|

नेपाली साहित्यका क्षेत्रमा सैद्धान्तिक समालोचक, बहुलवादी समालोचक, अनुसन्धानात्मक समालोचकका रूपमा विषयवस्तुगत गहिराइमा पुगी निष्कर्ष दिने अध्ययनशील बौद्धिक समालोचक डा. वासुदेव त्रिपाठी एक अत्युत्कृष्ट बहुआयामिक समालोचक र एक वरिष्ठ कविका रूपमा फुटकर कविता लेख्ने कवि, खण्डकाव्य लेख्ने खण्डकाव्यकार, लामो कविता लेख्ने लामो कविता सर्जक तथा महाकाव्यकारका रूपमा सफल एवम् चर्चित छन्। यस्तै निबन्ध, प्रबन्ध र जीवनी एवम् कथा, नाटक जस्ता विधामा समेत सशक्त त्रिपाठी निबन्धकार, प्रबन्धकार, जीवनीकार, कथाकार एवम् नाटककारका रूपमा सुविख्यात छन्। त्रिपाठी नेपाली साहित्यकै एक बहुमुखी प्रतिभाका रूपमा दरिएका एक गर्विला दर्विला प्रतिभाका रूपमा प्रकटीकृत भएका पाइन्छन्।

कवि प्रतिभाका रूपमा नौ वर्षको बाल्यकालीन उमेरदेखि कविता गुन्गुनाउन थालेका त्रिपाठी बाल्यवयमै सबभन्दा माया गर्ने आमा गोमाको दुःखद निधनले प्रथम पटक 'आमा तिमी गयौ कहाँ म रूँदै छु यहाँ, बोलाउँछ्यौ किन तिमी पसी स्वप्नमहाँ' जस्तो करुण क्रन्दनमय मातृविलापी कविता लेखेर कविता लेखनको थालनी गर्न पुगेका देखिन्छ। यसरी आफ्नो गाउँमै कविता सृजना गर्न थालेका त्रिपाठीको वि. सं.‌ २०१६/०१७ सालदेखि काठमाडौँमा आएपछि मात्र कवितालेखन क्रमशः विकसित र विस्तारित भएको देखिन्छ।

'आमा तिमी गयौ कहाँ'देखि फुटकर लगभग आठ/नौसय रहेका त्रिपाठीका कवितामा प्रशस्त कवित्वचेत, जीवनवादी प्रवृत्ति, मानववादी प्रवृत्ति, प्रकृतिवादी प्रवृत्ति र अस्तित्ववादी चेत जुर्मुराएको पाइन्छ। खण्डकाव्यकारका रूपमा लघुकाव्य, काव्य र खण्डकाव्य गरी तीन तहका खण्डकाव्य लेखेका पाइन्छ यिनले।

कविता, खण्डकाव्य र महाकाव्य जस्तो कविता लेखनको विस्तार क्रमलाई हेर्दा ०३० सालमा र ०५० सालमा दुई पटक महाकाव्य सृजना निम्ति प्रयासरत भए पनि ती प्रयास अझै पूर्ण नभएका र अन्त्यमा 'लोकलज्जा' र 'तनहुँ' महाकाव्य लेखन गर्न पुगेका त्रिपाठी विशिष्ट महाकाव्यकार बन्न पुगेका छन्।  खण्डकाव्यकारका रूपमा त यिनी एक उत्कृष्ट खण्डकाव्यकार देखिन्छन् भने फुटकर कवितालेखनका कवि त्रिपाठी एक अत्युत्कृष्ट कवि प्रतिभासमेत हुन्।

