‘गच्छेदारलाई कांग्रेसले मिलाउनै पर्छ’

|

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसलाई धोका दिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सल्लाहमा चल्न थालेको आरोप लगाएका छन्।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकमा तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रधानमन्त्री दाहाल प्रचण्डको पछिल्लो व्यवहारप्रति आशंका गरेका हुन्। बैठकमा सहभागी सांसदहरुले प्रधानमन्त्री प्रचण्डको कार्यशैली सत्तारुढ घटकलाई पन्छाउँदै प्रमुख प्रतिपक्षी एमालेको इशारामा चलेको आरोप लगाएका हुन्।

कांग्रेसका ती सांसदहरुले सरकारले पेश गरेको संविधान संशोधन विधेयकको विपक्षमा मत दिन्छु भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई मन्त्रिपरिषदमा समावेश गरेको दुई दिनपछि नैं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट हुनु र त्यसको दुई दिनपछि नै प्रधानमन्त्रीलाई चीनको निम्तो आउनु संयोग मात्र नभएको बताएका छन्।

उनीहरुले यस्तो संयोगलाई कांग्रेसलाई धोका दिएर राजनीतिक समीकरण परिवर्तन गर्ने संकेतको रुपमा लिएका छन्। कांग्रेस नेता डा. शेखर कोइरालाले हाल कांग्रेसका एजेण्डाबिरुद्ध भइरहेका राजनीतिक विकसित घटनाक्रमको समीक्षा सहित पार्टीको आगामी चैत १० गते हुने केन्द्रीय कार्य समिति बैठकमा एउटै आवाज बोकेर पार्टी नेतृत्वलाई दबाब दिने बताएका थिए।

नेपाली कांग्रेससँग भएको सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले चैतसम्ममा स्थानीय तहको निर्वाचन गराउने र बैशाखमा कांग्रेसलाई नेतृत्व हस्तान्तरण गर्ने भन्नेछ। तर प्रधानमन्त्री दाहालले निर्वाचनकै मिति बैशाख अन्तिम साताको लागि घोषणा गरेर आफ्नो पद बढाउन खोजेको कांग्रेसका सांसदहरुको बुझाई छ।

पार्टी केन्द्रीय सदस्य समेत रहेका मोरङका सांसद डा. मिनेन्द्र रिजाल, बाराका फरमुल्लाह मन्सुर, धनुषाका महेन्द्र यादब र रामकृष्ण यादव, महोत्तरीकी किरण यादप, रुपन्देहीका सांसद भरतकुमार साह, सर्लाहीका सांसद डा. अमरेशकुमार सिंह, बाराकै राधेचन्द्र यादव लगायतले प्रधानमन्त्री प्रचण्डको कार्यशैली कांग्रेसलाई धोका दिएर एमालेसँग सहकार्य गर्ने किसिमले अघि बढेको आरोप लगाएका छन्।

सांसदहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरी प्रधानमन्त्री प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीको सल्लाहमा स्थानीय तहको निर्वाचन गराउन लागेको आरोप लगाए। ‘मोर्चासँग गरेको सहमति अनुसार संविधान संशोधन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्न प्रधानमन्त्रीले नमान्नुको कारण नैं ओलीसँगको गोप्य सल्लाहमा भएको सहमति हुनसक्छ’ वैठकमा सहभागी एक नेताले भने।

संविधानलाई कार्यान्वयन गर्न र स्वीकार्यतालाई फराकिलो बनाउने भनेर प्रधानमन्त्रीले मुखले भन्ने तर मोर्चासँग भएको सहमति बमोजिम संसदमा भएको विधेयक अघि नबढाउने कार्यले मधेसमा कांग्रेसको उपस्थिति कमजोर हुने ती सांसदहरुको बुझाइ छ।  

कसले के भने ?

डा.अमरेशकुमार सिंह : प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको इशारामा कमल थापालाई सरकारमा ल्याएका हुन्। थापालाई सरकारमा ल्याउनु भनेको कांग्रेसको तेजोवध गर्नु हो। उनको चीन भ्रमणको मिति ओलीले नेपालगञ्जको भाषण छोडेर प्रधानमन्त्रीसँग गोप्य वार्ता गर्ने बित्तिकै तय भएको छ।

फरमुल्लाह मन्सुर : मधेसी मोर्चासँगको सहमति कार्यान्वयन नभएपछि मोर्चा आन्दोलनमा जाने र कांग्रेसको गढ मानिएको मधेसमा कांग्रेसलाई समेत आफ्नो उपस्थिति हुन नदिने षड्यन्त्रमा प्रचण्डजी पुगिसकेका छन्। अब हामीले पार्टीकै नेतृत्वलाई पनि सचेत गराउनुपर्ने छ। 

महेन्द्र यादव : संविधान संशोधन प्रस्ताव फेल नै हुन्छ भन्ने के आधार छ? एमालेकै मधेसी सांसदले भोट हाल्छन् संशोधनको पक्षमा। तर एमालेले डराएर प्रचण्डलाई त्यो विधेयक अघि नबढाउन बार्गेनिङ गरिरहेको छ। संशोधन बिनै हामी निर्वाचनमा गए सफलता पाउन सकिदैन्।

भरत कुमार साह : संविधान संशोधन गर्दा आज प्रचण्डले किन सीमाङ्कन बाहेकमा सहमति गरौं भनिरहेका छन्। यसमा षड्यन्त्र छ। यदि संशोधन विधेयकलाई हामीले संसदबाट पास गर्‍यौं भने पाँच नम्बर प्रदेश नैं कांग्रेसले जित्छ नत्र एमालेले लान्छ।

रामकृष्ण यादव : संविधान संशोधन विधेयक संसदबाट पारित नगरी निर्वाचन गर्छु भन्नु चुनाव नगर्ने षडयन्त्र हो। विधेयक संसदमा पेश नैं नगरेपछि मधेसी जनताले आन्दोलन गर्छ। आन्दोलन गरेपछि चुनाव भाँडिन्छ। त्यसपछि एमालेकै सल्लाह अनुसार प्रधानमन्त्रीले चुनाव हुन सकेन भनेर आफ्नो पद लम्ब्याउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.