५ वर्षमा ५ प्रतिशत मात्र घट्यो

|

नेपालगञ्ज : बाँकेका १६ प्रतिशतमा हात्तीपाइले रोग भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। अभियान सुरु गर्नुअघि बाँकेका २१ प्रतिशतलाई हात्तीपाइले रहेकोमा अभियानपछि ५ प्रतिशत घटेको बरिष्ठ जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काले बताए।

रोग निवारणका लागि ५ वर्षसम्म अभियान संचालनमा ल्याइए पनि सुधार हुन नसकेको उनले बताए। अभियानले सार्थकता पाउन सकेको छैन, उनले भने।

रोग निवारणका लागि बाँकेमा शनिबारदेखि तीन दिनसम्म हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने भएको छ। चैत्र ५ गतेदेखि ७ गतेसम्म आम औषधी सेवन अभियानमा बाँकेका पाँच लाख २३ हजार ९८ जनालाई औषधी खुवाउने खड्काले बताए। उनले सर्वसाधारणको सुविधाका लागि नेपालगञ्ज र कोहलपुर नगरपालिकामा ६९ र गाउँपालिकामा ८५८ वटा बुथमा औषधी खुवाइने जानकारी पनि खड्काले दिए।

अभियानको बारेमा जानकारी दिन आयोजित पत्रकार अन्तर्क्रिया कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक खड्काले बाँकेको प्रत्येक घरमा पुगेर हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने बताए।

उनले पहिलो दिन बुथमा र दोस्रो तथा तेस्रो दिन घरदैलोमार्फत औषधी खुवाइने कार्यक्रम रहेको बताए। कोही नछुटुन्, कोही नदोहोरिऊन् भन्ने हाम्रो अभियान छ, अभियानका क्रममा महिला स्वयंसेविका र स्वास्थ्यकर्मी नपुगेको कुनै घर हुनेछैन’, उनले भने।

जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन शाखाका वसन्त गैरेले विक्रम सम्वत् २०७२ साल माघमा गरेको सर्वेक्षणमा बाँकेमा हात्तीपाइले रोगको अवस्था भयावह भएको फेला परेको बताए। उनले पाँच पटक औषधी खुवाउँदासमेत अवस्था सोचेजस्तो सुधार हुन नसकेको बताए।

उनले स्वस्थ देखिने व्यक्तिमा समेत हात्तीपाइलेको जुका हुने बताए। हात्तीपाइलेबाट जोगिने एक मात्र उत्तम विकल्प औषधी सेवन गर्नु रहेको उल्लेख गर्दै गैरेले औषधी खुवाउने अभियानलाई हलुका रूपमा नलिन पनि सुझाव दिए। हात्तीपाइले रोग लागेपछि उपचार गरेर निको हुँदैन, यसबाट जोगिने एक मात्र उपाय बेलैमा औषधी सेवन गर्ने हो’, उनले भने।

अभियानका क्रममा बाँकेमा ३४६ जना स्वास्थ्यकर्मी, दुई हजार ३०३ जना स्वयंसेवक र तीनवटा ¥यापिड रेस्पोन्स टिम खटाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक खड्काले जानकारी दिए। उनले औषधीले नकारात्मक असर गरेर बिरामी भएकाहरूलाई भेरी अंचल अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरलाई रिफरल सेन्टरको रूपमा व्यवस्था गरिएको जानकारी पनि खड्काले दिए। औषधी खाएपछि कुनै अप्ठेरो परेको जानकारी आउनासाथ रेपिड रेस्पोन्स टिमले उद्धार गरेर रिफरल सेन्टरमा पठाउनेछ, रिफरल सेन्टरमा निःशुल्क औषधी गर्ने व्यवस्था मिलाइएको छ’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.