प्रथमतः 'यो दुनियाँ तिम्रै हो' नामक कविता 'हिमाल' पत्रिकामा छापिएपछि कविता यात्रा थालनी गरेका त्रिपाठीका कविता विभिन्न पत्रिकामा छापिएका पाइन्छन्। यसपछि विशेषगरी ०२० देखि यिनको कवितालेखन मुक्त मात्रा छन्द हुँदै गद्य कवितातर्फ मोडिए पनि त्रिपाठीले पद्य कवितामै आफ्नो स्वत्व स्थापित एवम् प्रतिष्ठित गर्न पुगेका पाइन्छ।

'आमा तिमी गयौ कहाँ'देखि फुटकर लगभग आठ/नौसय रहेका त्रिपाठीका कवितामा प्रशस्त कवित्वचेत, जीवनवादी प्रवृत्ति, मानववादी प्रवृत्ति, प्रकृतिवादी प्रवृत्ति र अस्तित्ववादी चेत जुर्मुराएको पाइन्छ। खण्डकाव्यकारका रूपमा लघुकाव्य, काव्य र खण्डकाव्य गरी तीन तहका खण्डकाव्य लेखेका पाइन्छ यिनले। यी खण्डकाव्यमा त्रिपाठी अथाह ज्ञानको भण्डार, स्वतःस्फुर्त जीवन चेतना, प्रकाण्ड विद्वता र झिनो आख्यानसहित पात्रको सबलीकरणका केही न्यून प्रयोक्ता यिनी यस्ता काव्यमा आफ्नो जीवनका भोगाइ, आफ्नै समाज र संस्कृतिका प्रतिभा एवम् आफ्नो राष्ट्रमा योगदान दिने कविका रूपमा विशेष योगदान दिने खण्डकाव्यकार भएका छन्। यी काव्यकृतिमा त्रिपाठीले पद्य, वर्णमात्रिक र वार्णिक, लोकछन्द एवम् मुक्तलयमा कविता लेखेका छन्।

यसरी फुटकर कविता लेख्ने कवि, खण्डकाव्य लेखेर विशिष्ट उत्कृष्ट योगदान दिने खण्डकाव्यकार तथा महाकाव्य लेख्ने आँसुलेखन प्रतिभा र उच्च चेतनासहितका कविता आयामका विस्तार गर्ने महाकाव्यकार त्रिपाठी बालकविता र गीतिकवितामा समेत प्रखर प्रतिभा देखिन्छन्।

कवितात्मक कृतिका रूपमा यिनका 'तीन थुँगा' (२०४५), 'देशको महिमा' (२०४६) र 'नवपल्लव' (२०४६), 'सम्झना कुञ्ज' (२०६६), 'जीवन निकुञ्ज' (२०६७) लगायतका सङ्ग्रहहरूमा कविता, खण्डकाव्य र गीतिकविता एवम् बालकविता सङ्गृहीत भएका पाइन्छन्।

कवि प्रतिभाका रूपमा वासुदेव त्रिपाठीलाई हेर्दा यिनको कविता सृजन प्रतिभा, व्युत्पत्ति र अभ्यास जस्ता तीनवटै कारकबाट प्रेरित, उत्प्रेरित र प्रयोगीकृत भए पनि व्युत्पत्ति र अभ्यासमा जोड दिँदादिँदै पनि प्रतिभाको उत्कट प्रवाहमय स्वच्छन्द र उन्मुक्त कविता यात्री हुन पुग्दछन्।

स्वतन्त्र रूपमा गीत सिर्जना गर्ने त्रिपाठी एक सशक्त गीतकारका रूपमा केही बालगीत र केही वयष्कका निम्ति गीत लेख्ने गीतकार देखिन्छन्। विशेषगरी देशभक्तिका भावधारामा आवद्ध यिनका नौवटा गीतको सँगालो 'नवपल्लव' (२०४६) मा यिनी देशभक्तिका सफल गीतकार देखिन्छन्। साथै 'सम्झना कुञ्ज', 'सृजना कुञ्ज', 'जीवन निकुञ्ज' र 'मधु कुञ्ज' जस्ता सङ्ग्रहहरूमा समेत बालगीत र गीत लेखन प्रकट भएको पाइन्छ। यसरी संख्यात्मक दृष्टिले कमै गीतहरूको सृजना गरे पनि गुणात्मक दृष्टिले भने यिनी उत्कृष्ट रहेका छन्। यी गीतहरूमा राष्ट्रप्रेमलाई मूल केन्द्रबिन्दु बनाई समाज र प्रकृतिलाई गीतको वर्ण्यविषय बनाउने यिनी र यिनका केही गीत राष्ट्रिय गायकहरूका स्वरहरूमा गुञ्जिएका समेत पाइन्छन्। यसरी एक गीतकारका रूपमा समेत यिनी दर्विला देखिन्छन्।

