखको कल्पना भएको चाहिँ हुन सक्छ।

केही गीतहरूमा स्वर पनि दिनुभएको छ। आफूले रचना गरेको गीत आफैँ गाऊँ जस्तो लाग्दैन?

आफ्नो स्वरलाई सुहाउने गीत भए अवश्य गाउँछु। मैले गाएका केही गीतहरू अब छिट्टै बजारमा आउनेवाला छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.