|

विराटनगर :  स्थानीय तहको निर्वाचन हुने दिन नजिकिँदै जाँदा मोरङमा चुनावी माहोल चुलिएको छ। चिया पसल र चोक–चोकमा दलको लोकप्रियतादेखि सम्भावित उमेद्वारबारे पक्ष-विपक्षमा बहस हुन थालेको छ।

निर्वाचन आयोगले आगामी वैशाख २९ गतेलाई निर्वाचनको मिति निर्धारण गरेसँगै मोरङमा राजनीतिक दलले पनि आफ्नो तयारी तीव्र पारेका छन्। मोरङमा एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका छन्।

निर्वाचन लक्षित कार्यक्रम बनाउन, उमेद्वार छान्न, नयाँ नगरपालिका र गाउँपालिकामा राजनीतिक दलको नेतृत्व जिम्मेवारी तोक्ने बैठक, छलफल, भेला आयोजना सुरु गरिएको नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले बताए। उनले गाँउपालिकामा आफ्नो दलका तर्फबाट उठाउने उम्मेद्वारको टुंगो जिल्लाले लगाउने भएपनि उप–महानगर र नगरपालिकाको मेयर र उप–मेयरको टुंगो केन्द्रीय समितिले मात्र लगाउने बताए।

'सिफारिस गर्ने काम मात्र जिल्लाले गर्छ, त्यसका लागि अहिले चरण–चरणमा छलफल गरिरहेका छौं,' सभापति लिम्बुले भने, ‘योग्य र जनतासम्म पुगेका कार्यकर्तालाई हामीले सिफारिस गर्नेछौं, केन्द्रले नै अन्तिम टुङ्गो लगाउने छ।'

नेकपा एमालेले नगरपालिका र गाउँपालिकामा नयाँ जिम्मेवारीसहित पार्टीलाई परिचालन गर्न बैठक र भेला आयोजना गरिरहेको पार्टीका अध्यक्ष विनोद ढकालले बताए। उनका अनुसार स्थानीय तहको निर्वाचन गराउन चुनावी माहोल निर्माणसँगै सम्बन्धित गाउँपालिका र नगरपालिकामा उठ्न योग्य उमेद्ववारको बारेमा छलफल भैरहेको छ।

माओवादी केन्द्रले पनि सम्बन्धित गाउँपालिका र नगरपालिकामा नेतृत्व तोक्ने कामसँगै मेयर र उप–मेयर तथा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउने विषयमा छलफल अघि बढाएको छ। माओवादी केन्द्र मोरङले १७ वटै तहमा पार्टीको नेताहरुको जिम्मेवारी तोकेको छ।  माओवादी मोरङका नेता शिवकुमार मण्डलका अनुसार पुनर्संरचना क्षेत्र अन्तर्गतको पार्टी मर्ज गर्ने र उम्मेदवारको छनौट पनि त्यहींको पार्टी कमिटीले गर्नेछ। यसैगरी फोरम लोकतान्त्रिक र राप्रपा नेपालले निर्वाचनको तयारी थालेका भएपनि अन्य मधेसवादी दल घटक भने मौन छन्।

चर्चामा को–को ?

स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू छलफल र भेलामा सक्रिय रहेकै बेला सम्भावित उम्मेदवारको चर्चाले यतिबेला मोरङ जिल्लाको राजनीति तातेको छ। सबैभन्दा आकर्षक मानिएको विराटनगर उप–महानगरपालिकाको मेयर, उप–मेयरदेखि वडा अध्यक्षमा उमेद्वावारहरूले दाबी प्रस्तुत गर्न थालिसकेका छन्।

 

पार्टीभित्रको गुटगत राजनीति प्रभाव, केन्द्रीय नेताहरुको हस्तक्षेपदेखि जिल्ला नेतृत्वहरुको ईच्छा बमोजिम फरक–फरक व्यक्तिको नाम उप–महानगरपालिकाको मेयर र उप–मेयरमा चर्चामा आएको छ। सबैभन्दा बढी केन्द्रीय नेताहरुको हस्तक्षेप हुने नेपाली कांग्रेस मोरङमा यतिबेला थुप्रै व्यक्ति संभावित मेयरको उमेद्वारका रुपमा चर्चामा छन्। नेताहरुले अहिलेका मोरङ कांग्रेसका सचिव नागेश कोइरालाको नामलाई मेयरको रुपमा अगाडी सार्ने संकेत दिएका छन्। कोइरालालाई मेयरमा सार्न केही केन्द्रीय नेता लागेका छन् भने मोरङका पूर्वसभापति अमृत अर्यालले फुलकुमार लालवानीको नाममा समर्थन गर्ने संकेत दिएका छन्।