बालकविता सृजनयात्राका क्रममा वासुदेव त्रिपाठी बालकवितामा अतिसुन्दर बालभाव प्रस्तुत गर्न पुग्छन् भने बालक हुनुको आनन्दसहित त्यो आनन्दमय बालवय फेरि कहिले फर्किएला र पाइएला भन्दै बालभावमा निमग्न हुन पुग्दछन्।

निबन्धकारका रूपमा वासुदेव त्रिपाठीले २०१७ सालको 'नयाँ समाज' पत्रिकामा 'जाति व्यवस्था र वाद' शीर्षकको प्रबन्धदेखि निबन्धयात्रा गर्दै हाल २०७३ सालसम्मको समयावधिसम्म झण्डै डेढ सय निबन्ध लेखेर सशक्त निबन्धकार भएका पाइन्छ। लामा छोटा र विभिन्न आयामका यिनका निबन्धमा विषयगत रूपमा शिक्षा, भाषा, कला, साहित्य, दर्शन, संस्कृति, संस्मृति, प्रशासन र समसामयिक विषय जस्ता विभिन्न विषयले प्रश्रय पाएका देखिन्छ। ललित र रागात्मक निबन्धको बनोटमा सामाजिक विकृति विसङ्गतिप्रति व्यङ्ग्य र उपहास प्रकट गर्दै सृजनात्मक निबन्धको सशक्तीकरणमा यिनी प्रबल बनेका पाइन्छन्।

यिनका यस्ता निबन्धमा देवकोटाको भावनात्मक लालित्य, समको दार्शनिकता, लामिछानेको चिन्तनशीलता जस्ता विशेषताको समायोजन पाइन्छ भने कवि व्यक्तित्वको भावुक र लयात्मक संवेदना तथा समीक्षक व्यक्तित्वको चिन्तन र तार्किकताको सौन्दर्य मुखरित भएको देखिन्छ।                 

निबन्धकारकार रूपमा एकदमै स्तरीय र गहकिला निबन्ध लेख्ने यिनी बौद्धिक प्रकृतिका निबन्ध लेखनमा रूचि राख्दै आत्मपरक, भावात्मक तथा व्यङ्ग्यात्मक दृष्टिका सुन्दर र परिपाकपूर्ण निबन्ध लेखनमा सफल एवम् सबल र सशक्त बनेका पाइन्छ।

प्रबन्धकारका रूपमा समेत चर्चित त्रिपाठीले आफ्ना प्रबन्धको विषय भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, पूर्वीय र पाश्चात्य साहित्य-मान्यता र प्रवृत्तिका विश्लेषक प्रबन्धकार बन्न पुगेका पाइन्छन्। यिनका प्रबन्ध बौद्धिक, गहन र तार्किक एवम् सघन र वस्तुगत बन्न पुगेका पाइन्छ।

कथाकार र नाटककारका रूपमा उदाएका त्रिपाठी संस्कृतमा कथा र नाटक लेख्दै कथाकार र नाटककार बन्न पुगेका देखिन्छ। यिनी कथासङ्ग्रह प्रकाशित गरेर कथाकार बन्न पुगेका छन् भने नाटककारका रूपमा समेत उल्लेख्य प्रतिभा बनेका पाइन्छ।

प्रबन्धकारका रूपमा समेत चर्चित त्रिपाठीले आफ्ना प्रबन्धको विषय भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, पूर्वीय र पाश्चात्य साहित्य-मान्यता र प्रवृत्तिका विश्लेषक प्रबन्धकार बन्न पुगेका पाइन्छन्। यिनका प्रबन्ध बौद्धिक, गहन र तार्किक एवम् सघन र वस्तुगत बन्न पुगेका पाइन्छ।

अनुवादकका रूपमा त्रिपाठीले संस्कृत, नेपाली, अङ्ग्रेजी, नेपाली र हिन्दी भाषाका गद्य र पद्यको अनुवादमा रूचि राख्दै कालिदासको 'मेघदूत' खण्डकाव्य, अङ्ग्रेजी कवि जोन किट्सका कविताहरू, टी. एस. इलियटका प्रबन्धहरूसहित अङ्ग्रेजी, हिन्दी, संस्कृत र बंगाली भाषाका अनेक फुटकर कृतिहरूको अनुवाद गरेका पाइन्छ। यसरी चार/पाँच भाषाका कृतिको अनुवाद गर्ने त्रिपाठीले सफल अनुवादकका रूपमा एक उत्कर्ष प्राप्त गर्न पुगेका छन्।

साहित्यिक द्रष्टा व्यक्तित्वका रूपमा विशेषगरी वासुदेव त्रिपाठी सैद्धान्तिक तथा विधागत सैद्धान्तिक समीक्षकका रूपमा प्रखर र प्रबल रहेका छन्। यिनका बहुआयामका क्षेत्र ओगट्ने समीक्षाहरूमा सम्पादकीय समीक्षा, भूमिकापरक समीक्षा, कृतिपरक समीक्षा, मन्तव्य समीक्षा, गोष्ठी प्रत्रात्मक समीक्षा, समीक्षक-प्रशिक्षणात्मक समीक्षा, समीक्षामाथि समीक्षा र अधिसमीक्षाका रूपमा बहुआयामिक समीक्षामा यिनी ख्यातिप्राप्त छन् साथै यिनका कोशसमीक्षापरक समीक्षासमेत अद्वितीय रहेका छन्।

विशेषगरी कृतिलाई गहन किसिमले पढेर त्यसको साङ्गोपाङ्गो अध्ययन र त्यसको निष्कर्ष निकाली माथिल्लो तहबाट त्यसको अन्तरयथार्थ खोतलखातल गर्दै गुरु गहन विश्लेषण साथ निर्णयात्मक निचोड पहिल्याउने सैद्धान्तिक आधारमा विश्लेषण मूल्याङ्कन र निष्कर्ष दिने नेपाली समालोचनाका अत्यन्तै ओज र प्रताप दिने समालोचकका रूपमा त्रिपाठी देखिन्छन्।

यिनको 'सिंहावलोकन' लालित्यमय ललित प्राञ्जलमा प्रवाह शैलीको समीक्षात्मक कृतिका रूपमा प्रसिद्ध छ भने 'विचरण' नामक समीक्षासङ्ग्रह बुँदाबुँदागत निष्कर्ष पहिल्याउँदै आफैँमा एउटा नौलो समीक्षाग्रन्थ रहेको छ। यस्तै 'लेखनाथ पौड्यालको कवित्वको विश्लेषण र मूल्याङ्कन' नेपाली भाषा-साहित्यको पहिलो विद्यावारिधि शोधपरक प्रमुख अनुसन्धानपरक समीक्षामूलक कृतिका रूपमा अजेय कृति भएको छ भने 'पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा' पाश्चात्य जगतको साहित्य, सिद्धान्त र वादको नेपाली समालोचनामै एक उत्कृष्ट साहित्यिक सैद्धान्तिक समीक्षाग्रन्थ भएको छ। यसरी यी कृतिमार्फत् त्रिपाठी सैद्धान्तिक समीक्षकका रूपमा एक दिग्गज समालोचक भएका पाइन्छन्।