केन्द्रीय राजनीतिमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको लबिङ भन्दा भिन्न नेता कृष्ण सिटौलाको लविङ्गमा रहेका नगरका सभापति भीम पराजुली विराटनगरमा सबैभन्दा बढी चर्चामा रहेका व्यक्तिमा पर्दछन्। उनको पक्षमा रहनेले नगरलाई बलियो बनाउन पराजुलीको योगदान रहेका कारण उनैलाई अगाडि सार्नुपर्ने माग अगाडि सारेका छन्।

नेपाली कांग्रेसजस्तै एमालेभित्र पनि विराटनगर उप–महानगरपालिकाको मेयरमा को? भन्ने विषयले चर्चा पाएको छ। एमालेमा अहिलेका अध्यक्ष विनोद ढकालले मेयर दाबी गरे सबैले समर्थनमा रहने संकेत गरेका छन्। तर, ढकालले मेयर उठ्ने आफ्नो मनसाय नरहेको बताए। उनले पार्टीको जीतका लागि जसलाई पनि उमेद्वार बनाउन सकिने बताए।

जिल्ला अधिवेशनमा ढकालका प्रतिस्पर्धी रहेका नेता महेश रेग्मीलाई मेयरमा सार्ने मनसायमा ढकाल रहेको कतिपय नेताहरुको बुझाइ छ । ‘सन्तुलन मिलाएर उम्मेदवार बनाउने हो, अहिले ने यही भन्ने छैन’, अध्यक्ष ढकालले भने, ‘चुनावी माहौल बनाउने काम गरिराखेका छौं, उमेद्वार बारे प्रारम्भिक छलफल मात्र छ।’

एमाले भित्र यस अगाडी नगर इन्चार्ज भएका सागर थापाको नामसमेत मेयरको रुपमा चर्चामा छ।

विराटनगर उपमहानगरपालिका कांग्रेसको प्रभाव भएपनि ०५४ सालको स्थानीय निकायको निर्वाचनमा एमालेले मेयर र उपमेयर दुबै पदमा जित निकालेको थियो। एमालेका तर्फबाट रमेशचन्द्र पौडेलले कांग्रेस तर्फका मेयरका उम्मेदवार अमृत अर्याललाई २५ सय बढी मत अन्तरले पराजित गरेका थिए भने उपमयेरमा पनि कांग्रेसका उपेन्द्रकान्त लाललाई एमालेका भुराज राईले पराजित गरेका थिए।

माओवादी केन्द्रले उम्मेद्वार टुंग्यायो

माओवादी केन्द्रले भने लामो छलफल पछि विराटनगर उपमहानगरपालिकाको मेयर पदका लागि भोगेन्द्र यादवलाई अगाडि सार्ने भएको छ। उपमेयरको लागि नमिता न्यौपानेको नाम सिफारिस गर्ने तयारी गरेको छ।

यादव माओवादी केन्द्र विराटनगरका इन्चार्ज समेत हुन् भने उपमेयरकी उम्मेदवार न्यौपाने विराटनगर माओवादी केन्द्रकी संयोजक हुन्। अन्य राजनीतिक दलहरुमा सशक्त महिला उम्मेदवार नपाइरहेका बेला माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवारको रुपमा रहेकी न्यौपाने भने सशक्त र परिचित नाम रहेको चर्चा छ। यस्तै मेयरका उम्मेदवार यादव मधेसी मुलका हुन्।

एमाले र कांग्रेसले पहाडी मुलका उमेद्वारलाई उठाउने संभावना बढी रहेका कारण मधेसीको भोट बटुल्न माओवादीले यादवलाई मेयरमा अघि सारेको धेरैको अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.