यसरी सृजनाका अनुपम वेग र तरेलीहरूमा प्रवाहित त्रिपाठी समालोचना भन्दा सिर्जना नै कालजयी र दीर्घजयी हुने कुरा स्वीकार्दै सृजना प्रवाहमा हामफाल्दै प्रवाहित हुन पुग्छन् भने समीक्षा क्षेत्रमा समेत अद्वितीय हुन पुग्दछन्।

नेपाली समालोचनाका क्षेत्रमा प्राध्यापकीय समालोचना, पाठ्यक्रमीय समालोचना मात्रै होइन, सैद्धान्तिक र अनुसन्धानमूलक समीक्षाका साथसाथै प्रायोगिक समालोचनामा समेत निर्णयात्मक निष्कर्ष दिने त्रिपाठी साँच्चै नै आफ्नो समयका एक दिग्गज समीक्षक महारथी एवम् अत्युत्कृष्ट समीक्षक प्रतिभा हुन्।

समीक्षाका क्षेत्रमा त्रिपाठी एक स्वच्छन्द, उन्मुक्त समीक्षा-सम्राट हुन् भने सृजनयात्राका क्षेत्रमा एक सफल कवि, एक सक्षम खण्डकाव्यकार र लामो कविताकार हुँदै एक विशिष्ट महाकवि पनि हुन्।

समीक्षाका क्षेत्रमा प्रथम विद्यावारिधि मात्रै होइन, प्रत्येक समालोचनामा एकएक अद्वितीय उत्कृष्टता कायम गर्ने त्रिपाठी नेपाली समालोचनाकै एक अद्वितीय अत्युत्कृष्ट शिखर महायात्री हुन् भने नेपाली समालोचनामा सबभन्दा गह्रौँ पदचाप कायम गर्ने त्रिपाठी नेपाली समालोचनाका भुल्नै नसकिने एक स्वर्णिमकालकै प्रखर प्रतिभा प्रवाह यात्री हुन्।

समीक्षाका क्षेत्रमा प्रथम विद्यावारिधि मात्रै होइन, प्रत्येक समालोचनामा एकएक अद्वितीय उत्कृष्टता कायम गर्ने त्रिपाठी नेपाली समालोचनाकै एक अद्वितीय अत्युत्कृष्ट शिखर महायात्री हुन् भने नेपाली समालोचनामा सबभन्दा गह्रौँ पदचाप कायम गर्ने त्रिपाठी नेपाली समालोचनाका भुल्नै नसकिने एक स्वर्णिमकालकै प्रखर प्रतिभा प्रवाह यात्री हुन्।

हुनत त्रिपाठी स्वयं समीक्षा भन्दा सिर्जना दीर्घजयी र कालजयी हुने कुरा स्वीकार्छन् तर त्रिपाठीका सन्दर्भमा यी कुरा हेर्दा त्रिपाठीका स्रष्टा सिर्जनयात्रा र द्रष्टा समीक्षायात्रा प्रवाहको तुलना गर्दा समीक्षामा त्रिपाठी सगरमाथाका पनि माथिल्लो चुचुराका माथिल्ला उत्कर्ष हुन् भने सिर्जनामा त्रिपाठी उत्कृष्ट शिखर यात्री मात्रै हुन्।

यस्तै त्रिपाठीको साहित्यिक र साहित्येत्तर व्यक्तित्वहरूको तुलना गर्दा साहित्यिक व्यक्तित्वमै त्रिपाठी उत्कट, अत्युत्कट र अत्युत्कृष्ट व्यक्तित्व मुखरित छ भने साहित्येत्तर व्यक्तित्वमै पनि उनी उत्कृष्ट निशानी बन्न पुगेका देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.